गृहमन्त्री खाणकै योजनामा आफूहरूमाथि आक्रमण भएको पीडितको आरोप

मत गणनाका क्रममा आक्रमणमा परी घाइते भएका कांग्रेसका नेता समर्थकहरूले गृहमन्त्री बालकृष्ण खाँणको योजनामा आफूहरूमाथि आक्रमण भएको आरोप लगाएका छन् । लुम्बिनी  प्रादेशिक अस्पताल बुटवलमा उपचारत घाइते नेता तथा समर्थकहरूले अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन् ।

उनीहरूले गृहमन्त्री तथा पार्टी नेता खाणका भाइ कांग्रेस रुपन्देहीका सचिव समेत रहेको रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको आरोप लगाए । मण्डले शैलीमा आक्रमण भएको भन्दै उनीहरूले आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने नाममा अर्को समूहमाथि आक्रमणमा उत्रिनु खेदजनक र निन्दनीय भएको बताए ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ ९क० का उम्मेदवार पुरनप्रसाद श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको निर्देशनमा आक्रमणको भएको सूचना पाएको बताए । तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको समूहले कांग्रेस नेता शैलेश पन्तमाथि सांघातिक आक्रमण गरेको बताउँदै उनले सत्ता र शक्तिको आडमा गुण्डा परिचालन गरेर चुनाव आफ्नो पक्षमा पार्ने कोसिस गरिएको बताए । 

राति मतगणना चलिरहँदा देउवा पक्षका कार्यकर्ता पुगेर जेनेरेटर बन्द गरी आक्रमण थालेका थिए । आक्रमणमा प्रदेश निर्वाचन क्षेत्रका सचिव पदका उम्मेवार पन्तसहित पाँचजना कार्यकर्ता घाइते भएका छन् । गम्भीर घाइते पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने अन्य चारजनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ । निर्वाचनमा पराजित हुने डरले देउवा पक्षले आक्रमण गरेको पौडेल पक्षको आरोप छ ।

तर, कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले आफ्नो संलग्नताको आरोप अस्वीकार गर्दै मतगणना स्थलमा नभई बाहिर झडप भएको र यो विषयलाई गृहमन्त्रीसँग जोड्न आवश्यक नरहेको बताए । 





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार २२:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया