एसइईको जिपिएमा बदमासी : पहुँचका भरमा नतिजा

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा विद्यालयहरूले ठूलै बदमासी गरेको पाइएको छ। सामान्यतया परीक्षामा जसले राम्रो लेख्न सक्यो त्यसको अंक राम्रो आउनु पर्ने हो। तर दुई वर्षयता त्यस्तो हुन सकेको छैन।

कोरोना महामारीका कारण एसइई परीक्षा सञ्चालन गर्न नसकिएपछि गत वर्ष र अहिले विद्यालयको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरिएको छ।

अघिल्लो वर्ष पनि विद्यालयलहरूले मनोमानी तरिकाले विद्यार्थीहरूको अंक चढाइएको भन्दै चर्को विरोध भएको थियो। यस वर्ष पनि सुदूरपश्चिमका केही विद्यालयलहरूकाे एसइई नतिजा हेर्दा धेरै मनोमानी गरेको देखिएको छ।

विद्यार्थीहरूको भविष्यसँग जोडिएको एसइईको नतिजा पनि पहुँचका आधारमा अंक दिएपछि अभिभावक चिन्तित बनेका छन्। सुदूरपश्चिमका विशेषगरी कैलाली र कञ्चनपुरका सहरी क्षेत्रका निजी विद्यालयले आफ्ना अधिकांश विद्यार्थीलाई ४ जिपिए दिएका छन्।

निजी मात्र नभएर सामुदायिक विद्यालयमा समेत पहुँचका भरमा नतिजा प्रकाशित गरिएको छ। खासमा विद्यार्थीको विद्यालयको पढाइलाई आधार मानेर नम्बर दिन भनिएको हो । तर विद्यालयले विद्यार्थीको स्कुलको पढाइका आधारमा भन्दा पनि पहुँचका भरमा नम्बर दिएको अभिभावकहरूको गुनासो छ।

कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको धनगढी नमुना माध्यमिक विद्यालयमा तेस्रो व्यक्तिलाई पहिलो बनाइएको अभिभावकको गुनासो छ। कोरोना कहरभन्दा पहिले विद्यालयमा भौतिक उपस्थित गराएर नै भएको परीक्षामा तेस्रो भएको व्यक्तिलाई पहिलो बनाएको अभिभावकहरूले बताएका छन्।



कक्षा ९ बाट प्रथम भएका व्यक्ति हिमाल ओलीलाई पछाडि पार्दै  तेस्रो भएका रोशिका चौधरी एसइईमा प्रथम भएकी छिन्। ओलीको कक्षा ९ बाट १० मा जादा ३.६९ जिपिए रहेको थियो। उनको पछि खेमराज भट्टको ३.५२ जिपिए थियो । यस्तै तेस्रो भएकी रोशिका चौधरीको जिपिए ३.४२ मात्रै थियो। 

शनिबार प्रकाशित भएको नतिजामा रोशिका चौधरीले ३.९२ जिपिए पाएकी छिन् । हिमाल ओलीको ३.६८ र खेमराज भट्टको ३.५२ जिपिए छ। 



विद्यालयले लिएका अन्य आन्तरिक परीक्षामा पनि चौधरी पछाडि रहँदै आएकोमा एइईका नतिजामा मात्रै धेरै अंक दिइएको आरोप अन्य विद्यार्थीले लगाएका छन्। 

विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले क्षमताकै आधारमा विद्यार्थीलाई अंक दिएको दावी गर्छन्।  विद्यार्थीहरुको क्षमता र विद्यालयले लिएको परीक्षाकै आधारमा ग्रेड दिएको जिकिर उनले गरे।

पहुँचका आधारमा नतिजा प्रकाशित भयो भन्ने गुनासो आएको छ नि भन्ने फरकधारको प्रश्नमा उनले त्यसलाई अस्वीकार गरे।  ‘त्यस्तो कुनै केही छैन। विद्यालयमा आएर हेर्न सक्नुहुन्छ’, भट्टले भने। 

एसइईको नतिजामा चरम लापरबाही भएको भन्दै बझाङमा पनि विरोध भइरहेको छ। शिक्षकहरूले आफ्ना नजिकका र राजनीतिक पहुँच भएका व्यक्तिका छोराछोरीलाई बढी नम्बर दिएको भन्दै सामाजिक सञ्चालमार्फत चर्को विरोध उठिरहेको छ। 

बझाङको सत्यवादी माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा नविना बोहराका अभिभावक शेरबहादुर बोहराले विद्यालयमा प्रथम हुने विद्यार्थीभन्दा अरूको बढी जिपिए आएको भन्दै विरोध गरेका छन्। उनले यसबारे छानबिन गर्नुपर्ने माग समेत गरेका छन्।

नविना कक्षा ९ मा प्रथम भएकी छात्रा हुन्। उनको ३.९५ जिपिए आएको छ। विद्यालयका शिक्षकको तथा राजनीतिक पहुँच भएकाहरूलाई ४ जिपिए दिइएको नविनाले बताइन्। 

विद्यालयका प्रधानाध्यापक रामदत्त उपाध्यायले केही कमजोरी भएको हुनसक्ने भन्दै गल्ती स्वीकार गरे। अंक दिने बेलामा आफू छोरीको विवाहका लागि धनगढीमा भएका कारण हेर्न नपाएको भन्दै उनी पन्छिए । 

‘मैले बुझ्दा नविनाको जनसंख्या विषयमा कम जिपिए आएको हुनाले अरूको भन्दा कम आएको हुनसक्छ तर अन्य विद्यार्थीभन्दा सबै कुरामा उनी अब्बल छिन्’, प्रधानाध्यापक उपाध्यायले भने। 

विद्यालयले शिक्षा इकाइमा र इकाइले बोर्डमा प्राप्ताङ्क पठाउँदा नम्बर बढाएर दिएको भेटिएको छ। 

विद्यालयले आफूखुसी नम्बर दिने प्रवृत्ति नियन्त्रण गर्न राष्ट्रिय परीक्षा बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजामा सुधार नभएको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका शाखा अधिकृत प्रताप धामी  बताउँछन्। 

‘बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्ताङ्क दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित ‘एसइईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८’ जारी गरेको थियो’, धामीले भने, ‘कार्यविधिअनुसार विद्यालयले कारण खुलाउँदा विद्यालयले नै दिएको प्राप्ताङ्क सदर भएको हो।’

विद्यालयले पठाएको अंक अस्वाभाविक लागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले विद्यालयमै फिर्ता पठाएर सुधार गर्नसक्ने व्यवस्था थियो।

शिक्षा निर्देशनालय सुदूरपश्चिम दिपायलका निर्देशक गणेश बहादुर सिंहले विद्यालयले पठाएको अंक अस्वाभाविक भएपनि बोर्डले घटाउन सक्ने व्यवस्था नभएको बताए।

‘सर्वाधिकार विद्यालयलाई नै छ। शिक्षा विकास तथा समन्वय इकाइले केही सुधार  गर्न सक्थ्यो’, सिंहले भने, ‘तर त्यसमा पनि विद्यालयले कारण खुलाइदिए केही गर्न सकिँदैन। त्यसैले विद्यालयहरूले पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको छ ।’

अस्वाभाविक नम्बर दिएको भेटिएपछि कतिपय शिक्षा विकास इकाइले यसपटक नतिजा संशोधन गर्न विद्यालयमै फिर्ता पनि पठाएका थिए । त्यो गर्दा पनि समग्र नतिजा अप्रत्याशित आएको हो। बोर्डले आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेको हो ।

कार्यविधिमा कडाइले आएन सुधार 

यसपटक एसइईमा ४ लाख ८४ हजार २७८ जना सहभागी भएकामा ४ जिपिए ल्याउनेको संख्या ८ हजार ४४४ छ । गत वर्ष ४ लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएकामा विद्यालयहरूले ९ हजार ३१९ जनालाई ४ जिपिए दिएका थिए। 

जबकि बोर्डले परीक्षा सञ्चालन गर्दा २०७५ मा १०६ र २०७४ मा ७४ जनाले मात्रै ४ जिपिए पाएका थिए। विद्यालयले आफूखुसी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजामा सुधार हुन सकेन।

बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्ताङ्क दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्था कार्यविधिमा थियो। 

विद्यालयहरूले कार्यविधि विपरीत पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको छ। कार्यविधिमा विद्यालयले पठाएको अंक अस्वाभाविक लागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले विद्यालयमै फिर्ता पठाएर सुधार गर्नसक्ने व्यवस्था थियो। 

समन्वय इकाइले कतै-कतै नतिजा फिर्ता पठाउने काम गरेपनि नतिजामा उस्तै अनियमितता देखिएको छ। 

  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार १३:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया