३८ क्विन्टल सुन तस्करीको मुद्दाको सुनुवाइका लागि जिल्ला अदालत विराटनगरमा आजबाट बहस सुरु हुँदैछ । सो प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ५५ जना पक्राउ परेका छन् भने २२ जना अझै फरार सूचीमा छन् ।
सुन तस्करी काण्डमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो । उनी भरियाको रूपमा प्रयोग भएका थिए ।
मोरङ प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेर मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रहरीका उच्च अधिकारीलाई समेत प्रतिवादी बनाएको मुद्दामा उच्च प्रहरी अधिकारीसहित ६३ जनालाई प्रतिवादी बनाइएको थियो ।
यो मुद्दामा पछि तीन पटकसम्म पूरक अभियोग दर्ता भयो । अनुसन्धानका क्रममा तथ्य खुल्दै गएअनुसार पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन् ।
चार वर्षअघि दर्ता भएको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुनेछ । अदालती कारबाहीको प्रक्रियामा नआएका फरारको हकमा मुद्दा मुल्तबीमा रहने बताइएको छ ।
सुन तस्करको भरियाको काम गर्दै आएका शाक्यको हत्या भएको घटनाको अनुसन्धान थाल्दा विदेशबाट झन्डै ३८ क्विन्टल सुन तस्करी गरेर नेपाल ल्याइएको खुलेको थियो । ७७ जना प्रतिवादी रहेको मुद्दामा पहिलो दिन आज सरकारी वकिलले बहस गर्ने जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालले बताए ।
वादी नेपाल सरकारका तर्फबाट मुद्दाको बहसको नेतृत्व उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधिवक्ता ज्ञान प्रसाद भुसालले गर्नेछन् ।
जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र सहायक जिल्ला न्यायाधिवक्ता मनिषबाबु पोखरेल लगायतले सरकारका तर्फबाट बहस गर्नेछन् ।
सुरुवाती चरणमा कडा अनुसन्धानको कदम चालेको सरकारका तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई आज र भोलि गरेर दुई दिनको समय छुट्याइएको छ । पछिल्लो समय सेलाउँदै गएको भान भइरहेको मुद्दामा प्रतिवादी बनाइएका अधिकांश उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन् ।
पुर्पक्षका सिलसिलामा जिल्लाबाट उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेको मुद्दाको मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई बनाइएको छ । उनको समूहले दुवईबाट २०७४ साल माघ ९ गते तस्करीमार्फत भित्राएको साढे ३३ किलो सुन काठमाडौं ल्याइ पुर्याएपछि गायब बनाइएको थियो ।
अहिलेसम्म फेला नपरेको सुन गायब बनाएर पचाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका-१ मा शाक्यको मृत्यु भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।