अमेरिका–चीन तनावको बाछिटा युएईमाः अमेरिकासँगको अर्बौं डलरको खरिद छलफल निलम्बन

पछिल्ला वर्ष अमेरिका र चीनबीच बढ्दो तनावको असर अन्य देशमा देखिन थालेको छ । विश्वका दुई शक्तिशाली राष्ट्रबीच राजनीतिक तथा व्यापारिक तनाव बढ्दा अन्य देशलाई सकस पर्न थालेको हो । 

अमेरिका–चीनबीच बढ्दो तनावको असर पछिल्लो पटक खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई)मा देखिएको छ । 

दुई देशको टकरावबाट जोगिन युएईले अमेरिकासँग २३ अर्ब अमेरिकी डलरको फाइटर जेट खरिद गर्ने छलफल निलम्बन गरेको छ । 

अमेरिकाले तेलको समृद्ध राष्ट्र युएईलाई चीनको प्रविधि सिमित रुपमा मात्र प्रयोग गर्न दवाब दिएपछि युएईले अमेरिकासँग गरेको फाइटर जेट खरिद गर्ने छलफल निलम्बन गरेको हो । यसले अमेरिका र चीनबीच तनाव बढ्दा तेस्रो देश कसरी प्रभावित भएका छन् भन्ने स्पष्ट देखाएको छ । 

‘युएईले एफ–३५ फाइटर जेट खरिद गर्ने छलफल निलम्बन गरेको  जानकारी अमेरिकालाई दिएको छ,’ युएईका एक उच्च अधिकारीले भने । 

छलफललाई उपयुक्त समयमा अगाडी बढाइने समेत ती अधिकारीले जनाएका छन् । उनले थप स्पष्ट पारेका छन्, ‘सुरक्षा सामाग्री खरिदका विषयमा सम्झौता गर्ने बारे छलफल भइरहेको थियो । अहिले उक्त छलफल निलम्बन गरिएको छ । भविष्यमा पुनः छलफललाई अगाडी बढाउन सकिन्छ,’ उनले भने । 



छलफललाई सम्झौताको रुप दिन अमेरिका प्रतिबद्ध रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अगष्ट २०२० मा इजरायल र युएईबीचको कूटनीतिक सम्बन्धलाई सहज बनाउने सहमतिको आधार स्वरुप युएईसँग एफ–३५ जहाज खरिद गर्ने छलफल अघि बढेको अमेरिकाले स्पष्ट पारेको छ । 

मंगलबार पेन्टागनका प्रेस सचिव जोन किर्बीले युएईको चासो सम्बोधन गर्न अमेरिका तयार रहेको जनाएका थिए । 



‘युएईको साथ अमेरिकी साझेदारी हतियार बिक्रीभन्दा पनि बढी रणनीतिक र जटिल छ,’ किर्बीले भने । 

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले युएईका समकक्षी अबुधाबीका क्राउन प्रिन्स मोहम्मद बिन जायदसँग भेटवार्ता गरेको भोलिपल्ट युएईले अमेरिकासँग अर्बौंको रक्षा सामाग्री खरिद गर्ने छलफल निलम्बन गर्ने निर्णय गरेको हो । 

इजरायलका प्रधानमन्त्रीले खाडी राष्ट्रमा गरेको यो पहिलो औपचारिक भ्रमण थियो । 

अमेरिकाले बारम्बार युएईलाई चीनको हुवावे टेक्नोलोजी कम्पनीलाई आफ्नो दुरसञ्चार नेटवर्कबाट हटाउन दवाब दिंदै आएको थियो । चीनको प्रविधिले आफ्नो हतियार प्रणालीमा जोखिम बढाएको दाबी अमेरिकाले गरेको थियो ।

‘एफ–३५ फाइटर जेट अमेरिकाको ताज र शान हो । यस कारण हाम्रा सबै साझेदारको प्राविधिक सुरक्षा गर्नु हाम्रो दायित्व हो,’ अमेरिकी उपसहायक विदेशमन्त्री मीरा रेस्नीकले भनिन् । उनले युएईलाई हुवावे र एफ–३५ फाइटर जेटमध्ये एक रोज्न अनुरोध गरेको उनले स्वीकार गरेकी छन् । 

तर अमेरिकी भनाइमा भने युएई सहमत हुन सकेको छैन । उसले ‘नयाँ शीत युद्ध’मा नपर्ने स्पष्ट पारेको छ । 

‘हामी चीन र अमेरिकाबीच बढेको तीव्र प्रतिस्पर्धा र नयाँ शीत युद्धका कारण चिन्तित छौं । किनकी हामी जस्तो सानो देशमा यसको नकारात्मक असर पर्छ,’ युएई सरकारको कूटनीतिक सल्लाहकार अनवर गर्गशले गत साता भनेका थिए । 

गर्गशले अमेरिकाको अनुरोधमा एक चिनियाँ सेवा युएईमा बन्द गरिएको समेत जानकारी दिएका थिए जुन सुरक्षा क्षेत्रमा प्रयोग गरिएको थियो । उनले अमेरिकी र चिनियाँ दुवैको चासोलाई युएईले सम्बोधन गरेको समेत जनाए । 

(सिएनएनबाट साभार) 

  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १४:३२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया