logo-img

प्रदेश–२ मा ३३.२१ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

सरकारले पुस मसान्तसम्ममा देशभरका ६६ प्रतिशत र चैत मसान्तसम्म सम्पूर्ण नागरिकलाई पूर्ण खोप लगाउने लक्ष्य लिए पनि प्रदेश-२ मा भने लक्ष्य अनुरूप प्रगति हासिल गर्न सकेको छैन । स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेश-२ को आठवटै जिल्लामा अहिलेसम्म १३ लाख ८१ हजार ५९५ अर्थात् ३३ दशमलव २१ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

जसअनुसार सप्तरीमा १ लाख ६३ हजार १४ (३४ दशमलव ५४ प्रतिशत), सिराहामा १ लाख ५४ हजार ८९ (३३ प्रतिशत), धनुषामा १ लाख ८९ हजार २९४ (३३ दशमलव ८५), महोत्तरीमा १ लाख ४६ हजार ८६० (३१ दशमलव १३), सर्लाहीमा २ लाख १९ हजार ६५५ (३६ दशमलव ८६), रौतहटमा १ लाख ६५ हजार ८२७ (२९ दशमलव ४१), बारामा १ लाख ८३ हजार ३०४ (३३ दशमलव ११) र पर्सामा १ लाख ५९ हजार ५५२ (३३ दशमलव ४४) प्रतिशत नागरिकले मात्रै पूर्ण खोप लगाएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 

यो प्रदेशमा १८ वा सो भन्दा बढी उमेरका ४१ लाख ६० हजार ४२७ जनालाई कोरोना खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म १३ लाख ८१ हजार ५९५ जनाले मात्रै खोपको पूर्ण डोज लगाएका छन् । प्रदेशमा ३९.७० प्रतिशत अर्थात् १६ लाख ५१ हजार ६०७ जनाले पहिलो डोज लगाएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।

सर्लाहीमा सबैभन्दा बढी ३६.८६ प्रतिशत अर्थात् २ लाख १९ हजार ६५५ जनाले खोपको दुवै डोज लिएका छन् भने पहिलो डोज ४६.७० प्रतिशत अर्थात २ लाख ७८ हजार १३१ जनाले लगाएका छन् । सप्तरीमा लक्षित जनसंख्या ४ लाख ७१ हजार ९७७ रहेकोमा त्यसको ३४.५४ प्रतिशत अर्थात १ लाख ७३ हजार २६२ जनाले दुबै डोज लिएका छन् । पहिलो डोज ३६.७३ प्रतिशत अर्थात १ लाख ७३ हजार ३६३ जनाले लगाएका हुन् ।

धनुषामा ५ लाख ५९ हजार २५२ जना लक्षित जनसंख्या रहेकोमा त्यसको ३३.८५ प्रतिशत अर्थात १ लाख ८९ हजार २९४ जनाले दुवै डोज लिएका छन् भने ३८.९८ प्रतिशत अर्थात २ लाख १७ हजार ९९१ जनाले पहिलो डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्सामा लक्षित जनसंख्या ४ लाख ७७ हजार १२८ रहेकोमा १ लाख ५९ हजार ५५२ अर्थात ३३ दशमलव ४४ प्रतिशतले दुवै डोज र १ लाख ९६ हजार ७८९ जना अर्थात ४१ दशमलव २४ प्रतिशतले पहिलो डोज लगाएका छन् । 

बारामा ५ लाख ५३ हजार ६४६ लक्षित जनसंख्यामध्ये १ लाख ८३ हजार ३०४ अर्थात् ३३.११ प्रतिशतले दुबै डोज र २ लाख ३७ हजार ८५९ अर्थात ४२.९६ प्रतिशतले पहिलो डोज लगाएका छन् । 



सिराहामा ४ लाख ६६ हजार ९८९ जनालाई पूर्ण खोप लगाउने लक्ष्य राखिए पनि १ लाख ५४ हजार ८९ अर्थात् ३३ प्रतिशतले दुवै डोज र १ लाख ९४ हजार १८५ जना अर्थात् ४१.५८ प्रतिशत नागरिकले पहिलो डोज लगाएका छन् । 

महोत्तरीमा ४ लाख ७१ हजार ७०५ जना लक्षित जनसंख्या रहेकोमा त्यसको ३१.१३ प्रतिशत अर्थात् १ लाख ४६ हजार ८६० जनाले दुवै डोज लगाएका छन् भने ४३.५८ अर्थात २ लाख ५ हजार ५९१ जनाले पहिलो डोज मात्र लगाएको तथ्यांकमा उल्लेख छ ।



त्यस्तै, रौतहटमा ५ लाख ६३ हजार ७६४ लक्षित जनसंख्या रहेकोमा २९.४१ प्रतिशत अर्थात् १ लाख ६५ हजार ८२७ जनाले पूर्ण डोज लगाएका छन् भने २६.१६ प्रतिशत अर्थात १ लाख ४७ हजार ४७० जनाले पहिलो डोज लगाएका छन् ।

प्रदेश-२ मा हालसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसन र फाइजर लगायत ५ प्रकारका खोप लगाइएको छ । जोनसन एण्ड जोनसन खोप बाहेक अन्य सबै खोपको दुई डोज दिने गरिएको छ ।

निर्देशक झाले जिल्लाहरूमा कोरोनाविरुद्धको खोप अहिले पर्याप्त मात्रामा रहे पनि सर्वसाधारणले लगाउन नचाहेको बताए । ’कोरोना कहर हामीसामु अझैं बाँकी रहेको छ । नयाँ-नयाँ भेरियन्ट आइरहेका छन्,’ उनले भने, ‘तर, पनि ग्रामीण क्षेत्रमा कतिपय व्यक्ति खोप लगाउन डराइरहेका छन् ।’ 

मोडर्ना खोप अभियान सञ्चालन भएन

प्रदेश-२ मा मोडर्ना खोप अभियान सञ्चालन हुन सकेको छैन । सरकारले देशभरका ७७ मध्ये ५७ जिल्लाहरूमा एकसाथ मोडर्ना खोप अभियान सञ्चालन गरे पनि यस प्रदेशमा भने यो अभियान सञ्चालन हुन सकेको छैन् ।

पहिलो चरणमा प्रदेश २ का सिराहा, सर्लाही, महोत्तरी, रौतहट र बारा जिल्लामा पुस ४ देखि १४ गतेसम्म मोडर्ना खोप लगाउने समय निर्धारण गरिए पनि अभियान सञ्चालन हुन नसकेको निर्देशक झाले बताए ।

झाका अनुसार रौतहटमा १२ गतेदेखि, महोत्तरीमा ७, सिरहामा ५ देखि ८ र ११ देखि १४ गतेसम्म मोडर्ना खोप अभियान सञ्चालन हुनेछ । 

त्यस्तै, अन्य जिल्लामा समेत मोडर्ना खोप अभियानका लागि समय निर्धारण गरिएको छ भने सप्तरी, धनुषा र पर्सामा फाइजर खोप अभियान जारी रहेकाले मोडर्ना खोप अभियान सञ्चालन नहुने निर्देशक झाले बताए । 

  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १३:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया