अफगानिस्तानमा चरम मानवीय संकट, छोरी बेच्दै परिवार पाल्दै
फरकधार / २४ कात्तिक, २०७८

हामी हेरात सहरबाट बाहिरियौं । भीडभाडयुक्त सडकबाट हामी एक लामो र सुनसान हाईवेमा पुग्यौं । तालिबानको दुईवटा चौकी पार गर्दै हामी अघि बढ्दै गर्दा उनले सोधेकी थिइन्– अब अफगानिस्तानमा कसले राज गर्ला ?



त्यहाँको पहिलो चौकीमा भेटिएका लडाकू मिलनसार थिए । तर उनले हाम्रो कार र त्यहाँको संस्कृति मन्त्रालयले दिएको स्वीकृतिपत्र राम्ररी जाँच गरे । हामी त्यहाँबाट हिँड्दै लाग्दा काँधमा असाल्ट राइफल भिरेको एकजनाले मुस्कान फाल्दै भन्यो, ‘तालिबानसँग डराउनु पर्दैन । हामी असल मानिस हौं ।’

तर अर्को चौकीमा भेटिएका पहरेदार केही फरक थिए, चिसो स्वभावको र खतरनाक पनि । तपाईंले अनुमान पनि गर्न सक्नहुन्न कि, यसरी तालिबान लडाकूसँग भेट हुन्छ भनेर । तिनका केही लडाकूले विरोध प्रदर्शनको समाचार कभर गरेको निहुँमा अफगान पत्रकारलाई निर्दयतापूर्वक कुटेका थिए । र, हालै पनि एक अनलाइन भिडियोमा एकजना विदेशी फोटोग्राफरलाई लडाकूले बन्दुक बटले हिर्काइरहेका थिए ।

सौभाग्य, हामीलाई त्यो जाँच चौकीबाट चाँडै छुट्कारा मिल्यो , तर एउटा बयान लिइयो, जुन चेतावनीजस्तै लाग्थ्यो । तिनले भने, ‘हाम्राबारेमा राम्रा कुरामात्रै लेख्ने निश्चित हुनुपर्छ ।’



एक बच्चाको मूल्य ९०० डलर

हेरातबाट करिब १५ किलोमिटर टाढा हामी एक धूलोमैलो, तर ठूलो बस्तीमा पुग्यौं । वर्षौंदेखि चलेको लडाइँ र सुख्खाका कारण विस्थापित भएका टाढाटाढाका मानिसहरु यहाँ आएर बसेका थिए । उनीहरुले त्यहाँको सहरमा काम पाउने र आफू सुरक्षित हुने ठानेका थिए । 

हामी कारबाट उत्रँदै थियौं, बाहिर बाक्लो धूलो उड्न थाल्यो । हावा निकै तिखो थियो, जुन केही सातामै कडा ठन्डीमा बदलिन तयार भएर बसेको थियो ।

हामी त्यहाँ के पत्ता लगाउन गएका थियौं भने, के साँच्चै त्यहाँका मानिसहरु गरिबीका कारण आफ्ना सन्तान बेच्न थालेका छन् ? मैले पहिलो पटक यसबारे जब सुनेँ, मनमनै सोचेँः निश्चित रुपमा एक–दुई यस्ता घटना होलान् । तर हामीले त्यहाँ जे यथार्थ देख्यौं, त्यसलाई पूर्ण रुपमा मान्न म तयार थिइनँ । 

हामी जब त्यहाँ पुग्यौं, एकजनाले हाम्रो टोली सदस्यसँग सोध्यो– के तपाईंहरु हाम्रा कुनै बच्चा किन्नुहुन्छ ? तिनले यसका लागि ९०० अमेरिकी डलर तिर्नुपर्ने बताए । मेरा सहयोगीले उनीसँग किन आफ्ना बच्चा बेच्नुपरेको भनी सोधे । ती व्यक्तिले आफ्ना ८ सन्तान रहेको र तिनलाई खुवाउनका लागि खानेकुरा केही पनि नभएको बताए ।

त्यहाँबाट हामी केही अघि बढ्यौं, एकजना महिला सानी बालिका बोकेर हाम्रो सामु आइन् । हाम्रा अनुवादकले भने– ती महिलाले आफ्नी डेढ वर्षकी छोरीलाई सामान किन्न पैसा आवश्यक परेकाले बेचिसकेकी थिइन् ।

हामी तिनीसँग केही सोध्न चाहन्थ्यौं, तर हाम्रा वरिपरि भीड जम्मा भइसकेको थियो । भीडबाटै एकजनाले भन्यो– मैले १३ महिनाकी भान्जीलाई पहिल्यै बेचिदिइसकेको छु । उनले के पनि थपे भने, घोर प्रान्तका एक व्यक्तिले निकै टाढाबाट आएर ती भान्जी किनेका थिए । खरिदकर्ताले ती बालिका ठूली भएपछि लिएर जाने सर्तमा पैसा तिरेको थियो । र, उसले बालिकाको विवाह आफ्नो छोरासँग गरिदिने पनि बताएको थियो ।

के होला यी बालिकाको भविष्य ? कसैले बताउन सक्दैन ।

एक घरमा हामीले ६ महिनाकी बालिका सुतिरहेको देख्यौं । के थाहा भयो भने, ती बालिका जब हिँड्न थाल्छिन् तब खरिदकर्ताले लिएर जानेछ । त्यो परिवारमा माता–पिता र तिनका तीनजना अरु सन्तान छन् र हरियो आँखा भएको एक छोरा छ ।

त्यो परिवारलाई कयौं दिन भोकै रात बिताउनु परेको छ । ती बालिकाका पिता खाली सिसी–पुराना कागज खोजेर जीवन चलाउँदै आएका थिए । 

उनले हामीसँग भने, ‘लामो समयदेखि मैले काम पाएको छैन । कुनै काम पाएका बखत म ६ या ७ वटा पाउरोटी किन्छु र बाँडेर हामी खान्छौं । मेरी पत्नी छोरी बेच्ने कुरासँग सहमत छैन । त्यसले चिन्तित छु, तर म लाचार पनि छु । बाँच्नका लागि अरु कुनै उपाय नै छैन ।’

म ती महिलाको आँखा कहिल्यै बिर्सन सक्दिनँ । त्यसमा क्रोध र लाचारी देखिएको थियो । छोरी बेचेर उनलाई जुन पैसा मिल्नेवाला थियो, त्यसले उनलाई बाँच्न मद्दत पुग्थ्यो । त्यसबाट अरु सन्तानका निम्ति खानेकुरा किन्न सकिन्थ्यो, तर त्यो पनि केही महिनाका लागि !

‘हामीले यस्तो अवस्था होला भनेर सोचेकै थिएनौं’

हामीले यतिसम्म खराब अवस्था होला भनेर सोचेका पनि थिएनौं कि, मानिसहरु बाँच्नका लागि आफ्ना सन्तान नै बेचिरहेका हुन् ! यसबारे खुलेर कुरा गर्ने अवस्था त्यहाँ बिलकुलै थिएन ।

हामीसँग जे जानकारी उपलब्ध थियो, त्यो बताउन हामीले संयुक्त राष्ट्रको बालबालिकासम्बद्ध संस्था युनिसेफमा सम्पर्क गर्यौं । युनिसेफले त्यस्ता परिवारसम्म पुग्ने र तिनलाई मद्दत गर्न कोसिस गर्ने बतायो ।

अफगानिस्तानको अर्थव्यवस्था विदेशी सहयोगबाट चल्दै आएको छ । तालिबानले अगस्टमा जब सत्ता हातमा लियो तबदेखि त्यस्ता सहयोग रोकिएको छ । 

फलस्वरुप सबैखाले सरकारी खर्च (कर्मचारीको तलबसमेत), विकासकार्य बन्द हुन पुगेको छ । यसबाट अर्थव्यवस्था त चौपट भएको छ नै, सर्वसाधारणको जीवन थप कष्टकर बनेको छ । तालिबान सत्तामा आउनुअघि नै जीवननिर्वाह जटिल बनिरहेका कतिपय अफगान नागरिकको अहिलको अवस्था झनै कठिन भएको छ । 

मानवअधिकारीको निश्चितता नभई र दिएको सहयोग कसरी खर्च गरिने छ भन्ने कुरा स्पष्ट नभई तालिबानलाई रकम दिनु खतरनाक कार्य हो । तर समस्या यसरी बढ्दै  गएको छ कि, चाँडै नै देश भोकमरीमा जानेछ ।

हामीले हेरातमा जे देख्यौं, त्यसबाट के स्पष्ट हुन्छ भने, विनाकुनै बाहिरी सहयोग अफगानिस्तानका लाखौं नागरिकले यो जाडो कटाउन सक्ने छैनन् ।
(योगिता लिमये/बिबिसी)

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १२:५०:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया