logo-img

कर्णालीमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा न्यून सहभागिता

कर्णाली प्रदेशमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकहरूको न्यून सहभागिता रहेको देखिएकाे छ । देशभरका सातवटा प्रदेशको तुलनामा कर्णाली प्रदेशबाट कोषमा न्यून सहभागिता भएको हो ।

कर्णाली प्रदेशमा २ सय १९ रोजगारदाता र १ हजार ११ श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध रहेको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । 

उनका अनुसार सबैभन्दा बढी बागमती प्रदेशबाट सुरक्षा कोषमा सहभागिता रहेको छ । बागमती प्रदेशमा १४ हजार ४ सय ६८ रोजगारदाता र २ लाख ३९ हजार ३ सय ५६ श्रमिकहरू आवद्ध छन् । 

त्यस्तै, प्रदेश-१ मा एकहजार ८ सय ६० रोजगारदाता र ३२ हजार २ सय १३ श्रमिक, प्रदेश- २ मा ७ सय ५५ रोजगारदाता र १८ हजार ३ सय ७० श्रमिक, गण्डकी प्रदेशमा ७ सय ६९ रोजगारदाता र १२ हजार ८ सय ९७ श्रमिक, लुम्बिनी प्रदेशमा १ हजार ४ सय २२ रोजगारदाता र ११ हजार ८ सय ८३ श्रमिक तथा सुदूरपश्चिम प्रदेशमा २ सय ३९ रोजगारदाता र १ हजार २ सय ४१ श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।
 
देशभर जम्मा १६ हजार ८ सय ३५ रोजगारदाता र ३ लाख २० हजार १ सय ८८ श्रमिक मात्रै कोषमा आवद्ध रहेको प्रवक्ता पन्थीले जानकारी दिए ।

उनले कर्णाली प्रदेशमा सामाजिक सुरक्षा कोषमा सहभागी हुनेहरूको संख्या कम हुनुमा रोजगारदाता नै कम हुनु रहेको तर्क गरे । 

‘कर्णालीमा रोजगारदाता नै कम छन् । रोजगारदाता कम भएपछि श्रमिक कम हुनु स्वाभाविक हो’, उनले भने । 



सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराई आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले २०७६ श्रावण १ देखि योगदान रकम संकलन सुरु गरिएको हो । 

सामाजिक सुरक्षा कोषमा महिलाको झनै न्यून सहभागिता 



योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा देशभरकै श्रमिकहरूको न्यून सहभागिता त छँदैछ । त्यसमा पनि महिलाको सहभागिता एकदमै न्यून रहेको तथ्यांकले देखाउँछ । 

देशभर ३ लाख २० हजार १ सय ८८ श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी हुँदा महिलाहरू भने जम्मा ८४ हजार १ सय ४६ सहभागी रहेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ । 

यो तथ्यांक जम्मा श्रमिकहरूको संख्याको २६ प्रतिशत मात्रै हो । त्यसमा पनि कर्णालीका महिलाहरूको सहभागिता त नगन्य मात्रामा रहेको कोषका सूचना अधिकारी डा. रोशन कोजुले जानकारी दिए । 

उनका अनुसार कर्णाली प्रदेशमा १०११ श्रमिक कोषमा सहभागी हुँदा ३ सय ९३ जना महिला मात्रै कोषमा सहभागी भएका हुन् । 

कर्णालीको हकमा भने यो जम्मा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी श्रमिक संख्याको ३९ प्रतिशत हो । 

कर्णाली प्रदेशमा न्यून रोजगारदाता भएकै कारण श्रमिकहरू नै कम भएको कोष कार्यालयको तर्क छ ।
 

  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १५:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया