इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै चर्चित फ्रेन्चाइज टि-२० लिग हो । सन् २००८ देखि सुरु भएको आइपिएलको १५ औं सिजनका लागि यही १२-१३ फेब्रुअरीमा मेगा अक्सन हुँदैछ ।
यसपटक लिग केही खास छ किनकि उपाधिका लागि ८ टोली नभएर १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । यो सिजनदेखि थपिएका टोली हुन्- लखनउ सुपर जायन्ट र अहमदाबाद टाइटन्स ।
लिगमा सहभागी १० मध्ये ७ टोलीले आफ्नो कप्तान पनि चुनिसकेका छन् भने तीन टोलीले मेगा अक्सनपछि आफ्नो कप्तान सार्वजनिक गर्नेछन् ।
यहाँ हालसम्म टोली र कप्तानको बारेमा छोटो जानकारी दिने प्रयास गर्नेछाैँ ।
मुम्बई इन्डियन्स : कप्तान- राेहित शर्मा
मुम्बई लिगको सर्वाधिक सफल टोली हो । उसले हालसम्म पाँचपटक आइपिएलको ट्रफी उचाली सकेको छ । मुम्बईले पाँचवटै उपाधि रोहित शर्माको कप्तानीमा जितेको हो । टोलीले यो संस्करणका पनि रोहितलाई नै कप्तानी जिम्मेवारी दिएको छ ।
रोहित सन् २०१३ मा रिक्की पोन्टिङको स्थानमा मुम्बईको कप्तान बनेका थिए । उनले त्यसयता नौ सिजनमा टोलीको नेतृत्व गर्दा पाँच उपाधि हात पारेका हुन् ।
मुम्बईले शर्माको नेतृत्वमा खेलेको पाँचवटै फाइनल जितेको छ । उसले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० को उपाधि जितेको हाे ।
रोहित नेतृत्वमा आउनुअघि मुम्बईले सन् २०१० र २०११ को फाइनलमा भने हार बेहोरेको थियो। राेहितकाे कप्तानीमा टोलीले १२९ खेल खेल्दा ७५ जित र ५० हारको नतिजा निकालेको छ । ४ खेल बिना नतिजा टुंगिएकाे थियाे ।
मुम्बईले रोहित १६, जसप्रित बुमरा १२, सूर्यकुमार यादव ८ र किरोन पोलार्डलाई ६ करोड भारुमा राखेकाे छ । मुम्बईले मेगा अक्सनमा ४८ करोड खर्च गरेर २१ खेलाडी भित्र्याउन पाउनेछ । जसमा १४ स्वदेशी र ७ विदेशी हुनेछन् ।
चेन्नई सुपर किंग्स : कप्तान- महेन्द्रसिंह धोनी
चेन्नई आइपिएलको साविक विजेता टोली हो । उसले हालसम्म ४ पटक लिग उपाधि उचाली सकेको छ ।
प्रतिबन्धका कारण चेन्नईले सन् २०१६ र १७ को सिजन गुमाएका थियो । त्यसबाहेक अन्य सिजनमा टोलीको कप्तानी महेन्द्रेसिंह धोनीले गर्दै आएका छन् । यो सिजन पनि त्यसले निरन्तरता पाउने भएको छ ।
धोनीको कप्तानीमा चेन्नई सन् २०१०, २०११, २०१८ र २०२१ मा आइपिएल जित्दा २००८, २०१२, २०१३, २०१५ र २०१९ को फाइनलमा पराजित भएको थियो ।
त्यस्तै, चेन्नई प्रतिबन्धमा परेको बेला धोनीको नेतृत्वमा खेलेका राइजिङ पुणे सुपरजायन्टले सन् २०१७ को फाइनल खेलेको थियो ।
धोनीको कप्तानीमा चेन्नईले २१३ खेल खेल्दा १३० जित र ८१ हारको नतिजा निकालेको छ । दुई खेल बिना नतिजा टुंगिएकाे थियाे ।
टोलीले धोनी १२, रविन्द्र जडेजा १६, मोइन अली ८ र ऋतुराज गायकवडलाई ६ कराेड भारुमा राखेकाे छ ।
चेन्नईले पनि मेगा अक्सनमा ४८ करोड भारुमा २१ खेलाडी अनुवन्ध गर्न पाउनेछ । जसमा १४ स्वदेशी र ७ विदेशी हुनेछन् । उपाधि रक्षा गर्ने अभियामा रहेको चेन्नईले कस्ता खेलाडी अनुवन्ध गर्ला त्यो हेर्न लायक हुनेछ ।
कोलकाता नाइट राइडर्स :
दुईपटक उपाधि जितेको कोलकाताले यो सिजनका लागि भने आफ्नो कप्तान तोकेको छैन । टोलीले सन् २०१२ र २०१४ मा उपाधि उचाल्दा अघिल्लो संस्करणको फाइनलमा पराजय बेहोरेको हाे ।
कोलकाताले आन्द्रे रसेल १२, वरुण चक्रवर्ती ८, वैंकटेश अय्यर ८ र सुनिल नारायणलाई ६ करोड भारुमा राखेकाे छ ।
कोलाकाताले मेगा अक्सनमा ४८ करोड भारु खर्च गरेर २१ खेलाडी भित्र्याउन पाउनेछ । जसमा १५ स्वदेशी र ६ विदेशी हुनेछन् । यही अक्सनबाट उसले आफ्नो कप्तान खरिद गर्ने सम्भावना छ ।
सन् २०१४ पछि आएपिएल उपाधि उचाल्ने लक्ष्यमा रहेका कोलकाता यो सिजन आफ्नो टोली बलियो बनाउने प्रयासमा हुनेछ ।
राजस्थान रोयल्स :कप्तान सञ्जु सामसन
सन् २००८ को पहिलो संस्करण जितेयता राजस्थानको प्रदर्शन खासै सम्झन लायक छैन । यो सिजन टोलीको नेतृत्व सञ्जु सामसनले नै गर्नेछन् ।
सञ्जुले गत संस्करणदेखि कप्तानी जिम्मेवारी पाएका हुन् । उनको कप्तानीमा राजस्थान गत संस्करण सातौं स्थानमा रह्यो । सञ्जुको कप्तानीमा राजस्थानले १४ खेल खेल्दा ५ जित र ९ हारेको नतिजा निकालेको थियो ।
टोलीले सञ्जु समासन १४, जोस बट्लर १० र यशस्वी जयसवाललाई ४ करोड भारुमा राखेकाे छ । राजस्थानले मेगा अक्सनमा ६२ करोड भारुमा २२ खेलाडी भित्र्याउन पाउनेछ । जसमा १५ स्वदेशी र ७ विदेशी हुनेछन् ।
सनराइजर्स हैदराबाद : कप्तान केन विलियमसन
सन् २०१६ को आइपिएल विजेता सनराइजर्स हैदराबादले यो सिजनमा पनि केन विलियमसनको कप्तानीमा खेल्नेछ ।
गत संस्करणमा टोलीले सबैभन्दा खराब प्रदर्शन गरेको थियो । उसले १४ खेलमा मात्र ३ जित निकाल्दा ११ मा हार बेहाेर्याे । विलियमसनको कप्तानीमा हैदराबादले ३३ खेल खेल्दा समान १६ जित र हारको नतिजा निकाल्दा एक खेल बिना नतिजा टुङ्गिएको छ ।
हैदराबादले केन विलियमसन १४ तथा अब्दुल समाद र उमरन मलिकलाई ४-४ करोड भारुमा राखेकाे छ । टोलीले मेगा अक्सनमा ६८ कराेड भारु खर्चेर २२ खेलाडी भित्र्याउन पाउनेछ। जसमा १५ स्वदेशी र ७ विदेशी हुनेछन् ।
रोयल च्यालेन्जर्स बैंग्लोर :
हालसम्म उपाधि जित्न नसकेको बैंग्लोर यो सिजनका लागि भने आफ्नो कप्तान तोकेको छैन । टोलीले सन् २००९, २०११ र २०१६ को फाइनलमा पराजय बेहोरेको छ।
नियमित कप्तान विराट कोहलीले पद छाडेपछि कप्तानविहीन बनेको बैंग्लोर कोहली १५, ग्लेन म्याक्सवेल ११ र मोहम्मद सिराजलाई ७ करोड भारुमा राखेकाे छ ।
बैंग्लाेरले मेगा अक्सनमा ५७ करोड भारु खर्च गरेर २२ खेलाडी भित्र्याउन पाउनेछ । जसमा १५ स्वदेशी र ७ विदेशी हुनेछन् । टोलीको कप्तानी ग्लेन म्याक्वेलले पाउने सम्भावना रहे पनि बैंग्लोरले मेगा अक्सनपछि आफ्नो कप्तानको टुङ्गो लगाउनेछ ।
दिल्ली क्यापिटल्स :कप्तान ऋषभ पन्त
आइपिएलको उपाधि हाल पार्न नसकेको दिल्लीले यो सिजनमा पनि ऋषभ पन्तको कप्तानीमा खेल्नेछ ।
अघिल्लो संस्करणदेखि टोलीको कप्तानी जिम्मेवारी पाएको पन्तले दिल्लीलाई प्ले अफसम्म पुर्याएका थिए । उनको कप्तानीमा टोलीले १६ खेल खेल्दा ९ जित र ६ हारको नतिजा निकालेको छ । एक खेल बिना नतिजा टुंगिएकाे थियाे ।
दिल्लीले ऋषभ पन्त १६, अक्षर पटेल ९, पृथ्वी श ७.५ र एनरिक नोत्जेलाई ६.५ करोड भारुमा राखेकाे छ । टोलीले मेगा अक्सनमा ४७.५० करोड भारु खर्चिदै २१ खेलाडी अनुवन्ध गर्न पाउनेछ । जसमा १४ स्वदेशी र ७ विदेशी हुनेछन् ।
पञ्जाब किंग्स:
अघिल्लो संस्करण कप्तानी गरेका केएल राहुलले टोली छाडेपछि पञ्जाब कप्तानविहीन छ ।पञ्जाबले हालसम्म मात्र १ पटक सन् २०१४ मा आइपिएल फाइनल खेलेको थियो ।
पञ्जाबले मायंक अग्रवाल १२ करोड, अर्शदीप सिंहलाई ४ करोड भारुमा राखेकाे छ । मेगा अक्सनमा उसले ७२ करोड भारुमा २३ खेलाडीलाई भित्र्याउन पाउनेछ । जसमा १५ स्वदेशी र ८ विदेशी खेलाडी हुनेछन् ।
अक्सनका लागि प्रशस्त रकम रहेकाले पञ्जाबले राम्रा खेलाडीलाई टोलीमा ल्याउने प्रयास गर्नेछ । त्यसैले अक्सनबाट आउने खेलाडीले कप्तानको जिम्मेवारी पाउन सक्छन् ।
लखनउ सुरपर जायन्ट : कप्तान केएल राहुल
अघिल्लो संस्करण पञ्जाब किंग्सको कप्तानी गरेका केएल राहुलले यसपटक नव आगन्तुक टोली लखनउको नेतृत्व गर्ने भएका छन् ।
अघिल्लो संस्करण उनको कप्तानीमा पञ्जाबले छैटौं स्थान हासिल गरेको थियो । राहुलले कप्तानी गरेका २७ खेलमध्ये १३ मा जित तथा १४ मा हारको नतिजा निस्किएको छ ।
टोलीले राहुल १७ करोड, माकर्स स्टोनिस ९.२ र रवि विश्नोईलाई ४ करोड भारुमा राखेकाे छ । लखनउले मेगा अक्सनमा ५९ करोड भारुमा २२ खेलाडी अनुवन्ध गर्न पाउनेछ । जसमा १५ स्वदेशी र ७ विदेशी हुनछन् ।
अहमदाबाद टाइटन्स : कप्तान हार्दिक पाण्डेय
पहिलोपटक आइपिएलमा सहभागिता जनाउन लागेको अहमदाबादले हार्दिक पाण्डेयलाई कप्तानी जिम्मेवारी सुम्पिएको छ ।
अघिल्लो संस्करणसम्म मुम्बई इन्डियन्सबाट खेलिरहेका पाण्डेयले पहिलोपटक आइपिएलमा कप्तानी गर्दैछन् ।
टोलीले पाण्डेय र राशिद खानलाई १५-१५ तथा शुभमन गिललाई ८ करोड भारुमा रिटेन गरेको छ ।
अहमदाबादले मेगा अक्सनमा ५२ करोड भारुमा २२ खेलाडी भित्र्याउन पाउनेछ । जसमा १५ स्वदेशी र ७ विदेशी खेलाडी हुनेछन् ।
-दैनिक भास्करबाट
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।