logo-img

बालविवाहमुक्त प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्य विफल

बागमती प्रदेशलाई ०७८ सालभित्र बालविवाहमुक्त गर्ने प्रदेश सरकारको लक्ष्य थियो । तर, उचित गृहकार्यको अभावका कारण यो वर्ष बालविवाहमुक्त प्रदेश घोषणा हुन नसक्ने निश्चितजस्तै बनेको  छ । 

बालविवाह मुक्त प्रदेशको घोषणा गर्र्ने लक्ष्यमा रहेको प्रदेश सरकारको यो योजना पूरा हुनको लागि प्रदेशको १ सय १९ वटै स्थानीयतहमा सर्वप्रथम बालमैत्री पालिका घोषणा हुन आवश्यक हुन्छ । तर, हालसम्म प्रदेशभर जम्मा ४ वटा स्थानीय निकाय मात्रै बालमैत्री पालिका घोषणा हुन सकेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्यांक छ । 

बालविवाह रोक्न सरोकारवाला निकायले प्रयास गरिरहे पनि मकवानपुरमा बालविवाह नियन्त्रण हुन सकेको छैन । बालविवाहका घटनामा अझै पनि कमी आएको छैन । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्यांकअनुसार मकवानपुर जिल्ला बालबिवाह धेरै हुनेमा पाँचौँ स्थानमा रहेको पाइएको छ ।
कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी तथा निषेधाज्ञाको समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्यांकले देखाएको छ । बागमती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक वर्षको अवधिमा बालविवाहको संख्यामा खासै कमी नआएको पाइएको हो । 

यता, कम उमेरमा आमा भएका तथ्यांकले पनि बालविवाहका घटनामा उल्लेखनीय सुधार नआएको संकेत गरिरहेको पाइन्छ । 
सबैभन्दा बढी धादिङमा ६२.९ प्रतिशत, नुवाकोटमा ६२.५ प्रतिशत, सिन्धुलीमा ६२.५ प्रतिशत, सिन्धुपाल्चोकमा ६०.९२ प्रतिशत र मकवानपुरमा ५९.७ प्रतिशत बालविवाह भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

बागमती प्रदेशको काठमाडौँ जिल्लामा भने सबैभन्दा कम ३९.११ प्रतिशत बालविवाह भएको उल्लेख छ । बालविवाह मात्र होइन, किशोरी अवस्थामै आमा बन्नेको संख्या पनि उत्तिकै रहेको मन्त्रालयले जनाएको छ ।
 
२० वर्ष नपुग्दै विवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि बालविवाह घटनामा खासै कमी आउन सकेको छैन । सबै क्षेत्रमा प्रभावकारी रूपमा जनचेतना पुग्न नसक्दा अपेक्षाअनुसार बालविवाहका घटनामा कमी आउन नसकेको सरोकारवालाको निष्कर्ष छ । 

मकवानपुरमा सबैभन्दा बढी बालविवाह हुने क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिका हुन् । मकवानपुरका बकैया, मकवानपुरगढी, कैलाश गाउँपालिका र हेटौँडा उपमहानगरपलिकामा बालविवाह निरुत्साहित गर्न विभिन्न संघ–संस्थाको पहलमा अभियान चलाउँदै आइएको छ । बालविवाह हुनबाट उद्धार गरिएका सबै बालिकाले मकवानपुरमा रहेको सिविन बाल हेल्पलाइनमा मनोसामाजिक मनोविमर्श सेवा लिइरहेका छन् ।



जिल्लामा आर्थिक वर्ष २०७४–७५ मा २० वटा बालविवाह भएको सिविन बाल हेल्पलाइनको तथ्यांक छ । त्यस्तै, आर्थिक वर्ष २०७६–२०७७ मा ८९ वटा बालविवाह घटना दर्ता भएको बालहेल्प लाइनको तथ्यांक छ । जसमध्ये ६५ बालविवाह रोक्न सफल भएको सिविन बाल हेल्पलाइन मकवानपुरका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले बताए । 

त्यस्तै आ.व. २०७७–२०७८ मा ४८ वटा बालविवाहका घटना दर्ता भएको मा ५ जना बालक र ४३ जना बालिका रहेको सिविनको तथ्यांक छ । जसमध्ये ४० वटा बालविवाह रोक्न सफल भएको बताइएको छ । 



जिल्लाको राक्सिराङ, मनहरी, बकैया, भीमफेदीलगायत गाउँपालिकामा धेरै बालविवाह हुने पाइएको छ । ती गाउँपालिकामा अभिभावकले विवाह गरिदिने भन्दा आफैँ राजिखुसी भागेर विवाह गर्ने धेरै रहेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बाल हेल्पलाइन मकवानपुरका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले बताए । 

‘सामाजिक सञ्जालको बढ्दो प्रयोग, बीचैमा पढाइ छाड्ने समस्या, बाबुआमाको दबाब आदि कारणले बालविवाह न्यूनीकरण हुन नसकेको देखिन्छ,’ उनले भने,‘छोरीलाई घरको गराउन बीचमै पढाइ छाड्न लगाउने र गरिबीका कारण पनि बालविवाह बढ्दै गएको पाइन्छ ।’

सामाजिक संघ–संस्थाले रोकिदिएको बालविवाह पनि कतिपय अभिभावकले नै तत्काल पुनः बिहे गरिदिने गरेको संयोजक ज्ञवालीले बताए । पछिल्लो समय कोरोना माहामारीका कारण विद्यालय बन्द रहँदा अनलाइन कक्षाका लागि मोबाइल र इन्टरनेटको पहुँचमा रहेका बालबालिका धेरैजसोको बालविवाहमा फस्ने क्रम बढेको संयोजक ज्ञवाली बताउँछन् ।

  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १७:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया