logo-img

एमसिसीमा देउवाको रणनीति सफल : ओलीलाई फकाए, प्रचण्ड-नेपाललाई गलाए

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सम्बन्धी सम्झौता आइतबार प्रतिनिधिसभाको बैठकबाट अनुमोदित भएको छ । एमसिसी अनुमोदन भएसँगै अब अमेरिकी अनुदान ५० करोड डलर कार्यान्वयनमा आउने भएको छ ।

पछिल्ला केही महिना नेपाली राजनीतिको हटकेक बनेको थियो, एमसिसी । एमसिसीको पक्ष र विपक्षमा सांसददेखि देशका बुद्धिजीवी तथा पूर्वकर्मचारीहरुले फरक फरक मत दिइरहेका थिए । यसले गर्दा पूरै देश एमसिसीको पक्ष र विपक्षमा विभक्त भएको थियो ।

सत्तारुढ नेपाली कांग्रेसले चाहिँ एमसिसीको पक्षमा सुरु देखि नै अडान लिँदै आएको थियो । फलस्वरुपः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको केही समयमा नै उनले अमेरिकालाई चिठी लेखेर प्रतिबद्धता जनाएका थिए– एमसिसी समयमा नै पारित हुन्छ । यो चिठीमा सत्तारुढ अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि हस्ताक्षर थियो । तर, प्रचण्डले नेकपा माओवादी केन्द्रको काठमाडौंमा भएको महाधिवेशनमा होस् या अन्य सार्वजनिक स्थानमा यो चिठीमा आफूले हस्ताक्षर नगरेको मात्र भनेनन्, आफू एमसिसीको पक्षमा भएको खुलेर कुरा गरेनन् ।

प्रचण्डले एमसिसीको विपक्षमा पार्टीभित्र माहोल बनाइरहेको बुझेका थिए, देउवाले । फलस्वरुपः अमेरिकी एमसिए कार्यालयलाई लेखेको चिठी उनको सचिवालयले बाहिर ल्याइदियो जसमा प्रचण्डको पनि हस्ताक्षर थियो । 

त्यसपछि प्रचण्डको चर्को आलोचना भयो । चर्को आलोचना मात्र होइन, उनलाई पार्टीभित्र नैतिक दबाब पनि पर्यो । उनीमाथि उनीनिकट भनिएका नेताहरुले नै प्रश्न गर्न थाले । त्यसपछि प्रचण्ड पार्टीभित्र गले । उनले एमसिसीको विपक्षमा अभिव्यक्तिहरु दिन थाले । कतिसम्म भने पछिल्लो समय एमसिसी संसदमा टेबल गर्ने देउवाले तयारी थालेपछि प्रचण्डले संसदीय दलको बैठक बोलाए । त्यो दलको बैठकले एमसिसी संसदबाट अनुमोदित हुने कुराको कल्पना त के संसदमा टेबल हुनै हुँदैन भन्ने अडान राख्यो ।

यही सन्देश लिएर केही साताअघि प्रचण्ड देउवा निवासमा पुगेका थिए । २७ माघमा चाहिँ तिनै प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोनमा एमसिसी अनुमोदित गर्नै पर्ने भएको भन्दै टेलिफोन गरेका थिए, एमालेको सहभागिताका लागि पनि अनुरोध गरेका थिए ।



तर, संसदीय दलको बैठकबाट एमसिसीको विपक्षमा माओवादी केन्द्र उत्रिने मात्र होइन, नेकपा एकीकृत समाजवादी पनि यसको विपक्षमा लाग्ने बनाइसकेका थिए, प्रचण्डले अध्यक्ष माधवकुमार नेपाललाई कन्भिन्स गरे । नेपाली कांग्रेस, नेकपा माअ‍ोवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको मतभिन्नताका कारण सरकारले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षमा एउटा समिति समेत बनाएको थियो । जे गरे पनि समयमा एमसिसी पारित गर्ने योजनामा थिए, देउवा । 

तर, पछिल्लो समय यी दुई दलका अध्यक्ष तथा अन्य नेताहरुले यसमा विरोध जनाउन थालेपछि देउवाले एमसिसीमा मात्र होइन, सरकारमा साझेदारीसहित सहकार्य गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अप्रोच गरे । नेकपाबाट छुट्टिएपछि बनेको नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली कांग्रेससँग गरेको सत्ता साझेदारी सुरु देखि नै मन परेको थिएन, ओलीलाई । उनी आगामि स्थानीय चुनावअघि नै यो गठबन्धनलाई फुटाउन पाएमा आफ्नो पार्टीको फेरि बर्चश्व बढ्नेमा विश्वस्त थिए । उनले देउवाको चाहनालाई सहज रुपमा लिए ।



पछिल्लो एक साता देउवा बारम्बार ओलीनिवास बालकोटमा पुगे । उनले ओलीलाई एमसिसीकै विषयमा छलफल गर्न दुई पटकसम्म बालुवाटारमा पनि बोलाए । देउवासँग संघीय सरकारमा तालमेल गर्ने र नेकपा एमालेले गुमाएका प्रादेशिक सरकारहरु फिर्ता लिने, गठबन्धन फुटाउने र सभामुख अग्निप्रसाद सापकोटमाथि कारवाही गर्ने योजनामा थिए, ओली ।

त्यसैले पनि उनले देउवाको अप्रोचलाई सहजरुपमा मात्र लिएनन्, आफ्नो रणनीतिक जितका हिसाबमा व्याख्या गर्न थालेका थिए । देउवा र ओली अर्थात् कांग्रेस र एमालेको कतिसम्म सकारात्मक कुरा भएको थियो भने पछिल्लो समय यी दुवै पार्टीका नेताहरुले देशलाई निकास दिने पार्टी भनेकै एमाले र कांग्रेस भएको बताउन थालिसकेका थिए । कांग्रेसका नेताहरु र एमालेका नेताहरुले अहिलेको गठबन्धन फुट्ने र नयाँ समीकरण बन्ने, कांग्रेस र एमाले फेरि सहकार्यमा अगाडि बढ्ने बताउन थालिसकेका थिए ।

तर, नेकपा एमालेले राखेका सर्त पूरा गर्न कांग्रेसलाई सहज थिएन । माधवकुमार नेपालसहित १४ सांसदमाथि कारवाही गर्नु कांग्रेसले राजनीतिक माग हो भन्ने सोचेकै थिएन ।

त्यसैले ओलीसँग नजिक भइरहेका देउवाले गठबन्धनका दुई नेता प्रचण्ड र नेपालसँग पनि छलफल जारी राखेका थिए । अर्कोतिर गठबन्धन फुटे आगामि चुनावमा आफूहरु पराजित हुने भय बोकेका नेपाल र प्रचण्ड पनि देउवाका सर्तमा मान्न तयार भए ।

ओलीलाई फकाउँदै र प्रचण्ड–नेपाललाई गलाउँदै अन्ततः देउवा आफ्नो अडानमा अडिग भए, आइतबार उनले चाहेजस्तै एमसिसी संसदबाट अनुमोदित भयो ।


  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २२:१०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया