सन् २०२१ : सन्दीपका लागि नफापेको वर्ष

एक समय थियो नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिम तथा अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा निकै व्यस्त हुन्थे ।

राष्ट्रिय टिम र फ्रेन्चाइज लिगका खेल जुधेका कारण सन्दीप कयौँ पटक लिग बीचमै छाडेर स्वदेश फर्किएका छन् । तर, पछिल्लो समय भने उनका लागि राम्रो हुन सकेको छैन । 

कारोना माहामारीका कारण राष्ट्रिय टिमको खेल नभएको बेलामा उनले एकपछि अर्को गर्दै फ्रेन्चाइज लिग पनि गुमाइरहेका छन् । 

सन् २०२१ सन्दीपका लागि नफापेको वर्ष बनिरहेको छ । यसको सुरुवात जनवरीमा इन्डियन प्रिमियर लिग (आइपिएल)बाट भएको हो । आइपिएल टिम दिल्ली क्यापिटल्सले सन्दीपलाई फुकुवा गरेको थियो । 

जनवरीमा दिल्लीले न्यूनतम २० लाख भारतीय रुपैयाँमा तीन वर्ष राखेर सन्दीपलाई फुकुवा गरेको थियो । तर, फुकुवा लगत्तै आइपिएलको अक्सनमा उनलाई कसैले पनि खरिद गरेनन् । 

त्यसपछि सन्दीपलाई पाकिस्तान प्रिमियर लिग (पिएसएल)मा पनि कुनै टिमले लिएनन् । तर, अफगानिस्तानका लेग स्पिनर रासिद खानले अन्तर्राष्ट्रिय खेलका कारण बीचमै छाड्ने भएपछि उनलाई लाहोर कलन्दर्सले टिममा लिएको थियो ।
 
पिएसएल खेल्न फेब्रुअरीमा पाकिस्तान पुगेका सन्दीप त्यहाँ पनि अभागी सावित भए । उनी कराँची पुगेको ६ दिनमै खेलाडीमा कोरोना देखिएपछि लिग नै स्थगित भयो । 



कराँचीबाट फर्किएपछि सन्दीपले मेयर्स कप खेलेका थिए । प्रतियोगितापछि नेपाली राष्ट्रिय टिमले बन्द प्रशिक्षण सुरु गरेको थियो । तर, कोरोनाका कारण सुरु भएको २ हप्ता पनि बित्न नपाउँदै प्रशिक्षण स्थगित भयो । 

सन्दीपले भिसा समस्याका कारण १ महिनाभित्र २ महत्वपूर्ण खेल गुमाएका छन् ।  भिसा ढिलो आउँदा उनले पहिलोपटक सहभागी हुन लागेको टि–२० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने अवसरबाट वञ्चित हुनपर्यो ।



टि–२० ब्लास्टमा सन्दीपलाई वोर्सेस्टेरसायरले अनुबन्ध गरेको थियो । र, अहिले उनले पहिलोपटक आयोजना हुन लागेको द हन्ड्रेड क्रिकेट प्रतियोगिता पनि गुमाएका छन् । 

प्रतियोगितामा सहभागी हुन असार २४ गते बेलायत पुगेर १० दिने क्वारेन्टिन अवधि पनि पूरा गरिसकेका सन्दीपले मंगलबार मात्र भिसा समस्याका कारण प्रतियोगिता गुमाएको खबर पाए । 

सन्दीपले प्राप्त गरेको टिएर ५ भिसालाई बेलायत सरकारले मान्यता नदिएपछि सन्दीपले प्रतियोगिता खेल्न नपाएका हुन् । 

सन्दीपले इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) को सल्लाहअनुसार नै टिएर ५ भिसा लिएकाले अन्तिम समयमा आएर प्रतियोगिता खेल्न बञ्चित गरिनुमा बोर्डको नै गल्ती भएको बताएका छन् । 

द हन्ड्रेडमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउन्डमा भित्र्याएको थियो । 

पछिल्लो संस्करणको बिग बास लिग खेलेयता सन्दीपले कुनै पनि फ्रेन्चाइज लिग खेल्न पाएका छैनन् । उनले लिगमा होवर्ट हुरिक्यान्सका लागि ८ खेलमा ८ विकेट हात पारेका थिए ।

विभिन्न फ्रेन्चाइज लिगमा अवसर पाए पनि अन्तिम समयमा आएर  खेल्न नपाउनु सन्दीपका लागि पक्कै पनि राम्रो संकेत होइन । 

यसले के संकेत गर्छ भने, अहिले सन्दीप करियरकै खराब समयबाट गुज्रिरहेका छन् । एकपछि अर्को गर्दै लिगहरु गुमाउँदै गएका उनलाई यही भनेर चित्त बुझाउनु बाहेका अर्को विकल्प पनि छैन । 

  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १५:१२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया