के नेपालमा फेरि लकडाउन हुँदै छ ?

नेपालमा १० माघ ०७६ मा पहिलोपटक कोभिड–१९ संक्रमण पुष्टि भयो । पहिलो केस फेला परेको दुई महिनापछि नेपालमा पहिलोपटक देशभर लकडाउन जारी गरियो । जुन १२० दिनसम्म रह्यो । अर्थात् ६ साउन २०७७ को मध्यरातबाट लकडाउन अन्त्य भयो । त्यो बेलासम्म कोरोना महामारी नियन्त्रणका लागि खासै कार्यक्रम हुन सकेको थिएन । आममानिसमा भने त्रास एकदमै बढिरहेको थियो । जसले गर्दा लकडाउन भनेपछि मानिसहरू घरबाहिर आउन समेत डराए र सरकारले नभनेसम्म भित्रै बस्न बाध्य भए । 

लकडाउन खुलेपछि जनजीवन सामान्य बन्न थाल्यो । मानिसहरू आफ्नै दैनिकीमा फर्किन थाले । अब त सामान्य बन्दै गएको धेरै समय टिक्न सकेन । फागुनदेखि फेरि कोरोनाको त्रास सुरु भयो । 

त्यो बेलासम्म कोरोना संक्रमणको नयाँ भेरियन्ट पत्ता लागिसकेको थियो । नयाँ भेरियन्ट डेल्टा निकै आक्रामक थियो । विगतमा देखिएको संक्रमणभन्दा निकै जटिल हुन थाल्यो । संक्रमितलाई अक्सिजनको कमी हुन थाल्यो । स्थिति भयावह बन्ने देखिएपछि १६ वैशाख ०७८ बाट विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरियो । संक्रमण पनि विस्तारै बढ्दै गयो भने निषेधाज्ञा पनि फैलिँदैं गयो । संक्रमण दिन–प्रतिदिन बढ्दै गएपछि ७५ जिल्लामा निषेधाज्ञा लगाइयो । जुन साउनसम्म रह्यो । 

दोस्रो चरणको निषेधाज्ञापछि भने जनजीवन एकदमै दयनीय अवस्थामा पुग्यो । मानिसहरू आफ्नो व्यापार व्यवसाय बन्द गर्न बाध्य भए । कतिपयले त आफूलाई सम्हाल्न नसकेर आत्महत्याको बाटो समेत रोजे । कोरोना महामारीका कारण नेपालीहरूले दुईपटक बन्दाबन्दीको भयावह अवस्थाको सामान गर्न पुगे । 

लामो समयको बन्दपछि मानिसहरू त्यसको अवज्ञा गर्न बाध्य हुन थाले । दोस्रो चरणको निषेधाज्ञापछि नेपालीहरूले आफ्नो जीवनमा तेस्रोपटक निषेधाज्ञा नआओस् भन्न चाहेका छन् । तर, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै फेरि त्रसित बन्न थालेका छन् । धेरैले फेरि निषेधाज्ञा हुने आकलन गरिरहेका छन् । तेस्रोपटक निषेधाज्ञाको सामना गर्नुभन्दा मर्नु नै बेस भन्नेहरूको पनि कमी छैन । त्यसैले आम नेपालीको भनाइ छ– कोरोना लागे पनि लड्छौँ,. निषेधाज्ञा नलागोस् । 

कोरोनाको तेस्रो भेरियन्ट नेपालमा पनि प्रवेश गरिसकेको छ । यस्तो अवस्थामा फेरि निषेधाज्ञा जारी हुन्छ कि ? भन्ने प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने तत्काल नहुने जानकारी दिएको छ । 



मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले लकडाउनबारे मन्त्रालयले केही नसोचेको बताए । ‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन्,’ डा. अधिकारीले भने, ‘यसको रोकथाम तथा नियन्त्रणका लागि हामीले अन्य उपाय अपनाउँछौँ । पहिलाको जसरी लकडाउन गर्नुपर्ने अवस्था छैन ।’

ओमिक्रोन भेरियन्ट नियन्त्रण तथा रोकथामका लागि निगरानी बढाउने, जनस्वास्थ्य मापदण्डको पालना गर्नेजस्ता उपायलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । 



‘ओमिक्रोनका लागि निगरानी बढाउन सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाउँछौँ । स्वास्थ्य मापदण्डको पालना सबैले गर्नुपर्छ,’ उनले भने, ‘खोप पनि लगाउने कार्यलाई थप सशक्त बनाएका छौँ । जसले गर्दा लकडाउन गर्नुपर्छ भन्ने केही योजना बनाएका छैनौँ ।’

नेपालमा पनि ओमिक्रोन देखिएपछि सामाजिक सञ्जालमार्फत धेरैले सरकारले अब लकडाउन गर्नसक्ने भन्दै चासो र चिन्ता व्यक्त भइरहेको छन् । लकडाउनबारे अहिलेसम्म कुनै निर्णय नगरेको र सकेसम्म लकडाउन गर्न नपरोस् भन्ने चाहना मन्त्रालयको रहेको उनको भनाइ छ । 

अहिले परीक्षण, निगरानी र खोप नै मन्त्रालयको प्राथमिकतामा रहेको उनले बताए ।
 
नेपालले चालेका प्रयास

ओमिक्रोन संक्रामण पुष्टि भएसँगै हङकङ, दक्षिण अफ्रिकासहित विभिन्न ९ मुलुकबाट नेपाल आउन रोक लगाइएको छ । ओमिक्रोन संक्रमण देखिएका देशहरूबाट नेपाल हुने हवाई उडानमा रोक लगाइएको हो । 

त्यस्तै, भारतबाट आउनेलाई सात दिन अनिवार्य क्वारेन्टिमा बस्नुपर्ने व्यवस्था गरिएको छ । सीमा नाकामा रहेका हेल्थ डेस्कलाई मन्त्रालयले हाई अलर्टमा राखिएको छ । नाकाबाट नेपाल आउनेहरूको एन्टिजेन परीक्षण भइरहेको छ । एन्टिजेन परीक्षणको क्रममा पोजिटिभ देखिएमा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले एक महिनादेखि एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएकाहरूको स्वाब संकलन गरेर थप अनुसन्धान भइरहेको बताए । 

‘सीमा नाकामा रहेका हेल्थ डेक्समा एन्टिजेन परीक्षणमा पोजिटभ देखिएको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने व्यवस्था मिलाएका छौैँ । प्रयोगशालामा जिन सिक्वेइन्स गरिन्छ,’ डा. पौडेलले भने । 

त्यस्तै, हवाईमार्ग हुँदै नेपाल आउनेहरूलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । ‘विमानस्थलमा पिसिआर परीक्षण हुन्छ । रिपोर्ट पोजिटभ आयो भने आइसोलेनसमा राखिन्छ । नेगेटिभ आयो भने तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने । 

खोप लगाएर आएकाहरूको हकमा भने आवश्यक विवरण राखेर होम क्वारेन्टिनमा बस्ने गरी छोड्ने गरिएको उनको भनाइ छ ।
त्यस्तै, अस्पताललाई समेत हाईअलर्ट अवस्थामा राखिएको छ । हरेक क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङको लागि व्यवस्था गर्न समेत निर्देशन दिइएको छ । मन्त्रालयले आफ्नोतर्फ सक्ने जति तयारी गरिरहेको उनको भनाइ छ । 

आमजनसमुदायले तोकिएको जनस्वास्थ्य मापदण्डको पालना गरिदिएको खण्डमा नयाँ भेरियन्टले खासै असर नगर्ने प्रवक्ता डा. पौडेलले बताए । 

‘धेरैजनाले खोप लगाइसकेका छौँ । त्यसमा पनि जोखिम समूहमा रहेका अधिकांशजसोले खोप लगाइसकेका छन् । यस्तो अवस्थामा आत्तिन हुँदैन, सावधानी अपनाउनुपर्छ,’ उनले भने । 

सीमा नाकाहरूमा होल्डिङ सेन्टर बनाउने काम पनि थालिएको छ । त्यस्तै, आवश्यक संख्यामा क्वारेन्टिनको पनि व्यवस्थापनको काम स्थानीय तहले गरिरहेको उनको भनाइ छ । ‘हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समितिहरू सक्रिय छन् । उनीहरूलाई आवश्यक सुझाब हामीले दिएका छौँ । त्यहीअनुसार काम गरिरहनुभएको छ,’ उनले भने । 

  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार २०:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया