बागमती प्रदेश सभाको बैठक आज, अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने

बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेश सभा बैठक दिउँसो १ बजे बोलाइएको हो । 

तर, यो बैठकमा नेकपा (एमाले)ले उपस्थित नहुने बताएको छ । 

पालिका अधिवेशनको तयारीका लागि भन्दै एमालेले आफूहरु बैठकमा उपस्थित हुन नसक्ने बताएको हो । यसका कारण आज मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने र यसको मत विभाजन हुने वा नहुने भन्ने अहिलेसम्म निश्चित भएको छैन । एमालेले सभामुखलाई पत्रसमेत पठाएकाले प्रदेश सभाको बैठक आज स्थगित हुने सम्भावना पनि छ ।

नेकपा एमालेले ११ गतेसम्मका लागि प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको छ ।

२ भदौमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य नेकपा एमाले विभाजन भएर प्रदेशका १३ जना सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि अल्पमतमा परेकी हुन् ।

१०९ जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा विश्वासको मत पाउन शाक्यलाई ५५ सांसदको साथ चाहिन्छ । तर, सत्तारुढ एमालेसँग ४३ जना सांसद मात्रै भएकाले उनले विश्वासको मत नपाउने निश्चितप्रायः छ ।



अर्कोतिर विपक्षी गठबन्धनका नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ जना सांसद रहेका छन् । उनीहरुसँग स्पष्ट ५८ जना सांसद रहेकाले यो गठबन्धनबाट मुख्यमन्त्री बन्ने निश्चित छ ।

तर, गठबन्धनमा कसले मुख्यमन्त्री पद लिने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले मुख्यमन्त्री आफू बन्नु पर्ने दाबी गरिरहेका छन् । अर्कोतिर नेपाली कांग्रेसले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी राखेको छ । नेपाली कांग्रेसबाट इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने दौडमा छन् ।



  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार ९:५१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया