logo-img

एक दिवसीय अन्तर्राष्ट्रिय डेब्यु खेलमा कुशल, आशिफ र विक्रमको प्रदर्शन

नेपाल र पपुुवा न्युगिनी (पिएनजी)को खेलमा आज नेपालको तर्फबाट तीन खेलाडीले डेब्यु गरेका छन् । विक्रम सोब, कुशल भूर्तेल र आशिफ शेखले डेब्यु गरेका हुन् । यी तीन खेलाडीको डेब्युसँगै रोहितकुमार पौडेल र शरद भेषवाकरले पनि टोलीमा कमब्याक गरेका छन् । 

पछिल्लो समय केही गतिशील रहेको नेपाली क्रिकेटमा राम्रा प्रयासहरु भइरहँदा प्रमुख प्रशिक्षक डेभ वाट्मोरको राजिनामाले खिन्न बनाएको थियो । हाल ओमानमा रहेका नेपाली खेलाडीले उनको राजिनामाले आफूहरुलाई खिन्न बनाएको बताएका थिए । वाट्मोरले छोटो समयमा नै खेलाडी र नेपाली क्रिकेटमा धेरै परिवर्तन ल्याए । 
नयाँ खेलाडीलाई मौका दिए । उनले पहिलो पटक कुशल भूर्तेल, आशिफ शेख, गुल्सन झा र विक्रम सोबजस्ता खेलाडीलाई पहिचान गरि राष्ट्रिय टोलीमा मौका दिए । उनले मौका दिएका कुशल र आरिफले बैशाखमा सम्पन्न भएको त्रिकोणात्मक सिरिजमा आफूलाई प्रमाणित पनि गरे । 

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नुअघि तयारी स्वरुप पिएनजीसँग दुई खेलको एकदिवसीय खेल्न लागेको हो । नतिजाले वरीयताबाहेक अन्यमा खासै फरक नपर्ने हुँदा टोलीमा कुनै दबाब छैन । यो खेल कमजोरी पहिचान र सुधार गर्ने राम्रो अवसर हुने छ । 

नेपालले आज (मंगलबार) पपुवा न्युगिनीसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेलिरहेको छ । यही खेलमार्फत नेपालका कुशल, आशिफ र विक्रमले एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् । 

कुशल र आशिफले भने टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि खेलिसकेका छन् । यी दुवै आज पनि ओपनिङ ब्याट्सम्यानकै भूमिकामा मैदानमा उत्रिने छन् । नेपालका तर्फबाट विक्रमको भने पहिलो अन्तर्राष्ट्रिय खेल हो । 

नेपालले पपुवा न्युगिनीसँग टस हारेर बलिङको निम्तो पाएको थियो । अल अमिरात क्रिकेट मैदान ओमानमा पिएनजीका कप्तान असाद भालाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए । दीपेन्द्रसिंह ऐरी पहिलो खेलमा टोलीमा छैनन् । नेपालले करण केसी, विनोद भण्डारीलगायतका खेलाडीलाई आराम दिएको छ ।
नेपालले ३३ ओभरमा नै सीमित राख्दै १३५ रनको सामान्य लक्ष्य प्राप्त गरेको थियो । नेपालले अहिले यो लक्ष्य पछ्याइरहेको छ । 



कस्तो रह्यो तीन खेलाडीको डेब्यु ? 

कुशल भूर्तेल 



कुशल भूर्तेल आशा बोकेका नेपाली ब्याट्सम्यान हुन् । ओपनर ब्याट्सम्यानको जिम्मेवारी सम्हालेका कुशलले आज एक दिवसीय क्रिकेटमा डेब्यु गरे । दाहिने हाते ब्याट्सम्यान उनले गत त्रिकोणात्मक सिरिजको बेला सिनियर टोलीबाट डेब्यु गरेका हुन् । ओपनर ब्याट्सम्यानको भूमिकामा देखिएका उनले ५ खेलमा ४ अर्धशतक प्रहार गरेका थिए । डेब्युमा उनले पहिलो बलमा नै चौका प्रहार गर्दै राम्रो सुरुवात गरे । उनले २८ बलको सामना गर्दै २ चौकाको मद्दतमा १५ रन जोडे । उनलाई चार्ड सोपरले एलबिडब्ल्यु आउट गराए । फिल्डिङमा पनि उनले २ वटा क्याच लिएका थिए । ​

आशिफ शेख 

गत बैशाखमा सम्पन्न टी–२० त्रिकोणत्मक सिरिजबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् आशिफले । कुशल र उनको ओपनिङ पार्टनरसिपले पहिलो खेलमा नै निकै चर्चा कमाएको थियो । अलराउन्डर आरिफ शेखका भाइ उनी भने ओपनर ब्याट्सम्यानको भूमिकामा देखा पर्छन् । नेपाली टोलीमा डेब्युका साथै हाल एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनले यो खेलमा पनि ओपनर ब्याट्सम्यानको रुपमा कुशलसँग सहकार्य गरेका छन् । उनले डेब्यु खेलमा मध्यम प्रदर्शन गरे । ४६ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा ३० रन बनाए । उनलाई डेमियन राभुले गोडी टोकाको हातबाट क्याच गराए । उनले फिल्डिङमा एक क्याच गरे । 

विक्रम सोब 

तीव्र गतिका बलर विक्रम सोब यसअघि नेपाली टोलीमा परेर पनि डेब्यु गर्न पाएका थिएनन् । विक्रमले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शनको साथ चार वर्षपछि पुनरागमन गरेका थिए । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५–१७ अन्तर्गत २०१६ मा उनले नेदरल्यान्ड्स भ्रमण गरेका थिए । २०१७ मा विक्रम युएई भ्रमणमा निस्के । तर, खेल्ने मौका पाएनन् । 

यस पटक भने उनले राष्ट्रिय टोलीमा मौका पाएका छन् । राष्ट्रिय टोलीमा डेब्यु गर्न पाएका उनले पहिलो भ्रमणमा नै अन्तर्राष्ट्रिय एक दिवसीयमा पनि डेब्यु गरे । उनले पहिलो खेलमा ५ ओभर बलिङ गर्दा १ मेडलसहित २० रन खर्चिएर २ विकेट लिएका हुन् । नेपाललाई दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर विक्रमले ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । 

विक्रम ओडिआई डेब्युको पहिलो बलमै विकेट लिने नेपालका पहिलो खेलाडी बने । समग्रमा उनी ओडिआई करिअरको पहिलो बलमै विकेट लिने विश्वकै २८ औं खेलाडी बनेका छन् । विकेटसँगै विक्रमले ओभर मेडन राखेका थिए । विक्रमले चौथो ओभरको अन्तिम बलमा कप्तान असाद भालालाई आरिफ शेखबाट चार रनमा क्याच गराउँदा पिएनजी २–९ को कमजोर अवस्थामा पुगेको थियो ।  

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १६:६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया