logo-img

गाउँघरमा खोप अभाव, काठमाडौंमा भने स्टोरमै थन्कियो

मालिकार्जुन स्वास्थ्य चौकी दार्चुलाले चार सय डोज कोभिड- १९ विरुद्धको खोप मागेको थियो । मालिकार्जुन माध्यमिक विद्यालयमा रहेका बालबालिकालाई लगाउन खोप माग गरेको थियो ।

तर, मालिकार्जुन गाउँपालिकाको स्वास्थ्य शाखाबाट २७५ डोज मात्र खोप आयो । चार सय जना विद्यार्थीका लागि खोप मागेको थियो । बाँकी विद्यार्थीलाई अर्को चरणमा खोप लगाउने गरि अभियान सकिएको मालिकार्जुन स्वास्थ्य चौकीका प्रमुख तेज रावतले बताए ।

‘हामीले माग गरेको आधा कम खोप आयो । जति आएको थियो । त्यतिलाई नै लगायौँ । बाँकीलाई अर्को चरणमा लगाउँछौँ’ प्रमुख रावतले भने ।

सरकारले मागअनुसार खोप उपलब्ध गराउन सकेको छैन । यता काठमाडौंमा भने एक करोडभन्दा बढी डोज थन्किएको छ । एकातिर काठमाडौंमा खोप थन्किएको छ अर्कोतिर खोप लगाउने प्राथमिकता पनि काठमाडौंमै बढी छ ।

खोप वितरणमा समानता ल्याउन नसक्दा यस्तो समस्या देखिएको जनस्वास्थ्यविद्हरू बताउँछन् ।

खोपको असमान वितरण नेपालमा मात्र नभएर विश्वभर नै छ । धनी देशहरूले खोपको बुस्टर डोजसमेत लगाउँदै आएका छन् । इजरायलले त चौथो डोज पनि दिन थालेको छ । जबकि विश्व स्वास्थ्य संगठनले खोपको असमान वितरण हटाउनुपर्नेमा जोड दिइरहेको छ । तर, यस्तो खालको असमान वितरणको समस्या समाधान हुन सकिरहेको छैन ।



नेपालमा पनि अहिलेसम्म लगाएका मध्ये आधा जनसंख्या काठमाडौं उपत्यकाका छन् । काठमाडौं बाहिरको धेरै जनसंख्या खोप लगाउनबाट बञ्चित भइरहेको छ ।



कतिपय जिल्लामा नेताहरूको शक्ति र पहुँचको भरमा खोप अभियानलाई तीब्रता दिइएको छ । जस्तो कि आजदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिइन लागिएको थियो । अन्तिममा आएर सिरिन्ज नहुँदा स्थगित भयो ।

यो खोप काठमाडौं उपत्यकासहित विभिन्न ८ जिल्लामा लगाउन लागिएको थियो । जसमा काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेत लगायतका जिल्ला थिए । डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला हो ।

त्यस्तै, चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को जिल्ला हो । यसरी पहुँचको भरमा खोप अभियान आफ्नो जिल्लामा पार्ने गिरोह सक्रिय नै छ । जसले गर्दा खोप वितरणको असमानता हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गाह्रो हुने गरेको छ ।

काठमाडौं उपत्यकासहित विभिन्न खोप भण्डारण गृहमा खोप थन्किएर बसेको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले विभिन्न खोप भण्डारण केन्द्रमा खोप राखिएको बताए ।

हाल देशभरका खोप भण्डारण केन्द्रहरूमा १ करोड १८ लाख डोज भन्दा बढी खोप भण्डारणमा राखिएको डा. मरासिनीले बताए । 

प्रदेश १ मा ३ लाखभन्दा बढी डोज, प्रदेश २ मा १३ लाखभन्दा बढी डोज, बागमती प्रदेशमा ३ लाख २१ भन्दा बढी डोज खोप भण्डारणमा छ । त्यस्तै, बागमती प्रदेशअन्तर्गत टेकुमा पनि ३ लाख ९ हजार ९१८ डोज खोप भण्डारण छ ।

गण्डकीमा ५ लाख, लुम्बिनीमा ६ लाख, सुदूरपश्चिममा झण्डै साढे ४ लाख डोज खोप भण्डारण गरिएको छ । भने संघीय खोप भण्डारण केन्द्रमा ७८ लाख डोज खोप भण्डारण गरिएको छ ।

त्यसका लागि ८ वटा वाकिङ कुलर थप गरिएको छ । ८ वटामध्ये २ वटा टेकु, २ वटा पथलैयाको केन्द्रीय खोप भण्डारण केन्द्र, २ वटा हेटौँडा र २ वटा बुटवलमा व्यवस्थापन गरिएको छ ।

खोप भण्डारणका लागि युनिसेफले अल्ट्रा कोल्ड चेन फ्रिजर सहयोग गरेको थियो । जसमा फाइजर र मोडर्ना खोप राखिएको छ ।

थप खोप आउने क्रम जारी छ । जसमा नेपाल सरकारले आफैँले किनेको र कोभ्याक्स सुविधामार्फत अनुदानमा आउन लागेको छ । भण्डारणको लागि भेरोसेल खोपले बढि क्षेत्रफल ओगट्ने गरेको छ । तर, नेपालमा त्यही खोपको प्रयोग बढी छ ।

स्वास्थ्य सेवा विभागका खोप व्यवस्थापन शाखा प्रमुख सागर दाहालले आवश्यकताको आधारमा खोप वितरण भइरहेको बताए । ‘खोप सप्लाइमा केही समस्या भइरहेको छ । त्यो कमजोरी समाधान गर्दै अगाडि बढिरहेका छौँ,’ दाहालले भने ।

विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लाल कर्णले खोपबारे अनभिज्ञताका कारण दूरदराजका मानिससम्म खोप अभियान पुग्न नसकेको बताए ।

‘विकट क्षेत्रमा खोप पुर्याउन समस्या छ । ती क्षेत्रसम्म प्रयाप्त मात्रामा खोप लैजाने निकै गाह्रो छ । सबैभन्दा ठूलो कुरा तापक्रम मेन्टन गर्नु हो । त्यसमा हामी कमजोर छौं,’ कर्णले भने । 

ग्रामिण क्षेत्रका धेरै मानिसहरूमा खोप चेतनाको पनि अभाव रहेको उनको भनाइ छ । 

यसका लागि घरदैलो अभियान, घुम्ती सेवाका साथै आवातजावत हुने नाकामा गएर खोप अभियान चलाउनुपर्ने देखिएको उनको भनाइ छ ।

स्वास्थ्य सेवा विभागकी प्रवक्ता डा. संगिता मिश्राले हिजोबाट हरेक दिन ५ लाखभन्दा बढीलाई खोप लगाउने उद्देश्य रहेको बताइन् ।

‘हिजोबाट १५ दिनसम्म हामीले दैनिक ५ लाख बढीलाई खोप लगाउने लक्ष्य लिएका छौं,’ प्रवक्ता डा. मिश्राले भनिन् ।

आगामी चैतसम्म थप एक करोड डोज खोप आउने पाइपलाइनमा छ । अहिलेको खोपको व्यवस्थापन गर्न सकिएन भने नयाँ आउने खोप राख्न समस्या हुनेछ । त्यसका लागि नै खोप अभियानलाई तीब्रता दिइएको प्रवक्ता डा. मिश्राले बताइन् ।

  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार २०:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया