जनकपुरधाम नगरसभापतिमा साहको उम्मेदवारी

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जनकपुरधामको नगरसभापतिमा युवा नेता राकेश विक्रम साहले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

वडादेखि गाउँ–नगर, जिल्ला हुँदै केन्द्रीय अधिवेशनको सरगर्मी बढिरहेका बेला युवा नेता साहले नगरसभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

साहले गुटका कारण छरपष्ट बनेको कांग्रेसलाई एक बनाउँदै पार्टीलाई मजबुत बनाउने लक्ष्यका साथ आगामी असोज ९ गते हुने नगरअधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।

उनले सामान्यतः माथिल्लो पदमा जानुपर्ने भए पनि पार्टीको फेदलाई बलियो बनाउने लक्ष्यका साथ नगरसभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताए ।

 ‘अहिलेको हैसियतअनुसार मैले नगरसभापतिमा उठ्ने निर्णय गरेको छु,’ साहले भने, ‘अब पार्टीको टुप्पोलाई राम्रो बनाउन खोजेर हुँदैन । फेद राम्रो बनाउनुपर्छ । म पार्टीको फेद दह्रो बनाउने भिजनका साथ अघि बढेको छु ।’

साहले नगर सभापतिमा चुनिएको अवस्थामा उपमहानगरपालिकाको अनियमितता र योजना फरफराकका विषयमा खबरदारी गर्ने, प्रतिपक्षीले निभाउनुपर्ने भूमिकाका विषयमा वडाध्यक्षहरुसँग छलफल गर्ने योजना बनाएको बताए । 



उनले आफ्नो पार्टी तथा अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको राम्रो कामलाई समर्थन गर्दै खराब काममा विरोध गर्ने जनाए । ‘आफ्नो पार्टीका होस् या अन्य पार्टीको । राम्रो काम गर्नेलाई समर्थन गर्ने हो, गलत काम गर्नेको विरोध गर्ने हो,’ साहले भने, ‘म राजनीतिको पिएचडी गर्ने परीक्षामा सामेल भएको छु ।’
  
स्थानीय निकायको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिँदै राजनीतिमा प्रवेश गरेका थिए । 

नेपाल तरुण दलका उपाध्यक्ष समेत रहेका साहले कोरोना महामारीको समयमा उत्कृष्ट कार्य गरेबापत अमेरिकास्थित हामी नेपाली ग्लोबल संस्थाले सम्मान समेत गरेको थियो । 



युवा तथा खेलकूद मन्त्रालयद्वारा प्रकाशित संकटका युवा सारथिहरु किताबमा पनि उनको कथा प्रकाशित गरिएको थियो । उनले गरेका कार्यहरुको मूल्यांकन गर्दै नेपाली काँग्रेसले उनलाई युरोपको डेन्मार्कसम्म तालिमका लागि पुग्ने अवसर समेत प्रदान गरिसकेको छ । 

  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १८:६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया