logo-img

दुर्घटनामा घाइते दीपकले खोजे ‘इच्छा मृत्य’, प्रधानमन्त्रीलाई भेट्ने अन्तिम चाहना

तनहुँको म्याग्दे गाउँपालिका–७ का दीपकप्रसाद भण्डारी आफन्तको ब्रतबन्धमा गएर घर फर्किदै थिए । ५ फागुन २०६६ मा सार्वजनिक सवारी चढेर घर फर्किने क्रममा कोर्ते भन्ने ठाउँमा दुर्घटना भयो ।

दुर्घटनामा परेर उनले आफ्ना ससुरा र माइला ससुरा गुमाए । उनी आफैँ गम्भीर घाइते भए । घाँटीमा गहिरो चोट लागेका कारण उनको घाँटीभन्दा तल्लो भाग नचल्ने अवस्थामा पुग्यो । लामो समयको उपचार पश्चात उनी बाँच्न सफल त भए तर, दोस्रो व्यक्तिको सहारामा ।

यतिका वर्षसम्म आफ्नो जेनतेन आफ्नो जीविका चलाइरहेका थिए । उनको स्याहार सुसार गर्दै थिइन्, श्रीमती । श्रीमतीको काँधमा उनको मात्र नभएर छोरीको जिम्मेवारी पनि थियो । किराना पसलबाट जेनतेन जीविका चल्दै थियो । उसै पनि दैवले ठगेका दीपकमाथि गत वैशाखमा अर्को बज्रपात आइपर्यो ।

३ वैशाखमा जीविकोपार्जनको सहारा बनेको पसलमा आगो लाग्यो । आगो परेर श्रीमती घाइते भइन् । उनको उपचार भइरहेको छ । अब आफू र श्रीमती दुवै घाइते अवस्थामा छन् ।  

पूर्ण अपाङ्ग भएर पनि उनले यतिका वर्षसम्म राज्यको कुनै सहुलियत लिएनन् । किनकि श्रीमतीले जेजसो भए पनि जीविका चलाइरहेकी थिइन् । त्यही सहारा पनि चुँडिएपछि यतिबेला दीपक जीवनमरणको दोसाँध छन् ।

उनले नेपालमा कानुनी व्यवस्था नै नभएको ‘इच्छा मृत्यु’ रोजेका छन् । उनको रोजाइ पनि कसरी गलत भन्ने ? जीवन जिउने कुनै पनि आधार र माध्यम नभएपछि । एकातिर श्रीमती अस्पतालको शैय्याबाट बाटो हेरिरहन्छिन्, अर्कोतिर घरमा छोरी आमा-बुबाको सहारा खोजिहरन्छिन् । आफू भने अर्कैको सहारामा बस्नुपर्ने अवस्थामा छन् ।



घरपरिवारको सहारा नै नभए पनि उनले यो वर्ष राज्यसँग सहयोग मागे । अचेल दीपकले ठहर गरेको कुरा हो,– ‘सहयोग माग्ने बित्तिकै दिने सरकार कहाँ पो पाइन्छ र ? जति कराउँदा, जति चिच्याउँदा पनि राज्यले प्रदान गर्ने सेवा सुविधा दिन त या पहुँच हुनुपर्ने रहेछ, या त पैसाको खोलो बगाउनुपर्ने ।’

राज्यबाट अपाङ्गता भएका व्यक्तिहरूलाई दिनुपर्ने सेवा सुविधा पाएनन् । वडा कार्यालयले सिफारिस त गरिदिन्थ्यो । तर, गाउँपालिकाले विभिन्न वहाना बनाएर टारिदिन्थ्यो । कहीँ कतैबाट पनि आफ्नो जीवन जिउने आधार नदेखेका दीपकले ‘इच्छा मृत्यु’ आफ्नो अन्तिम विकल्प बनाएका छन् ।



उनले अहिले या त सुविधा होइन भने ‘इच्छा मृत्यु’ को विकल्प दिन सरकारसँग माग गरेका छन् । 'आफूले चौबिसै घण्टा दोस्रो व्यक्तिको सहारा लिनुपर्छ । अहिलेसम्म त जसोतसो भए पनि श्रीमतीले रेखदेख गर्दै आएकी थिइन् । अहिले उनी आफैँ मृत्युसँग संघर्ष गरिरहेकी छिन् । कुनै विकल्प नदेखेपछि म यस्तो अवस्थामा पुगेको छु,' दीपकले भने ।

अपाङ्गता भएपछि पनि उनले राज्यलाई तिर्नेपर्ने सबै प्रकारका कर राज्यलाई भुक्तान गर्दै आए । तर पनि उनले राज्यबाट पाउनुपर्ने कुनै पनि सेवासुविधा पाएनन् ।

आफ्नो अन्तिम इच्छा पूरा गरिदिन उनले एक पटक प्रधानमन्त्रीलाई भेट्ने चाहना राखेका छन् । जसका लागि उनले सामाजिक सञ्जालमार्फत नै प्रधानमन्त्रीलाई अपिल पनि गरेका छन् ।

उनले प्रधानमन्त्रीलाई भनेका छन्, 'प्रधानमन्त्रीज्यू तपाईंसँग एकपटक भेटी मेरो पीडाको अवस्था र आवश्यकताको यर्थातता तपाईंलाई तपाईकै आँखा अगाडि प्रत्यक्ष अवगत गराउन चाहन्छु ।'

आफू र आफूजस्ता कठिन परिस्थितिमा बाँच्न बाध्य पीडितहरूको हितलाई ध्यानमा राखी आवश्यक सेवासुविधाको समुचित प्रबन्ध मिलाउने विषयमा प्रत्यक्ष कुराकानी गर्न चाहेको उनले बताएका हुन् ।

प्रधानमन्त्रीसँग भेट भएमा ‘इच्छा मृत्यु’ को प्रावधान लागू गर्ने सहमति भएमा नेपालको इतिहासमा स्वेच्छिक मुत्युवरण गर्नेको सूचीमा पहिलो नाम आफ्नो लेखियोस् भन्ने चाहना रहेको उनको भनाइ छ ।

कति कतैबाट केही पनि विकल्प नभएपछि आफूले सामाजिक सञ्जालबाटै भए पनि प्रधानमन्त्रीसँग भेट गर्ने इच्छा व्यक्त गरेको उनले बताए ।

  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार २१:१०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया