जानकी मेडिकल कलेजका कर्मचारीहरू फेरि आमरण अनसनमा बस्ने
फाइल फाेटाे

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरू फेरि आमरण अनसनमा बस्ने घोषणा गरेका छन् । कलेज व्यवस्थापनले आन्दोलनरत कर्मचारीसँग गरेको सहमति कार्यान्वयन नगरी श्रम शोषण गरेको भन्दै उनीहरूले फेरि अनसनमा बस्ने चेतावनी दिएका हुन् ।

आन्दोलनको सुरु भएको एक वर्ष पुग्दा समेत आफूहरूको माग पूरा नभएको र विगतमा जिल्ला प्रशासन, प्रहरी लगायतका सरोकारवाला निकायसमक्ष गरेको सहमति कार्यान्वयन नगरेपछि फेरि अनसनमा बस्नुपर्ने बाध्यता रहेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले जानकारी दिए ।

यसभन्दा अगाडि पनि उनीहरू कलेजमा कार्यरत कर्मचारी, चिकित्सक तथा फ्याकल्टीहरूबीच तलब भत्ता, सञ्चयकोष, दसैं भत्ता लगायतका बाँकी बक्यौता भुक्तानी एवं संस्था सुदृढीकरणका लागि विभिन्न मितिमा भएका सम्झौता र प्रतिवद्धता कार्यान्वयन गर्न कात्तिक १६ गतेदेखि मंसिर १३ गतेसम्म आमरण अनसनमा बसेका थिए ।

कलेजमा कार्यरत १२५ कर्मचारीमध्ये १०० जना कर्मचारी अझै आन्दोलनमै रहेको संयोजक यादवले बताए । 

उनीहरूले अनसन गर्नुका साथै थप सशक्त आन्दोलनको तयारी थालेका छन् । कलेज प्रशासनसँग भएका सम्झौता तथा जायज माग सम्बोधन नभएको भन्दै आन्दोलित कर्मचारीले अनसनसहित थप सशक्त आन्दोलनको तयारी थालेको हो। 

पछिल्लो पटक २८ दिनसम्म आमरण अनसनमा बसेका कर्मचारीद्वय यादव र साहले ३ बुँदे सहमतिपश्चात् गत मंसिर १३ गते अनसन तोडेका थिए । तर, सो त्रिपक्षीय सहमति संस्था सञ्चालक पक्षद्वारा कार्यान्वयन नगरिएकाले बाध्य भएर आफूहरूले फेरि तेस्रो पटक अनसनको तयारी थालेको उनीहरूले बताए ।



२०७७ मंसिर १७ गतेभित्र कलेज र कर्मचारीबीचको समस्या समाधान गर्न दुवै पक्षबाट २-२ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीको आधिकारिक ट्रेड युनियनका अध्यक्षहरू सम्मिलित कार्यदल गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने सहमति भएको थियो । 

कलेज प्रशासनले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरूले आकस्मिक बाहेकका सबै सेवाहरू गत २०७७ असोज १२ गतेदेखि नै ठप्प गरेका थिए ।



यसअघि पनि कर्मचारीहरुले तलबका लागि पटक-पटक आन्दोलन गरेका थिए । पटक-पटकको आन्दोलनले मेडिकल पढ्ने विद्यार्थीहरुको पढाइमा समेत समस्या उत्पन्न भएको छ ।

  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १४:५६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया