चिया उद्योगमा जमेकी प्रमिला

पैसा कमाउनकै निम्ति विदेश जानु पर्दैन । स्वदेशमा बसेर पनि आफ्नो जीवनयापन सजिलैसँग बिताउन सकिन्छ । यहीं कुरालाई नै कैलालीको धनगढी उपमहानगरपालिका-४ मित्रनगरकी प्रमिला भण्डारीले पुष्टि गरेकी छिन् । उनले आफूलाई आर्थिक रूपमा बलियो बनाइ अरूलाई पनि देशमै राम्रो गर्न सकिन्छ भनी प्रेरणा दिएकी छिन् ।

प्रमिलाको आफ्नै नेतृत्वमा धनगढीमा सञ्चालन भएको कञ्चन चिया उद्योगले चार जनालाई रोगजारी समेत दिएको छ । उद्योगमा लागेकी प्रमिलाले आफूलाई सफल व्यवसायीका रूपमा उभ्याएकी छन् । उनी उद्योगमा मात्र व्यस्त हुँदैनिन् । उद्योगसँगै घरको काममा पनि हात बढाउँछिन् । 

माध्यमिक तहमा पढ्दा-पढ्दै विवाह बन्धनमा बाँधिएकी प्रमिलाको सफल उद्यमी बन्नेसम्मको यात्रामा अनेकन उचारचढाव आए । हर कोही त्यति सहजै सफल बन्न सक्दैन । प्रमिलाले पनि जीवनमा अनेकन दुखकष्ट झेलेर अहिलेको अवस्थामा आएकी हुन् । उनले जीवनमा निकै संघर्ष गर्नुपर्यो । संघर्षकै प्रतिफलको रूपमा अहिले उनले मासिक डेढ लाख कमाइ गरिरहेकी छिन् । 

सिन्धुलीमा जन्मिएकी प्रमिला बुवाआमासँगै बसाइँ सरेर कञ्चनपुरको पुनर्वास नगरपालिका पुगिन् । ७ देखि १० कक्षासम्म उनले गाउँकै पुनर्वास जनता माध्यमिक विद्यालयमा अध्ययन गरिन् । आठ कक्षामा पढ्दा–पढ्दै उनी नेपाल विद्युत् प्राधिकरण कञ्चनपुरमा कार्यरत वीरेन्द्रसिंह भण्डारीसँग विवाह बन्धनमा बाँधिइन् । त्यतिबेला उनको उमेर जम्मा १८ वर्षमात्रै थियो । 

 विवाह बारेमा सम्झिँदै मुस्कुराइ उनी भन्छिन्, ‘आठ कक्षा पढ्दा-पढ्दै मेरो विवाह भयो । हामीले एक अर्कालाई मन पराएर विवाह गरेका हौँ । विवाहपछि पनि मैले पढ्न छाडिनँ । ८ कक्षाको परीक्षा दिएँ, त्यसपछि एसएलसी दिएँ । एसएलसीपछि भने पहिलो सन्तानको रूपमा छोरीको जन्म भयो । त्यसपछि मैले पढाइलाई निरन्तरता दिन सकिनँ ।’

पढाइलाई निरन्तरता दिन नसकेपछि उनले स्थानीय बजारमा व्यापार  गर्न थालिन् । ‘११ वर्ष बिजुली पसल सञ्चालन गरेँ, त्यससँगै नेपाल विद्युत् प्राधिकरणमा सहयोगीका रूपमा काम गर्न थाले,’ उनले भनिन्, ‘२०६२ सालमा अर्की छोरीको जन्म भयो । त्यसपछि २०६५ सालमा छोराको जन्म भयो । पारिवारिक जिम्मेवारी बढेपछि मैले जागिरलाई निरन्तरता दिन सकिनँ । छोराछोरीको लालन-पालनमा ध्यान केन्द्रित भयो ।’



पारिवारिक स्थिति सामान्य हुँदा प्रमिलाको काँधमा जिम्मेवारी धेरै थियो । पति कार्यालयकै काममा व्यस्त रहन्थे । प्रमिलाले घर गृहिणीदेखि व्यापार सबै हेर्नुपर्दथ्यो । केही समयपछि भण्डारी परिवार कञ्चनपुरको पुनर्वासबाट धनगढीको मित्रनगर बसाइँ सर्‍याे । व्यवसाय छाडेर धनगढी सरेकी प्रमिला त्यतिबेला बेरोजगार गृहिणी महिला मात्र थिइन् । 

ती दिन सम्झिँदै उनी भन्छिन्, ‘दिनचर्या निकै अप्ठ्यारो थियो । घरकै काममा सीमित थिएँ त्यतिखेर । के गरौँ-गरौँ भइरहेको थियो । फेरि केही न केही व्यवसाय गर्ने सोच भयो । सुदूरपश्चिममा चियापत्तीको सम्भावना राम्रो भएकाले चिया उद्योग सञ्चालन गर्ने योजना बनायौँ । उद्योग सञ्चालन गर्न झण्डै २० लाख लाग्ने आंकलन गर्‍यौँ । तर त्यति धेरै रकम हामीसँग थिएन । वित्तीय संस्थाबाट २० लाख रुपैयाँ ऋण लिएर उद्योग सञ्चालनमा ल्याएँ ।’



धनगढीको मित्रनगरबाट उद्योग सञ्चालनमा ल्याएकी भण्डारीले हाल ४ जनालाई रोजगारी दिइरहेकी छन् । ‘२ जना पुरुष र २ जना महिला गरी ४ जनालाई रोजगारी दिएकी छु,’ उनले भनिन्, ‘२ जना अपरेटरलाई २५/२५ हजार र २ जना कामदारलाई १५/१५ हजार रुपैयाँ तलब दिएकी छु ।’

कञ्चन चिया उद्योगबाट उत्पादन भइरहेको चियापत्ती सुदूरपश्चिमका ९ वटै जिल्लामा गइरहेको छ । ‘१५ ग्रामदेखि १ केजीसम्मका सबै साइजमा चियापत्ती उपलब्ध छ,’ भण्डारीले भनिन्, ‘मासिक रूपमा डेढ लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ, सबैबाट साथ, हौसला र प्रेरणा पाएकी छु, सन्तुष्ट छु ।’ 

उनी व्यवसायमा थप लगानी गर्ने सोचमा छिन् । कोरोना कहरका कारण केही काम गर्न समस्या भए पनि आफ्नो व्यवसायमा पूर्ण सन्तुष्ट रहेको उनको भनाइ छ । 
 

  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १५:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया