हिमपातपछि साइपाल गाउँपालिकामा खाद्यान्न अभाव

बझाङ जिल्लाको सबैभन्दा दुर्गम हिमाली गाउँपालिकाको रूपमा रहेको साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । माघ महिनाको १९ गते रातिदेखि तीन दिनसम्म लगातार भएको हिमपातका कारण साइपालमा खाद्यान्न अभाव भएको हाे ।

काँडामा रहेको खाद्य संस्थानको डिपोमा पनि खाद्यान्न नभएपछि अहिले साइपाल गाउँपालिकाको तीनवटा वडाका झण्डै तीन सय परिवार खाद्य संंकटमा परेको साइपाल गाउँपालिका- ३ का स्थानीय उज्वल बोहराले बताए ।

गाउँपालिकाको वडा नम्बर ५ न्युना र बलौढीका १३६ परिवारमध्ये ११५ परिवार, वडा नं. ४ धुलीका ५२ परिवार र वडा नं. ३ काँडाका १४० परिवार मध्ये १२१ परिवार गरी २६१ परिवार खाद्य संकटमा परेका छन् । 

अघिल्लो हप्ता हिमपात भएपछि साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था आएको स्थानीय  बोहराकाे भनाइ छ । 

साइपाल गाउँपालिकामा अहिले ४ फिटभन्दा बढी हिउँ जमेको छ । एक गाउँबाट अर्काे गाउँ जान पनि समस्या भएका कारण गाउँपालिकामा खाद्यान्न अभाव भएको साइपाल गाउँपालिका उपाध्यक्ष कल्पना बोहराले बताइन् । 

उनले भनिन्, ‘गाउँपालिकामा भोकमरी हुने अवस्था सिर्जना भएको छ । गाउँपालिकाका तीनवटा वडामा चरम खाद्यान्न अभाव भएको र अन्य दुईवटा वडामा पनि खाद्यान्न अभाव भएको छ । सरकारले साइपालवासीका लागी हेलिकप्टरमार्फत् भए पनि खाद्यान्न ढुवानी गर्न आवश्यक रहेको छ ।’



साइपाल गाउँपालिकामा नै खाद्य संस्थानको डिपो रहेको भए पनि उक्त डिपोमा समेत खाद्यान्न अभाव रहेको छ । पुस महिनामा दुई फिटभन्दा बढी हिउँ जमेपछि वडा नं. २ मा खाद्यान्न अभाव भएको कारण डिपोको चामल वितरण गरिएको थियो । 

डिपोको चामल सकिएपछि त्यसयता साइपाल गाउँपालिकामा चामल ढुवानी हुन सकेकाे छैन ।  



फेरि माघ महिनाको तेस्रो साता भएको हिमपातले झनै समस्या भएको साइपाल गाउँपालिकाका घुरन बोहराले बताए ।

‘एक साताभित्र चामल ढुवानी नभएको खण्डमा साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था सिर्जना हुन्छ’, उनले भने ।

गाउँपालिकाले खाद्यान्न अभाव भएको भए पालिकाबाटै भए पनि ढुवानी गर्नु पर्ने हो, तर कुनै चासो नदिएको साइपाल गाउँपालिका वडा नं. ३ का शेर बहादुर बोहराकाे आराेप छ ।

उनले भने, ‘गाउँपालिकाले विपदको बेला स्थानीयहरूलाई राहत दिनका लागी ठूलो रकम छुट्याउनु पर्ने भए पनि गाउँपालिकाले ध्यान नदिँदा समस्या भएको हो ।’ 

साइपाल गाउँपालिकामा चामल ढुवानीका लागी भन्दै ४ लाख रुपैयाँ पुष महिनामा नै ठेकेदारलाई बुझाएको भए पनि ठेकेदारले कुनै चासो नदिएको साइपाल गाउँपालिकाका स्थानीयले बताएका छन् । 

४ दिनदेखि हिउँ जमेको बाटोमा पैदल हिँडेर चैनपुर पुगेका बिर्ख बोहराले भने, ‘चामलका लागि पैसा दिएको महिना दिनभन्दा बढी भइसकेको भए पनि गाउँमा चामल पुगेको छैन । गाउँमा खानलाई चामल छैन । जनप्रतिनिधिहरूले पनि कुनै चासो दिएका छैनन् ।’ 

जिल्ला सदरमुकाम चैनपुरदेखि ४ दिनको पैदल हिँडेपछि मात्र साइपाल गाउँपालिका पुगिन्छ । सडकसञ्जालसँग नजोडिएका कारण साइपाल गाउँपालिकामा खाद्यान्न अभावको समस्या बेला बेला हुने गरेको छ ।

यता चामल ढुवानीका लागि जिम्मा लिएका जयपृथ्वी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दल बहादुर विष्टले साइपाल गाउँपालिकामा खाद्यान्न ढुवानी भइसकेको दाबी गरेका छन् । 

साइपाल गाउँपालिकामा यातायात सञ्जाल नभएका कारण भेडाबाख्राबाट चामल ढुवानी गरिसकेको उनले बताए । 

‘गाउँपालिकाकाे सबै गाउँका लागि चामल ढुवानी भइरहेको छ । केही स्थानमा चामल पुगिसकेको र केही गाउँका लागि चामल ढुवानी भइरहेको छ । केही दिनमा साइपाल गाउँपालिकाको सबै क्षेत्रमा चामल पुग्ने छ’, उनले भने ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साइपाल गाउँपालिकाका लागि सदरमुकाम चैनपुरबाट चामल ढुवानी भइसकेको छ । बिहीवार मात्र साइपाल गाउँपालिकाको वडा नं. ४ धुलीमा १० बोरा, र लासीका लागि २८ बोरा चामल गाउँ पुगेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । 

उनले भने, ‘दुइ सयभन्दा धेरै परिवारलाई खाद्यान्न अभाव भएको भन्ने जानकारी आएको छ । तर, यति चामलले पर्याप्त भने हुँदैन । आवश्यक चामल ढुवानीको क्रममा रहेको छ । शुक्रवार मात्र जिल्ला सदरमुकाम चैनपुरबाट ९ क्विन्टल चामल साइपाल पठाइएको छ ।’

यता, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भने साइपाल गाउँपालिकामा खाद्यान्न उपलब्ध गराउनका लागि पहल भइरहेको बताएका छन् । 

गाउँपालिकाले पनि खाद्यान्न अभाव भएको भन्ने जानकारी गराएको र खाद्य संस्थानबाट पनि खाद्यान्न अभाव रहेको जानकारी आएका कारण चामल ढुवानीका लागी प्रदेश र केन्द्रमा परिपत्र गरिसकेको जिकिर गरे ।

‘केही दिनमा नै साइपाल गाउँपालिकामा चामल पुग्छ । तर, हालसम्म गृह मन्त्रालयले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । हेलिकप्टरमार्फत् साइपाल गाउँपालिकामा चामल ढुवानीका लागी पहल भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १४:४३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया