logo-img

सत्ता गठबन्धनको सकस : आजभोलि भन्दाभन्दै ३ महिनासम्म पनि हुन सकेन मन्त्रिमण्डल विस्तार

२९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई यसपटक मन्त्रिपरिषद विस्तार गर्न खुब सकस पर्यो । ६४ सदस्यीय ‘जम्बो’ मन्त्रिमण्डल गठन गरेर इतिहास रचेका देउवाले योपटक झण्डै ३ महिनासम्म मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको छ ।  

पहिला जम्बो मन्त्रिमण्डल बनाएको भनेर आलोचना खेपेका देउवालाई अहिले २५ सदस्यीय पनि विस्तार गर्न नसकेको भन्दै सत्ताबाहिरबाट मात्रै होइन, सत्ता गठबन्धन र अझ आफ्नै दलबाट पनि आलोचना भइरहेको छ । 

योपटक देउवा आफैँलाई अदालतले यति ठूलो उपहार देला भन्ने लागेको थिएन । पार्टीको १४औँ महाधिवेशन गर्न नसकेर क्रियाशील विवादको झन्झट खेपिरहेकै बेला अदालतले २८ असारमा परमादेशबाट ‘प्रधानमन्त्री’ बनाएपछि देउवालाई सकस बढ्दै गएको हो । 

देउवाले मन्त्रिमण्डल मात्र होइन, अहिलेसम्म आफ्नो निजी सचिवालय पनि विस्तार गर्न सकेका छैनन् । पछिल्ला केहीदिनदेखि ‘अब चाँडै हुन्छ’ भनेर भनिरहेको सत्ता गठबन्धनभित्र कुरा मिल्न नसक्दा लामो समयदेखि मन्त्रिमण्डल विस्तार हुन नसकेको हो । 

आफ्ना पार्टीबाट सांसद बनेका सबैले मन्त्री मागेको भएर तनाबमा पुगेको बताएका प्रचण्डले पार्टीबाट मन्त्री हुनेको नाम पठाइसके । कांग्रेसमा पनि कसलाई कुन–कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन । गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले पनि मन्त्रीको नामावली तय गरिसकेको छैन । 

यद्यपि, केही दिनदेखि मन्त्री छान्नका लागि सबै दल आन्तरिक तयारीमा भने जुटेका छन् । 



बालुवाटारमा नेपालको असन्तुष्टिपछि...

आज बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘उस्तै परे आजै मन्त्रीहरुको शपथ’ हुने एक सार्वजनिक कार्यक्रममा सम्बोधनका क्रममा बताएका थिए । हिजै मन्त्रीको नामावली टुंग्याएका प्रचण्डले आफ्नो पार्टीबाट समावेशी झल्को दिएको दाबीसमेत गरे ।  



उता, नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक दिउँसो बस्यो । बैठकले मन्त्री छान्ने जिम्मा माधव नेपाललाई दिएको जानकारी दिँदै नेता विरोध खतिवडाले कति मन्त्रालय पाउने भन्नेबारे आजको बालुवाटार वार्ताले टुंग्याउने बताए । उनले त्यसो भनिरहँदा अध्यक्ष नेपाल भने गाडी चढेर बालुवटातिर हानिएका थिए । 

बालुवाटारमा दिउँसैदेखि जारी वार्ताबाट बीचमै उठेर नेपाल निस्किए । उनले त्यहाँ उपस्थित सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिन मानेनन् । 

यसअघि भएको सहमतिअनुसार मन्त्रालय नपाएको भन्दै नेकपा एकीकृत समाजवादीले असन्तुष्टि राखेको थियो । माओवादी र कांग्रेसमा मोटामोटी सहमति भए पनि नेकपा एकीकृत समाजवादी र जसपाले सहमतिबेगर मन्त्रालय घटाएपछि असन्तुष्टि चुलिएको स्रोतको भनाइ छ । 

माधव नेपालको असन्तुष्टि देखिएपछि प्रदेश १ र बागमतीमा मुख्यमन्त्री दिने गरी नेपाललाई मनाउन देउवा र प्रचण्ड सफल भए ।

कहिले हुन्छ विस्तार ? 

मन्त्रिमण्डल किन विस्तार गर्न नसकेको ? भन्ने सञ्चारकर्मीको प्रश्न भुइँमा खस्न नपाउँदै सत्ता गठबन्धनका नेताले ‘आज–भोलि’मा नै हुन्छ भन्ने थालेको धेरै भइसक्यो । प्रचण्डले त आजै वा साँझै भन्न थालेको पनि धेरै भयो । 

बालुवाटार स्रोतका अुनसार दुई प्रदेशको मुख्यमन्त्री दिएर शुक्रबार मन्त्रिमण्डल विस्तारको तयारीमा नेताहरु जुटेका छन् । माओवादीले ४ जना मन्त्रीहरुको नामावली उपलब्ध गराइसकेपछि कांग्रेससहितका अन्य दललाई पनि दबाब सिर्जना भएको छ ।

दबाब र असन्तुष्टिका बीच आज बसेको बालुवाटार बैठकले पनि ठोस निष्कर्ष भने निकाल्न सकेको छैन । बालुवाटार निकट स्रोतका अनुसार बाँकी रहेका केही विवादका विषयलाई मिलाएर भोलिसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको बुझिएको छ । 

यद्यपि, नेताहरुबीच पूर्ण रुपमा सहमति भने भइसकेको छैन । गठबन्धनबीच भएको सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्री र एक–एक राज्यमन्त्री पाउने समझदारी भएको थियो ।  

देउवाको सकस उस्तै

मन्त्री पद माग्नेहरुको लर्को व्यवस्थापन गर्दै प्रचण्डले नाम दिइसक्दा देउवाले भने आफ्नै पार्टीबाट मन्त्री बनाउनको नाम तयार गरिसकेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र देउवाबीच सहमति नहुँदा कसलाई मन्त्री बनाउने भन्नेबारे दुवै आफैं स्पष्ट भइसकेका छैनन् । 

यसअघि कांग्रेसबाट मन्त्री भएकालाई देउवाले आफ्नै पोल्टाबाट मन्त्री बनाए । पछिल्लोपटक डा. नारायण खड्कालाई मन्त्री बनाउँदा पार्टीमा कुनै छलफल नभएको भन्दै पौडेल समूहले असन्तुष्टि व्यक्त गरेको थियो । 

सोही असन्तुष्टिलाई मिलाउन देउवालाई अझै सकस परिरहेको छ । पौडेल समूहलाई दुइटा मात्र मन्त्री दिने भएपछि कांग्रेसभित्र असन्तुष्टि बढेको थियो । पौडेल समूहले ३ मन्त्रीको माग गर्दै आएको छ ।

सरकारमा पठाउने नामबारे छलफल गर्न बुधबार दिउँसो नेता रामशरण महतको निवासमा पौडेल समूहको बैठक बसेको थियो । सो बैठकमा पनि आफूहरुले ३ वटा पाउनैपर्ने भन्नेमा पौडेलसहितका नेता एकमत थिए । 

त्यसपछि बालुवाटारमा आफ्नो माग राख्न पुगेका पौडेलले देउवासँग चर्काचर्की नै गरे । देउवाले यसअघि नै आफूपक्षीय ४ जनालाई मन्त्री बनाइसके । ७ वटा भागमा परेकोमध्ये अब ३ वटा बाँकी छन् । त्यसमा पनि एउटा सिटौला पक्ष र दुईवटा पौडेल पक्षलाई देउवाले दिने बताएका थिए । यद्यपि, पौडेल समूहले आफूहरुलाई ३ वटै चाहिने बताएपछि विवाद बढेको हो ।

  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १८:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया