नेपाललाई युरोपेली उडान सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह, राजदूत डिप्रेले भनिन्- सकारात्मक प्रयास गर्छु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघको उडान सुरक्षा सूचीबाट हटाउन आग्रह गरेका छन् । नेपालका लागि इयूका राजदूत नोना डिप्रेसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री आलेले उक्त अनुरोध गरेका हुन् । 

नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न र उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको भन्दै उनले नागरिक उड्डयन क्षेत्रका अलावा संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि इयूसँग नेपालले सहकार्य गर्न चाहेको धारणा राखेका थिए । 

सो अवसरमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि इयूको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन दिइन् ।

इयूले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिँदै उनले नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग अलग निकाय स्थापनाका लागि लागि पनि नेपाललाई आग्रह गरिन् ।

हालसम्म उडान सुरक्षा क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै राजदूत डिप्रेले भनिन्, ‘हवाई सुरक्षा क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ, मेरा तर्फबाट म सकारात्मक प्रयास गर्छु ।’





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार २१:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया