महोत्तरीमा पाँच दिनमा लाखौँ रकम बरामद, नक्कली नोट कारोबार गर्ने गिरोह सक्रिय

विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको लाखौँ रकमसहित पाँचजना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब तीन लाख नक्कली नोट बनाउने कागजसहित पाँचजनालाई पक्राउ गरिएको हो । 

प्रहरीले गत माघ ३ गतेका दिन जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट मटिहानी नपा–३ बस्ने २३ वर्षीय सहाउद्दिन राइनलाई स्रोत नखुलेको ३० लाखसहित पक्राउ गरेको थियो । 

त्यस्तै सोही दिन जलेश्वर नपा–३ स्थित जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वरअगाडि भारतबाट आएका धनुषा जिल्लाको जनकपुर उमनपा–६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मीनिया गापा–१ बस्ने २३ वर्षीय असरफ मोहम्मदलाई चार हजार २०० र करिब तीन लाख बराबरको रु ५०० र रु १०० का नक्कली नोट बनाउने कागजसहित प्रहरीले पक्राउ गरेको थियो ।

त्यसैगरी, माघ ६ गते मटिहानी नपा–३ स्थित पेट्रोलपम्प अगाडिबाट प्रहरीले दुई हजार नेपाली नक्कली नोटसहित भारतको विहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हालाई पक्राउ गरेको थियो  । 

७ गते जलेश्वरको मुख्य भन्सार कार्यालय अगाडिबाट प्रहरीले भारतबाट नेपाल आउँदै गरेका भारत विहार राज्यको सीतामढी जिल्लाको सुरसण्ड सहर बस्ने ३९ वर्षीय उदयकुमार साहलाई स्रोत नखुलेको नौ लाख ९६ हजार ४०० भारतीय रुपैयाँ र नौ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको भारतका विभिन्न बैंकको चेकसहित पक्राउ गरेको थियो ।



महोत्तरीमा करिब ३८ किमी नेपाल भारतको खुला सिमानाका कारण अवैध रुपमा स्रोत नखुलेको रकम, नक्कली नोटका साथै नक्कली नोट बनाउने तथा कारोबार गर्ने गिरोह सक्रिय रहेका छन् ।



  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १९:५८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया