सहिद स्मारक ‘ए’ डिभिजन लिग : पहिलो चरणमा विभागीय टोलीको प्रदर्शन

काठमाडौंमा जारी ४३औँ संस्करणको 'ए' डिभिजन लिगको पहिलो चरणको खेल सकिएका छन् । पहिलो चरण सकिँदा थ्रिस्टार क्लबले उत्कृष्ट प्रदर्शन गरेको छ  । पहिलो पटक लिगमा सहभागी भएको सातदोबाटो युथ क्लबले सन्तोषजनक प्रदर्शन गर्दा लिग उपाधि दाबेदार मानिएको मनाङको प्रदर्शन मध्यम रह्यो । 

उत्कृष्ट प्रदर्शन गर्ने आस गरिएको च्यासलको प्रदर्शन भने सोचेअनुरूप रहन सकेन । साविक विजेता मछिन्द्र, फ्रेन्ड्स, जावलाखेल र न्युरोड टिम (एनआरटी)को प्रदर्शन पनि मध्यम रह्यो । लिगमा सहभागी विभागीय टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिन्छ, किनकि यी टोली अन्यको तुलनामा स्रोतसाधन, प्रशिक्षण तथा सेवा सुविधामा अब्बल मानिन्छन् ।

विभागीय टोलीमा विदेशी खेलाडी नहुने हुँदा उनीहरू पूर्ण रूपमा नेपाली खेलाडीमै निर्भर छन् ।
 
यस्तो रह्यो तीन विभागीय टोलीको प्रदर्शन :

एपिएफ फुटबल क्लब

एपिएफले तुलनात्मक रूपमा केही सुधारिएको प्रदर्शन गरे पनि हारबाट प्रतियोगिताको सुरुवात गर्‍याे । उसले पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ को पराजय बेहोरेको हो । विभागीय टोलीमध्ये सबैभन्दा कमजोर टोली हो एपिएफ ।

सधैं रेलिगेसनबाट बच्न संघर्षरत एपिएफ युवा खेलाडीमा निर्भर छ । आक्रमणमा केही सुधारको पक्ष देखिए पनि उसले डिफेन्स बलियो बनाउन निकै मेहनत गर्नुपर्ने देखिन्छ ।
 
अघिल्लो सिजन लिगका १३ मध्ये मात्र २ जित हात पारेको एपिएफ ९ अंकका साथ १३ औँ स्थानमा थियो ।
 
गत सिजन ९ गोल गर्दै लिगका सर्वाधिक गोलकर्ता बनेका आशिष लामाबाट एपिएफले निकै आशा गरेको छ । आशिष ब्रिगेडविरुद्धको खेलमा टोलीका लागि एक गोल गरेका थिए ।
 
नेपाल पुलिस क्लब



विभागीय टोलीमध्ये लिग उपाधि उचाल्ने एक्लो टोली हो- नेपाल पुलिस क्लब । उसले पाँचचाेटि उपाधि जितिसकेकाे छ । उसले अन्तिमपल्ट विसं २०६८ मा लिग उपाधि उचालेको थियो । 

कुनै समय घरेलु फुटबलमा पुलिसको दबदबा थियो तर अहिले भने उसको प्रदर्शन खस्किएको छ। आफ्नो पुरानो शाख फर्काउने प्रयासमा रहेको पुलिस युवा खेलाडीमा निर्भर देखिन्छ । 



उसले लिगको अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ बराबरी खेलेको थियो । 
आर्मीविरुद्ध पुलिसले मध्यम प्रदर्शन गर्‍याे । पुलिस गत सिजनका १३ मध्ये ६ जितका साथ २० अंक जोडेर पाँचौं स्थानमा थियो । 

पुलिसले रवि पासवानबाट निकै आशा गरेको थियो तर पहिलो खेलमा उनले सोचे अनुरूपको प्रदर्शन गर्न भने सकेनन् । 

त्रिभुवन आर्मी फुटबल क्लब

पछिल्लो समय विभागीय टोलीमध्ये सबैभन्दा बलियो देखिएको टोली हो- आर्मी । आर्मी  गत सिजन अन्तिम खेलमा मछिन्द्रसँग १-० ले पराजित भएपछि उपाधिबाट बञ्चित बन्यो । 

उपविजेतामा सीमित बनेको आर्मीले १३ खेलमा ९ जितका साथ २९ अंक जोडेको थियो । उ यो सिजन लिग उपाधि उचाल्दै पुरानो घाउमा महल्म लगाउने प्रयासमा छ ।
 
आफ्नो मुख्य खेलाडी नवयुग श्रेष्ठ र विकास खवासबिना नै पुलिसविरुद्ध मैदान उत्रिएको आर्मीले १-१ को बराबरी खेल्यो । 

पुलिसविरुद्ध आर्मीको टिम वर्क निकै राम्रो देखिन्थ्यो । कुनै एक खेलाडीमा निर्भर नरहेको क्लबमा अनुभवी र युवा खेलाडीको तालमेल निकै राम्रो थियो । 

खेल बराबरीमा सकिए पनि भरिपूर्ण आर्मीले खेल अवधिभर निकै उत्कृष्ट प्रदर्शन गर्‍याे । निरन्तर आक्रमण गरे पनि उसको प्रयासले सार्थकता भने पाउन सकेन । 

लिग भर्खरै सुरु भएकाले अहिले नै कुन टोली बलियो र कमजोर भन्ने अनुमान लगाउन गाह्राे होला । तर, पहिलो चरणको खेल हेर्दा त्रिभुवन आर्मी फुटबल क्लब केही बलियो देखिन्छ । एपिएफ कमजोर सावित हुँदा पुलिसको प्रदर्शन मध्यम छ । 

यी विभागीय टोलीले लिगमा कुन स्थान हासिल गर्लान् त्यो हेर्न भने केही समय कुर्नै पर्ने हुन्छ । 
 

  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १३:३२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया