अग्ला पुल हेर्न पर्यटकको घुइँचो

पर्वत- जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुंगे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको संख्या वृद्धि हुँदै गएको हो । हिमालपारिको जिल्ला मुस्ताङ घुम्न जाने पर्यटक तथा अन्नपूर्ण पदमार्गमा जाने बाह्य पर्यटकको रोजाइमा यहाँका अग्ला पुल पर्न थालेका छन् । पुल हेर्न र तर्नका लागि यस वर्ष बाह्य पर्यटक पनि बाक्लै रूपमा आउन थालेको स्थानीयवासी बताउँछन् । 

मुस्ताङ जान हिँडेका तथा मुस्ताङबाट फर्किने, कालीगण्डकीमा जलयात्रा गर्न आउने र राउन्ड अन्नपूर्ण पदमार्गमा जाने पर्यटक एक दिन समय लम्ब्याएर अग्ला पुल हेर्न आउन थालेको पर्यटन व्यवसायी बताउँछन् । यस वर्ष झन्डै पाँच सयभन्दा बढीको संख्यामा बाह्य पर्यटक अग्ला पुल हेर्न आएको पर्वत पर्यटन प्रवर्धन केन्द्रका अध्यक्ष शिव पौडेलले बताए । उनले भने, ‘जिल्लामा रहेका मुलुकका तीन अग्ला र लामा पुल पर्यटकको रोजाइमा पर्न थालेका छन् ।’ 

अग्ला पुलमा मोटरसाइकल समेत सञ्चालन गर्न पाइने भएपछि पर्यटकले मोटरसाइकल चढेर पुलमा ओहरदोहर गरी आनन्द लिने गरेका छन् । ‘मुस्ताङबाट फर्किंदा अग्ला पुल हेर्ने पर्यटकले इच्छा व्यक्त गर्ने गरेका छन्,’ पर्यटक पथप्रदर्शक रमेश मोक्तानले बताए । उनले भने, ‘पुल देखेपछि पर्यटक अचम्मित र आनन्दित हुने गरेका छन् ।’

कुश्मामा सञ्चालनमा आएका तीन पुलमा अहिले आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । पर्वत आसपासका जिल्लाका बासिन्दाले बिदा मनाउन झोलुंगे पुल आउने गरेको पौडेलले बताए । केही वर्षयता शैक्षिक भ्रमणको गन्तव्य नै अग्ला र लामा पुल, यान्त्रिक पुल र जिल्लामा रहेका दुई लामा गुफा भएका छन् । गुप्तेश्वर गुफा, अलपेश्वर गुफा र कुश्मा–बलेवा यान्त्रिक पुल पर्यटकको रोजाइ पर्न थालेको छ । 

कालीगण्डकी, मोदीखोला र माछापुच्छ्रेसहितका आकर्षक हिमालको समेत दृश्यावलोकनका कारण पनि आन्तरिक तथा बाह्य पर्यटक पुल अवलोकन गर्न आउने गरेका छन् । पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेको पौडेलले बताए । पुल सर्वसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण गरिए पनि अवलोकनका लागि मात्र पर्यटक आउँदा पुल वरपरको व्यापार व्यवसाय फस्टाएको छ । अहिले तीनवटै पुल वरपर होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । पुल निर्माणपछि त्यस क्षेत्रको जग्गाको मूल्यसमेत बढेको छ । 

कुश्मा–ज्ञादी पुलको उचाइ १३५ मिटर तथा लम्बाइ ३४४ मिटर छ । कुश्मा–कैया पुलको उचाइ १५५ मिटर तथा लम्बाइ ३५९ मिटर छ । सो पुलले दक्षिणी भेगका फलेवास नगरपालिका, महाशिला गाउँपालिका, पैयूँ गाउँपालिका र बिहादी गाउँपालिकाका बासिन्दालाई सदरमुकामसँग जोडेको छ । कुश्मा कैया पुलबाट बागलुङको दक्षिण भेगका बासिन्दा लाभान्वित भएका छन् । उनीहरूलाई बजारसम्मको पहुँच सहज भएको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७५ मंगलबार ११:३५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया