logo-img

सुखी जीवनको आशामा ‘वेश्यालय’, पीडक महिला २५ वर्षपछि पक्राउ

सुख आममानिसको चाहना हो । जो–कोहीलाई कस्तो जीवन चाहनुहुन्छ भनेर सोध्दा आउने जवाफ सुखी नै हो । परिवर्तित नाम ‘सुनिता’ पनि यस्तै सुखको खोजीमा थिइन् । सुखका लागि उनी धन कमाउन चाहन्थिन् । सुखको खोजीमा भौँतारिने क्रममा उनलाई कसैले भारतको वेश्यालयमा पुर्यायो ।  

सुनितालाई भात पकाउने र लुगा धुने काममा लगाइदिन्छु, भनेर वेश्यालय पुर्याउने महिला हुन्, लक्ष्मी विश्वकर्मा उर्फ लक्ष्मी परियार ।

सुनितालाई काम सुन्दा सजिलै लाग्यो । त्यसपछि लक्ष्मीले भनेको काममा उनी जान मञ्जुर भइन् । 

तर, के थाहा उनलाई बेचिँदै छु भनेर ? 

लक्ष्मीले सुनीतालाई सीतापाइलाका एक पुरुषसँग भेट गराइन् । उनीसँगै बसेर फिल्म पनि हेरिन् । त्यसपछि लक्ष्मीले उनलाई काठमाडौंको विशालबजार ल्याइन् । जहाँ दुई दिनसम्म होटलमा थुनेर राखिन् अर्कै केटासँग ।

त्यतिबेलै बुनियो, लक्ष्मी र ती केटाबीच सुनितालाई भारतमा बेच्ने योजना । उनीहरुले कलकत्तामा लगेर बेच्ने योजना बनाए ।  



योजनाअनुसार नै उनीहरूले सुनितालाई ट्रकमा चढाइ कलंकी पुर्याए । साथमा थिए, होटलमा सँगै बस्ने पुरुष । फेरि, थपिए अर्का पुरुष । जसलाई सुनिता​ले चिनिनन् । 

त्यसबेलासम्म सुनिता​मा राम्रो काम पाइने आशा थियो । धम कमाएर सुखी जीवन जिउने कल्पना थियो । 



उनले शंका गरिनन् । उनीहरू तीनजना कलंकीदेखि मुग्लिनसम्म ट्रकमा गए । त्यहाँदेखि भने बसमा चढेर काँकडभिट्टा । जुन देशको पूर्वी नाका हो । 

यही सीमानाका हुँदै उनीहरू पारि भारत पुगे । जतिबेला सुनिताको मनमा काम पाइने भयो र पैसा कमाइने भइयो भन्ने अभिलाषा थियो । 

उनीहरू पुगे कलकत्ता । जहाँ सुनिता​लाई नेपाली मूलकी केटीको होटलमा राखियो । त्यहीँ लुगा धुने र भात पकाउने काम भनेर उनलाई छाडेर दुई पुरुष नेपाल फर्के । 

सुनितालाई सुरुका दिनमा होटलमा रहँदा ठिकै लागेको थियो । तर, होटलवालीले उनलाई जबर्जस्ती यौनधन्दामा सहभागी गराउन थालिन् । यातना दिन पनि थालिन् । त्यसपछि बल्ल थाहा भयो, सुनितालाई वेश्यालयमा ३० हजारमा बेचिएकी रहेछु भनेर । 

सुखको खोजीमा भौँतारिँदै उनी अन्ततः नारकीय जीवन जिउन बाध्य भइन् । यद्यपि, उनले वेश्यालयबाट भाग्ने जुक्ति निकालिन्– बिरामी भएको नाटक गरेर । सोहीअनुसार उनी उपचारका लागि अस्पताल गइन् । सबैको आँखा छलेर भागिन् ।  

भाग्यवश, उनी संयुक्त नेपाली केन्द्रीय सेवा संघका सदस्य ओमबहादुर गुरुङको सम्पर्कमा पुगिन् । उनै गुरुङले सुनीतालाई नेपाली महावाणिज्य दूतावासमा बुझाए । त्यसपछि संघका प्रेमबहादुर लामा र डुवा लामाको साथ लगाएर नेपाल पठाइयो ।

उद्धार भएपछि सुनीताले ०५३ साउन १ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंमा लक्ष्मीविरुद्ध किटानी जाहेरी दिइन् । प्रहरीले उनको खोजी गरिरहेको थियो ।

घटना भएको २५ वर्षपछि अर्थात् यही असोज ६ गते काठमाडौंको पेप्सीकोला क्षेत्रबाट लक्ष्मी पक्राउ परेकी छिन् । 

मानव बेचविखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) अरुणकुमार द्विवेदीले लक्ष्मीविरुद्ध जिउ मास्ने कार्य (नियन्त्रण) ऐन तथा  मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । 

  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १८:४०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया