logo-img

६ महिना रेस्टुरेन्ट चहारेर अध्ययन गरेपछि खुलेको थियो 'बर्गर हाउस'
संस्थापक वसन्त भन्छन्-‘जे गर्छु नेपालमा गर्छु भनेर लागेँ'

पछिल्लो समय नयाँ पुस्ता तथा खानाका पारखीका लागि लोकप्रिय गन्तव्य बनेको छ ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’। देशका मुख्य शहरमा द बर्गर हाउसको चर्चा धेरै छ।

जुनसुकै ठाउँमा खोलिएको भएपनि बर्गर हाउसको उस्तै लुक्स, उस्तै स्वाद अनि उस्तै वातावरणले युवा पुस्तालाई निकै लोभ्याएको छ। 

यसकारण पनि चेन रेस्टुरेन्ट क्षेत्रमा द बर्गर हाउसको छुट्टै पहिचान छ। म जे गर्छु देशमै गर्छु भन्ने सोचले जन्मिएको बर्गर हाउसका हालसम्म मुलुकभर ७३ वटा शाखा छन्। शहरमा बर्गर पारखी हरुका लागि छुट्टै ब्रान्ड भएको नाम हो ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन।’ 

२०७२ चैत्र ३१ गते शंखमुलको अन्डरग्राउण्डबाट सुरु भएको बर्गर हाउसको सफलताको पछाडि छुट्टै कथा छ। 

दोलखाका वसन्त लामा एसएलसी सम्मको पढाइ सकेर उच्च शिक्षाका लागि काठमाडौं आएका थिए। सामान्य परिवारका वसन्तलाई शहरमा बस्न, पढ्नका लागि आफैँ काम नगरी सम्भव थिएन। 



पढाइसँगै काम गर्न क्रममा उनी होटल क्षेत्रमा प्रवेश गरेको पाइन्छ।  वसन्त साथीहरुको सहयोगमा रेस्टुरेन्टको काममा पुगेका थिए। उनले कुकबाट काम सुरु गरेका थिए। अहिले उनी उमेरका हिसावले ३४ वर्षको यात्रामा छन्। होटल तथा रेस्टुरेन्टको क्षेत्रमा वसन्तले धेरै अनुभव हासिल गरिसकेको छन्। 

उनले सफल युवा व्यवसायीको पहिचान बनाइसकेका छन्। एक समय वसन्त अफगानिस्तान जाने सपना देखेका थिए । तर, उनी दुबई पुगे। वसन्तले करिब ९ महिना दुबईको होटलमा काम गरे त्यसपछि आफ्नै देशमा केही गर्ने उर्जा लिएर उनी नेपाल फर्किए। 



काठमाडौंमा रेस्टुरेन्टहरुको अनुगमन 

वसन्त नेपाल त फर्किए तर के गर्ने केही योजना थिएन। यहि क्रममा उनले देशमा भर्खरै भित्रिएको बर्गर र त्यसमा बढ्दो आकर्षण अनि व्यवसायिक सफलताको सम्भावना अध्ययन गरे। दुबईबाट फर्किएपछि वसन्तमा केही गर्छु भन्ने हुटहुटी धेरै थियो। रेस्टुरेन्ट क्षेत्रमा छुट्टै ब्रान्ड बनाउने सोचका साथ उनी लागि परे। 

यसपछि उनले काठमाडौंका धेरै रेस्टुरेन्टहरु अनुगमन गर्न थाले। आफूले खोल्ने रेस्टुरेन्ट नयाँ र फरक खालको बनाउने योजना थियो उनको। नेपाल फर्किएको  करिब ६ महिना वसन्तले रेस्टुरेन्टको अनुगमन र अध्ययनमा बिताए। 

यस क्रममा उनी थुप्रै रेस्टुरेन्ट पुगे। त्यहाँ गएर त्यहाँका मेनु हेर्ने, परिकार चाख्ने र आफूले यसमा के थप्न सकिन्छ र त्यसमा कसरी नयाँ स्वाद दिन सकिन्छ भनेर लेखाजोखा गरे। 

बन्द भएका रेस्टुरेन्टबारे पनि उनले अध्ययन गरे। लामो अध्ययनपछि वसन्तले निष्कर्ष निकाले– बर्गर हाउस खोल्ने। बर्गरका साथै त्यसमा चिकेन आइटमलाई समावेश गर्दा राम्रो हुने उनको अध्ययनको निष्कर्ष थियो।

यसपछि ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ नाम जुराएर रेस्टुरेन्ट खोले। उनले रेस्टुरेन्ट खोल्दा काठाडौंमा केएफसीको लहर थियो। 

युवा जोस र नयाँ आइडियासहित रेस्टुरेन्ट त खुल्यो तर सोचेजस्तो चलेन।सुरुका ६ महिनासम्म घरभाडा तिर्न र कर्मचारीलाई तलब दिन पनि मुस्किल पर्यो। एक त नयाँ रेस्टुरेन्ट, त्यसमा पनि अन्डरग्राउन्ड भएकाले सोचे जस्तो हुन नसकेको उनको अनुभव छ। पछि विस्तारै उनको व्यवसायले गति लिन थाल्यो।

अनि निरन्तर अगाडि 

उनले थप ४–५ वटा शाखा आफ्नै लगानीमा बिस्तार गरे। यो क्रम अझै रोकिएन। ठाउँ–ठाउँमा बर्गर हाउस टाइटलको माग बढ्न थाल्यो। त्यसपछि आफ्ना केही साथीहरूको टिम बनाइ उनले निरन्तर शाखा बिस्तार गर्दै यसलाई एउटा फुड चेन बनाए। आफू सफल हुनुमा टिमको महत्वपूर्ण  भूमिका रहेको वसन्त बताउँछन्। 

७३ वटा आउटलेट

शंखमुलबाट विस्तार भएको उनको रेस्टुरेन्टको आउटलेट अहिले काठमाडौँका मुख्य–मुख्य चोकमा देख्न पाइन्छ। धेरै स्थानबाट बर्गर माग आएपछि सबै ठाउँमा आफैँले मात्र सञ्चालन गर्नसक्ने अवस्था भएन। त्यसपछि आउटलेटको रुपमा विस्तार गरिएको उनको भनाइ छ। 

अहिले काठमाडौँ, ललितपुर र भक्तपुर, चितवन, पोखरा, धनगढीका अधिकांश ठाउँमा आउटलेट खुलिसकेको छ। अहिले सञ्चालनमा रहेका अधिकाशं आउटलेटका सञ्चालक वसन्तकै उमेर हाराहारीका व्यक्तिहरु छन्। १० वटा आउटलेटमा लामाको आफ्नै लगानी छ।

आउटलेट खोल्न ८० लाख

बर्गर हाउसको एउटा आउटलेट खोल्न सामान्यतया ८० लाख लगानी हुने गरेको छ। ठाउँ र पूर्वाधारका आधारमा एक करोड रुपैयाँसम्म लगानी हुने गरेको वसन्तले सुनाए। सबै ठाउँमा एउटै स्ट्यान्डर्ड र खानाको परिकार पाइन्छ। 

सातै प्रदेशमा आउटलेट

अहिले काठमाडौं उपत्यकासहित देशका मुख्य शहरलाई लक्षित गरेर आउटलेट खोलिएका छन्।  अहिलेसम्म पोखरा, जनकपुर, इटहरी, धरान, चितवन, भैरहवा, बिर्तामोड, दमकमा आउटलेट खुलेका छन्। अब सातै प्रदेशमा आउटलेट सञ्चालनमा आउने वसन्तले सुनाए। 

१५०० लाई रोजगारी

रेस्टुरेन्टको विस्तारसँगै अहिले धेरैले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन्। एउटा शाखामा २५ देखि ३० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको वसन्तले बताए। 

 सबै आउटलेटमा गरी १५०० भन्दा धेरै जनाले रोजगारी पाइरहेका छन्। यसमा अधिकांश युवा नै रहेका छन्। यो व्यवसायका कारण थुप्रैले अप्रत्यक्ष रोजगारी समेत पाएको वसन्तको दावी छ।  

अहिले सम्मको लगानी कति ?

बर्गर हाउसका संस्थापक लामाका अनुसारसबै लेआउटको हिसाब गर्ने हो भने करिब ८० करोडभन्दा धेरै लगानी भइसकेको छ। फरक–फरक क्षेत्रमा आवद्ध व्यवसायीहरुले यसमा लगानी गरेका छन्। उनी भन्छन,‘यो पसिनाले बनाएको ब्राण्ड हो। यसको भोलुम अझ विस्तारै फैलने छ।’ 

कोअपरेटिभ भवन बनाउने तयारी

बर्गर हाउसकै नामबाट करिब १ रोपनी क्षेत्रफलमा कोअपरेटिभ  भवन बनाउने तयारी छ। त्यो भवनपछि निर्माण भएपछि त्यहीँबाट सबै ब्रान्च मोनिटरिङ गर्ने काम हुनेछ।ब्रान्चको व्यवस्थित वितरण गर्न पनि सहज हुने अपेक्षा छ। यसो गर्दा योजनाहरु दिगो रुपमा कार्यान्वयन हुने वसन्तको विश्वास छ। 

सफलताको सुत्र 

सपना, मेहनत र विश्वास नै सफलताको सुत्र भएको वसन्त बताउँछन्। नेपाल फर्किएर चेन रेस्टुरेन्ट खोल्ने सपना नदेखेको भए आज बर्गर हाउस देशव्यापी नहुने उनको ठम्याइछ। 

यसमा परिवार, साथीभाइ र ग्रुप नै पहिलो कुरा भएको लामाले बताए। बर्गर हाउसको लेआउट खोल्ने साथीहरुलाई मेहनत, इमानदारिता र गुणस्तरमा ख्याल गर्न उनको सुझाव छ। लगानी कर्ताले काम गरिरहेका साथीहरुको दक्षता अभिवृद्धि गर्दै उनीहरुको सीप र श्रमको सम्मान पनि गर्न गर्नुपर्ने वसन्त बताउँछन्।

 

  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १२:२७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया