बढ्दो कोरोना संक्रमणलाई लिएर यस्ता छन् सरकारले गरेका निर्णय
फाइल तस्वीर

सरकारले नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरेको छ ।

आइतबार नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरिएको जानकारी दिएका हुन् । जसअनुसार सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप आगामी माघ मसान्तसम्म सञ्चालन गर्न पाइनेछैन ।

त्यसैगरी गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट मात्रै गर्नुपर्नेछ । त्यस्तै भौतिक रूपमा उपस्थित भइ गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी एन्टिजिन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्रै सहभागी रहने गरी सञ्चालन गर्ने निर्णय गरिएको छ भने त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ ७ गतेबाट खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुनेगरी कार्यक्रम गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

सरकारले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पूल, फुटसल, पटके हाटबजार र मानिसहरुको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ साल माघ १५ गतेसम्म सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।

विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ १५ गतेसम्म भौतिक रूपमा सञ्चालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाइ सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय पनि सरकारले गरेको मन्त्री कार्कीले बताए ।

तर, यसबीचमा पनि विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षा परीक्षा तथा सबै किसिमका प्रयोगात्मक कक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने छन् ।



प्रवक्ता कार्कीले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ साल माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउने र सपिङ मल, डिपार्टमेण्ट स्टोर वा अन्य प्रकारका पसलमा एक पटकमा २५ जनाभन्दा बढी भेला हुन नदिने निर्णय गरिएको बताए ।

उनले पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक तिहाई नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्डको पालना गर्ने गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिइ विवाह, व्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न पाइने बताए ।



प्रवक्ता कार्कीले रंगशालामा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एक पटकमा कूल क्षमताको एक तिहाई मात्र रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी सञ्चालन गर्ने र उपस्थित दर्शकमध्ये आयोजकको खर्चमा एक तिहाई दर्शकलाई रेण्डम छनोटको आधारमा एन्टिजिन परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने बताए ।

उनले २०७८ माघ ७ गते पश्चात् त्यस्तो खेलकुदका कार्यक्रम खोपको मात्रा पूरा गरेका व्यक्तिहरुलाई मात्र खोप कार्डको आधारमा रंगशालामा प्रवेश गर्न दिने निर्णय भएकोसमेत बताए ।

  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १७:३३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया