आफैंले बढाएको भाडा लागु गर्नुपर्ने माग राख्दै यातायात व्यवसायीले रिङरोडमा तेर्साए गाडी

आफैंले बढाएको भाडा लागु गर्नुपर्ने माग राख्दै यातायात व्यवसायीले रिङरोडमा गाडी होल्ड गरेर अवरोध गरेका छन् । काठमाडौं उपत्यकाका विभिन्न ७२ वटा कम्पनीका ५०० भन्दा बढी सवारी साधानलाई रिङरोडमा होल्ड गरेर राखेका हुन् । 

असोज १५ गतेदेखि लागु हुनेगरी व्यवसायीले उपत्यकाभित्र २८ प्रतिशत भाडा बढाएका थिए । व्यवसायीले स्वघोषणा गरेर भाडा बढाएपछि ट्राफिक प्रहरीले कारवाही थालेको छ । अहिलेसम्म ५० भन्दा बढी सवारीलाई कारवाही गरिसकेको छ भने ३०० भन्दा बढी सवारीलाई जरिवाना काटेको छ । तर, व्यवसायीले जरिवानाका लागि कागजपत्र ट्राफिक प्रहरीलाई बुझाएका छैनन् ।

गाडी सडकमा राखेर चाँबी भने व्यवसायीले नै लगेर गएका छन् । यति धेरैको संख्यामा राखिएका बस हटाउन सम्भव नभएको ट्राफिक महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले बताए । 

यसरी सवारी रोडमै होल्ड गरेर राखेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् भने काठमाडौं उपत्यकाका ट्राफिक अस्तव्यस्त बनेको छ । 

आफूहरूले भाडा बढाएर कार्यान्वयनमा ल्याएपछि ट्राफिक प्रहरीले कारवाही गर्न थालेको भन्दै त्यसको विरोधमा गाडी सडकमा होल्ड गरिएको सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले जानकारी दिए ।
 
सरकारले भाडा बढाउन आनाकानी गरेको भन्दै महासंघले असोज १४ गते काठमाडौं उपत्यकाभित्रका नगर यात्रु सेवा सवारीमा सुरुवाती भाडा २० रूपैयाँ तोकेको छ । यसअघि १५ रुपैयाँ थियो । 

काठमाडौं उपत्यकामा सञ्चालित मिटर जडित ट्याक्सीको हकमा चक्रपथभित्र १०० रुपैयाँ र चक्रपथबाहिर ५ किलोमिटरसम्म १५० रुपैयाँ प्रत्येक पटकमा थप गरी भाडा बढाइएको हो । 



यसअघि असार २९ गते भौतिक पूर्वाधार मन्त्रालयले लामो दूरीका सवारी (अन्तरप्रदेशस्तरिय) को भाडादर २८ प्रतिशतले बढाएको थियो । तर, छोटो दूरीका सवारीको हकमा भने सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन । 

२०६९ सालदेखि हालसम्म प्रदेश अन्तर्गतको भाडा समायोजन हुन सकेको छैन । त्यस्तै ट्याक्सीको हकमा २०६५ सालदेखि सुरुवाती कलमा परिमार्जन फ्ल्याग डाउन गरिएको छैन । 
२०६९ सालमा भाडा समायोजन हुँदा तेलको मूल्य ७७ रुपैयाँ प्रतिलिटर थियो । अहिले बढेर ११० भन्दा बढी पुगेको छ । लामो समयदेखि भाडा समायोजन हुन नसक्दा आफूहरू घाटाको व्यापार गर्दै आएको महासचिव नेपालको भनाइ छ ।  



नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पटक-पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि बागमती प्रदेश सरकारले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । 

बागमती प्रदेश सरकारलाई पटक पटक भाडा समायोजनका लागि आग्रह गर्दा पनि सुनुवाइ नगरेको उनको भनाइ छ । 

दसैंको मुखमै यातायात व्यवसायीले बढाए सवारी भाडा

 

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १२:१०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया