पत्रकारिताको लागि वर्ष २०२१ चुनौतिपूर्णः ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना

नेपाल पत्रकार महासंघले वर्ष २०२१ नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको बताएको छ ।

तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको महासंघले जनाएको छ । 

महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका ​ घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । 

६२ वटा घटनामा १९० जना पत्रकार पीडित भएको र ४ सञ्चारमाध्यम प्रभावित हुन पुगेको महासंघले जानकारी दिएको छ । 

‘यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुर्व्यवहारका घटना घटेका छन् भने पेशागत असुरक्षाका १० वटा घटना भएका छन्,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तै, कब्जा र अवरोधका १० वटा घटना भएका छन् भने पत्रकार आक्रमणका ५ वटा घटना भएका छन् ।’ 

यसैगरी पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको १ घटना भएको महासंघको अभिलेखमा छ ।



‘समग्रमा यो वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुर्व्यवहारलगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका छन् । भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले यस्तो समस्या बेहोर्नु परेको छ,’ महासंघले भनेको छ । 

विभिन्न समूहले गरेको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा प्रहरीको लाठी प्रहारबाट पत्रकारहरू घाइते हुन पुगेको समेत महासंघले जनाएको छ । 



यो वर्ष सार्वजनिक कार्यक्रमका समाचार संकलनमा पत्रकारलाई रोक लगाउने कामले निरन्तरता पाएको र संसद्, संसदीय समितिका बैठक, मन्त्रीहरूको सपथग्रहण वा विभिन्न राजनीतिक दलका महाधिवेशनलगायतमा पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध गरिने तथा रोक लगाउने गरिएको छ ।

यो वर्ष संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएको महासंघले जनाएको छ ।

संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई समेत चुनौती थपिदिएको निस्कर्ष महासंघको छ ।

  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १३:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया