प्रदेश २ मा महतोको मनपरी : नियमविपरीत ज्वाइँलाई नियुक्ति, सरकारी गाडीमा आफ्नै रजाइँ

प्रदेश २ को प्रदेशसभा सचिवालयले सभामुखका राजनीतिक सल्लाहकारलाई उपलब्ध गराएको सरकारी सवारीसाधन प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले प्रयोग गरिरहेको पाइएको छ ।

सभामुख सरोजकुमार यादवका राजनीतिक सल्लाहकार रहेका महतोका ज्वाइँ अनिल महासेठलाई सचिवालयले उपलब्ध गराएको सरकारी सवारीसाधन उनका ससुरा राजेन्द्र महतोले प्रयोग गरिरहेका छन् । 

आइतबार जनकपुरधाममा लोसपा महिला परिवारले आयोजना गरेको जितिया पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी हुन जाँदा महतो महासेठलाई प्रदेशसभा सचिवालयबाट उपलब्ध गराइएको प्रदेश २–०२ ००१झ ००९१ नम्बरको सरकारी गाडीमा सवार भई कार्यक्रमस्थलसम्म पुगेका थिए ।

सभामुख यादवको राजनीतिक सल्लाहकारमा ०७६ माघ १५ गते नियुक्त भएका महासेठले गाडी सुविधासहित प्रदेशसभाबाट मासिक १ लाख पारिश्रमिक बुझिरहेका छन् । 

महासेठलाई प्रदेशसभा सचिवालयले गत साउनदेखि तलबमान बढाएर मासिक ५२ हजार ६ सय पारिश्रमिक र प्रदेश २–०२ ००१झ ००९१ नम्बरको गाडी सुविधासमेत उपलब्ध गराउँदै आइरहेको छ । सोही गाडी अहिले महतोले प्रयोग गरिरहेका छन् ।
 
सचिवालय व्यवस्थापन तथा सञ्चालक समितिको ०७६ माघ १५ गतेको निर्णयले महासेठलाई सल्लाहकारमा नियुक्त गर्दा मासिक ५० हजार ६ सय र गाडी सुविधाबापत तलबको ८० प्रतिशत गरी कानुनविपरीत कुल १ लाख रुपैयाँ निर्धारण गरिएको देखिन्छ । 

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य महतोका ज्वाइँ महासेठलाई कार्यविधि विपरित पाँच महिनामै ५ लाख रुपैयाँ पारिश्रमिक सुविधा उपलब्ध गराएको हो ।  



प्रदेशसभा सचिवालयको दरबन्दीमा राजनीतिक सल्लाहकारको व्यवस्था नभएको अवस्थामा सभामुख यादवले अधिकृतस्तर एघारौँ तहको पारिश्रमिक पाउने गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल महासेठलाई राजनीतिक सल्लाहकार नियुक्ति गरी ५ लाख १ हजार खर्च लिएका छन् ।
 
कार्यालयको कार्य प्रकृतिअनुसार सभामुख, उपसभामुख तथा अन्य सभासदले पाउने सेवा सुविधामा कानुनी तथा राजनीतिक सल्लाहकार राख्न पाउने व्यवस्था नै नरहेको अवस्थामा राजनीतिक पहुँचका आधारमा महतोले आफ्ना ज्वाइँलाई सभामुख यादवको सल्लाहकार बनाएका हुन् ।  

राजनीतिक सल्लाहकारमा नियुक्ति गर्दा सञ्चालन कार्य र सेवा अवधिसमेत खुलाई सम्झौता गर्नुपर्नेमा महासेठलाई नियुक्त गर्दा त्यस्तो कुनै प्रक्रिया पुर्याइएको छैन ।



  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १८:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया