logo-img

वैचारिक एकरूपता नहुने मान्छे एमाले हुनै सक्दैन : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा माथिदेखि तलसम्मको सोचमा नकरात्मकता देखिने गरेको बताएका छन् । 

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । ‘माथिदेखि तलसम्म सोचमा नकारात्मकता देखिने, जहिले पनि गुनासो, खनखन गर्ने, खालि नकारात्मक सोचबाट अघि बढ्ने । यो हुन हुँदैन’, उनले भने । 

आफूलाई अनुकूल जता भयो त्यतै जाने प्रवृति पार्टीमा हुन नहुने उनले बताए । उनले भने, ‘जता अनुकूल भयो त्यतै जाने प्रवृत्ति हाम्रो पार्टीमा प्रवेश हुन हुँदैन । यदि त्यो प्रवेश भयो भने त्यसले पार्टीलाई सर्वनाश गर्दछ ।’

सम्बोधनको क्रममा एमालेको कानुनी प्रावधानको व्याख्या गर्दै पोखरेलले भने, ‘नेकपा एमाले संविधानको सर्वोच्चतालाई मान्दछ । विधिको शासनलाई मान्दछ । अहिलेको कानुनी प्रबन्धले २०७९ वैशाख १० गतेभन्दा उता एमाले जान सक्दैन । यही अवस्थामा महाधिवेशन नगरी, यसको लेजिमिटेड बोर्डर लाइन के हो भने २०७९ वैशाख १० गतेभन्दा उता जान सक्दैन । हामीले यो बोर्डर उल्लंघन गर्नु हुँदैन । हामीले विधान महाधिवेशन गर्नैपर्छ । विधान महाधिवेशन नगरी हामी राष्ट्रिय महाधिवेशन गर्न सक्दैनौं ।’

‘सही सिद्धान्तको कुरा, कार्यक्रमको कुरा कार्यदिशाको सन्दर्भको बुझाईमा एकरूपता हुनुपर्छ । वैचारिक एकरूपता नहुने मान्छे एमाले हुन सक्दैन । बुझाई एउटा गराई अर्को हुन सक्दैन’, पोखरेलले भने, ‘एमाले हो भने कमिटीमा हुनुपर्‍याे । कमिटीमा नभएको एमाले एमाले हुन सक्दैन । माथिदेखि तलसम्म सबै ठाउँमा कमिटी प्रणाली व्यवस्थित हुनुपर्छ ।’

कार्यकर्ता र जनताबीचको सम्बन्ध कमजोर हुँदै गएको बताउँदै उनले भने, ‘कार्यकर्ता र जनताबीचको सम्बन्ध कमजोर हुन खोज्दैछ । विभिन्न तहका कार्यकर्ता एकातिर, व्यवहार अर्कोतिर भइरहेको छ । नेतृतव र कार्यकर्ताबीचको सम्बन्ध राम्रो हुनुपर्छ । कार्यकर्ता र जनताबीचको सम्बन्ध राम्रो हुनुपर्छ ।’





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १५:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया