कोरोना भाइरस ल्याबबाट फैलियो कि जनावरबाट ? अमेरिकाको रिपोर्ट के भन्छ ?

कोरोना भाइरसको उत्पत्ति कसरी भयो ? यस विषयमा अमेरिकी जासुसी एजेन्सीले अध्ययन गरिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको विशेष आग्रहमा अनुसन्धानरत एजेन्सी अझै निष्कर्षमा पुग्न सकेको छैन । 

भाइरस जनावरको माध्यमबाट फैलियो कि कुनै ल्याबमा दुर्घटना भएर फैलियो भन्नेमा एजेन्सी द्विधामा परिरहेको बताइएको छ । 

यस रिपोर्टको निष्कर्ष आगामी दिनमा प्रकाशित गरिने सो संस्थाले जनाएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त सो भाइरस चीनले उत्पादन गरेको पटक–पटक दोहोर्याएका थिए । 

यता, अमेरिकी अनुसान्धानको चीनले खण्डन गरेको छ । चिनियाँ विदेशमन्त्रीले सो एजेन्सीको प्रतिवेदनलाई खारेज गरी सो ‘विज्ञान–विरोधी’ भएको आरोप लगाएक छन् । 
‘अमेरिकाले यस रिपोर्टका लागि विश्व स्वास्थ्य संगठनको अनुसन्धानलाई नजरअन्दाज गरेको छ,’ उनले भनेका छन्, ‘यो रिपोर्ट अमेरिकाको राजनीतिक उद्देश्य पूरा गर्नका लागि मात्र तयार पारिएको हो ।’ 

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट कोरोना भाइरस फैलिएको थियो । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार सो भाइरसका कारण हालसम्म ४४ लाख ६३ हजार १२७ जनाले ज्यान गुमाइसकेका छन् भने २१ करोड ३८ लाख ६६ हजार ७४४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

विश्वका विभिन्न देश भाइरसको संक्रमण रोक्न प्रयास गरिरहेका छन् । तर, वैज्ञानिकहरू भने भाइरसको उत्पत्ति कहाँ भएको होला भनेर खोजी गरिरहेका छन् ।
विश्व स्वास्थ्य संगठनले आफ्नो रिपोर्टमा वुहानको बजारमा बेचिने जनावरबाट भाइरस फैलिएको बताएको थियो । 



वुहान इन्स्च्यिुट अफ भाइरोलोजीबाट लिक भएर भाइरस फैलिएको कुरालाई डब्ल्युएचओले भने अस्वीकार गरेको थियो । 

एक दशकभन्दा पहिलेबाट नै चमेरोको अध्ययन भइरहेको थियो । विश्व स्वास्थ्य संगठनको यस रिपोर्टलाई केही वैज्ञानिकले खारेज गरिसकेका छन् ।



यस सालको मे महिनामा राष्ट्रपति बाइडेनले अमेरिकी इन्टेलिजेन्सको डाटा अध्ययन गर्न र रिपोर्ट तयार पार्नका लागि ९० दिनको समय दिएका थिए । 

जासुसी जानकारीका अनुसार वुहानको ल्याबका केही शोधकर्तालाई सन् २०१९ को नोभेम्बरमा अस्पताल भर्ना गरिएको थियो । चीनले ल्याबको अनुसन्धान गर्नका लागि अनुमति दिन अस्वीकार गरेको थियो ।

चीनले अनुसन्धान गर्न नदिएपछि बाइडेनले यो रिपोर्ट तयार पार्न लगाएको मुख्य कारण मान्ने गरिन्छ । 
 

  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १७:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया