logo-img

पालभित्र छोपिएको नेपाली रेल गुडाइयो, तर भारतीय डकुमेन्ट्री छायांकनका लागि

धनुषाको इनर्वा स्टेसनमा विगत डेढ वर्षदेखि पालभित्र छोपिएको नेपाली रेलको भारतीय डकुमेन्ट्री बनाउने उद्देश्यले छायांकनका लागि शनिबार गुडाइएको छ । 

पालभित्र छोपेर राखिएको नेपाली रेलको पुनः परीक्षण गरिएको बताइए पनि सो परीक्षण प्राविधिक चेकजाँचभन्दा पनि भारतको उत्तर प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनका लागि नेपालमा गरिएको सहयोगसम्बन्धी डकुमेन्ट्री छायांकनका लागि पाल बाहिर ल्याइएको स्रोतको दाबी छ । 

इनर्वादेखि खजुरी स्टेसन हुँदै कुर्थासम्म प्रत्येक हल्टमा रोकेर परीक्षणका लागि ल्याइएको भनिएको रेलको ट्रयाकदेखि स्टेसनसम्मको दृश्य छायांकन गरिएको थियो । भारतीय पदाधिकारीले डकुमेन्ट्री छायांकन समाचार प्रयोजन र प्रतिवेदन तयार पार्न गरिएको बताए । 

यता, रेल्वे ट्रयाक, इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल परीक्षणका लागि गुडाइएको रेल्वेका अधिकारीहरुले दाबी गरेका छन् । यसअघि भारतीय रेल्वे कम्पनी कोंकणबाट नेपाल सरकारले खरिद गरेको रेल २०७७ असोज २ गते नेपाली भूमिमा ल्याइएको दिन परीक्षण गरिएको थियो । 

कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए । त्यो दिन रेलको परीक्षण गरेर धनुषाको इनर्वामा पालभित्र छोपेर थन्क्याइएको थियो ।  

नेपाली रेलको ट्रयाक निर्माण भए पनि रेल नगुडेपछि रेल गुड्ने–नगुड्ने संशयका बीच तयारीस्वरुप परीक्षण गरिएको बताइएको छ । नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भइसकेको बताए । 



उनले भने,‘फेब्रुअरी १० तारिखभित्रै रेल गुडाउने हाम्रो तयारी छ, रेलको इन्जिनको अवस्था, रेल्वे ट्रयाकको अवस्था आदि परीक्षणका लागि आज गुडाइएको हो ।’ 

उनले रेल गुडाउने मिति सम्बन्धमा राजनीतिक स्तरबाटै निर्क्योल लाग्ने बताए । उनले दुई देशको राजनीतिज्ञबीच सहमतिपश्चात् निश्चित मिति तय हुने जानकारी दिए । दुई देशका प्रधानमन्त्रीले नै रेलको उद्घाटन गर्ने भएकोले समय लागिरहेको उनले स्पष्ट गरे । 



२६ जना भारतीय कर्मचारी

नेपालले खरिद गरेको आधुनिक रेल गुडाउनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले ६० जना जनशक्ति राखेको छ । यसअघि कम्पनीसँग १५१ जना जनशक्ति थियो । महाप्रबन्धक झाले न्यूनतम आवश्यक जनशक्ति ६० जनालाई राखेर रेल सञ्चालन गर्ने तयारीमा लागेको बताए । 
उनले भने, ‘म आएलगत्तै आर्थिक भार कम पर्ने हिसाबले १५१ जनामध्ये ६० जनालाई राख्ने निर्णय गरेको थिएँ ।’

नेपाली रेल गुडाउन तत्कालका लागि २६ जना भारतीय जनशक्ति रहने उनले जानकारी दिए । परीक्षणका लागि सोही २६ जनामध्ये १४ जना भारतीय जनशक्ति शनिबार नेपाल आइपुगेका हुन् । उनका अनुसार भारतीय कर्मचारीले नै नेपाली रेलको अवस्था जाँच गरेर इनर्वाबाट कुर्थासम्म गुडाएर ल्याएका हुन् । 

भारतको उत्तरप्रदेशमा विधानसभाको निर्वाचन हुन लागेको समयमा उत्तर प्रदेशका मतदातालाई प्रभावित पार्नका लागि भारतको सत्ताधारी दल भारतीय जनता पार्टीले आफ्नो उपलब्धि देखाउने उद्देश्यले डक्युमेन्ट्री बनाउन लागेको स्रोतले जनाएको छ । 

तर, महाप्रबन्धक झाले यो हल्ला निराधार रहेको दाबी गरे । झाले भने, ‘यो नेपाली रेल हो । हामीले रेल सञ्चालनको अन्तिम तयारीको उद्देश्यले मात्रै अवस्था बुझ्न परीक्षणका लागि गुडाएका हौँ ।’ 

यद्यपि, इनर्वाबाटै एक डकुमेन्ट्री निर्माण कम्पनीको क्यामराम्यान भारतीय अधिकारीहरुको साथमा जनकपुरधाम रेलमा सवार भई आएका थिए ।  

स्थानीयको अवरोध 

रेललाई इनर्वाबाट भारतीय कर्मचारीहरु बिएन राय र पिटर साहबले गुडाएर जनकपुरधामको कुर्थासम्म ल्याएका थिए । राय चालक हुन् भने पिटर लोको इन्सपेक्टर । रेलको अवस्था राम्रै रहेको र ट्रयाक पनि कन्डिसनमै रहेको चालक रायले बताए । रायले भने, ‘यो अत्याधुनिक रेल हो, यसमा समस्या चाँडै आउँदैन, रेलको अवस्था एकदम राम्रो छ ।’

उनका अनुसार रेल गुडाउन समस्या नभए पनि सर्वसाधारणको चापले समस्या सिर्जना गरिरहेको गुनासो गरे । जसका कारण रेललाई गतिमा गुडाउन सक्ने स्थिति नरहेको उनले बताए । 
रायले भने, ‘रेललाई गतिमा गुडाउन समस्या भइरहेको छ, किनभने सर्वसाधारण ट्रयाकमा आइहाल्छन्, हर्न नदिएसम्म हट्दैनन् ।’ 

यो समस्या समाधान भए यसभन्दा बढी गतिमा गुडाउन नसकिने उनले बताए । १६०० एचपी डेमुको यस रेलको अगाडि–पछाडि दुवैतर्फ इन्जिन रहेको बताइएको छ । 

रेलको अवस्था 

विगत लामो समयदेखि रेल सञ्चालन हुन नसक्दा कैयौँपटक ट्रयाकको क्लिप समेत चोरी भइसकेको छ । त्रिपालभित्र छोपिएकाले बग्गीहरुको केही ठाउँमा रंगसमेत उखेलिन थालेको छ भने भित्रका सिटका कपडाहरु समेत फाट्न थालेका छन् । 

नेपाल सरकारले कानुन निर्माण र कर्मचारी व्यवस्थापन गर्न नसक्दा रेल कहिलेदेखि चल्ने भन्ने निश्चित भएको छैन ।

  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १९:१२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया