दूरसञ्चार प्राधिकरणमा उजुरीका चाङः टेलिकमविरुद्ध ८२, वर्ल्डलिंकविरुद्ध ५२ उजुरी

पछिल्ला वर्षहरुमा देश भित्र इन्टरनेट सेवा उपभोग गर्नेहरुको संख्या बढ्दै गएको छ । इन्टरनेट सेवा प्रदायकहरुको संख्या पनि बढिरहेको छ । तर पैसा तिरे अनुसारको सेवा प्राप्त नहुँदा सेवाग्राहीको गुनासो झन् तिव्र रुपमा बढ्दो छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा इन्टरनेट सेवा प्रदायकविरुद्ध करिव २ सय उजुरी परेका थिए । जसमध्ये दुरसञ्चार प्रदायक कम्पनीविरुद्ध एक सय भन्दा बढी उजुरी दर्ता भएका थिए ।  

नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले २ वटा दुरसञ्चार सेवा प्रदायक कम्पनी र १६ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीविरुद्ध परेका उजुरीको अभिलेख उपलब्ध गराएको छ ।  

उजुरीकै आधारमा पछिल्लो पटक एनसेललाई प्राधिकरणले कारबाही समेत गरेको छ । 

नेपाल टेलिकम बिरुद्ध सबैभन्दा बढी उजुरी

सरकारी लगानीको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमबिरुद्ध गत आर्थिक वर्ष २०७७/०७८ मा ८२ वटा उजुरी दर्ता भएका छन् । यसअघिको आर्थिक वर्षमा सो कम्पनीविरुद्ध ४१ वटा उजुरी परेका थिए । 



गत आर्थिक वर्षमा निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबिरुद्ध २६ वटा उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्षमा सो कम्पनीविरुद्ध २४ वटा मात्रै उजुरी परेका थिए । 

दूरसञ्चार कम्पनीविरुद्ध पर्ने उजुरीहरुमा सबैभन्दा बढी बिलिङ/ब्यालेन्स सम्बन्धी रहेका छन् । सिमकार्डको उपलब्धताबारे पनि थुप्रै उजुरी पर्ने गरेका छन् । यस्तै डाटा प्याकेजको समस्या, रोमिङको समस्या, ल्याण्डलाइन समस्या, मर्मत समस्याबारे पनि उजुरी पर्ने गरेका छन् । 



दूरसञ्चार कम्पनीविरुद्ध पर्ने सबैभन्दा ठूलो उजुरी डाटा प्याकेजसम्बन्धी रहेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले अहिले पर्ने उजुरीहरूमा डाटा प्याकेजको उजुरीको छानबिन गर्न अली समय लागे पनि अन्य समस्याहरु सहजै समाधान हुने गरेको बताए ।  

इन्टरनेट सेवा प्रदायकमा क्लासिक टेकविरुद्ध सबैभन्दा बढी उजुरी 

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमा क्लासिक टेक प्रा.लि. विरुद्ध गत आर्थिक वर्ष सबैभन्दा बढी ५४ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यस कम्पनी विरुद्ध मात्र ५ वटा उजुरी परेका थिए । 

वर्ल्डलिंक कम्यूनिकेशन विरुद्ध गत आर्थिक वर्ष २०७७/७८ मा ५२ वटा उजुरी परेका थिए । इन्टरनेटको स्पीड कम भएको सम्बन्धमा बढी उजुरी परेको प्राधिकरणले जनाएको छ । यस्तै भायनेट कम्यूनिकेशन विरुद्ध ३५ वटा उजुरी प्राधिकरणमा दर्ता भएका छन् ।  

नेपाल दूरसञ्चार प्राधिकरणको गुनासो व्यवस्थापन प्रणालीमा सेवाग्राहीहरुले सिधै सेवा प्रदायकविरुद्ध उजुरी तथा गुनासोहरू दर्ता गर्ने गरेका छन् । 
गत आर्थिक वर्षमा नेपाल टेलिकम, एनसेल र १६ वटा इन्टरनेट सेवाप्रदायक कम्पनीहरुविरुद्ध ३ सय ९ वटा उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भने विभिन्न १० वटा कम्पनी विरुद्ध ९९ वटा उजुरी परेका थिए । 

परेका कतिपय उजुरीहरू फोनबाटै सल्टाउने गरे पनि केही समस्याबारे अनुगमन र अनुसन्धान गरी कारबाही गर्ने गरेको प्राधिकरणले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार १७:५०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया