logo-img

महिलाले ३३ प्रतिशत होइन ५० प्रतिशत अधिकार पाउनुपर्छ : अष्टलक्ष्मी
फाइल तस्वीर

नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाले ३३ प्रतिशत मात्रै अधिकार नभएर ५० प्रतिशत अधिकार पाउनु पर्ने बताएकी छन् ।

मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमाले निकट अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले अब महिलालाई ३३ प्रतिशत मात्रै अधिकार नभएर पुरुष सरह ५० प्रतिशत अधिकार पाउनु पर्ने बताएकी हुन् । 

उनले नेपालको कूल जनसंख्याको आधाभन्दा बढी महिला भएकाले पनि पुरुष सरह ५० प्रतिशत समान अधिकारको अवधारणा बनाउनु पर्ने बताइन् । 

उपाध्यक्ष शाक्यले महिला इमान्दार, जवाफदेही, पारदर्शी कुशल भएकाले अबको स्थानीय तहदेखि मुलुक हाँक्ने तहसम्म महिलाले आफूलाई सक्षम बनाउनु पर्ने जिकिर गरिन् । 

उनले महिला/पुरुष समान रहेकाले महिलालाई हिंसा, विभेद, असमानता र दुर्व्यवहार गर्ने सम्पूर्ण कुरा समाप्त गर्दै महिलालाई हेर्ने दृष्टिकोण फरक बनाउन जरुरी रहेको उल्लेख गरिन् ।

'हामी सक्षम भइसकेका छौं । समाज परिर्वतन,समृद्धि र विकासको लागि नेतृत्वमा स्थापित हुनुपर्छ । त्यसैले ३३ प्रतिशत होइन ५० प्रतिशत सम्मान अवधारणा लिएर अगाडि बढ्न सक्नुपर्छ,' उनले भनिन् । 



त्यस्तै, नेकपा एमालेकी स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री थममाया थापाले संविधानमा गरिएको किटानी व्यवस्थाअनुसार समाजवादको आधार तयार पार्नको लागि महिला निर्णायक ठाउँमा पुग्नु पर्ने बताइन् । उनले महिला पुरुष सरह नेतृत्व तहमा सहभागिता नभएसम्म महिलाका अधिकार प्राप्त हुनसक्ने तर्कसमेत गरिन् ।

'हामीले हाम्रा आकांक्षा सुखी नेपाली समृद्ध नेपालको जुन लक्ष्य राखेर अगाडि बढी रहेका छौँ । स्थानीय तहमा प्रमुख पदमा महिला हुनुपर्छ । स्थानीय तह भनेको जनतासँग अत्यन्त नजिक भएर काम गर्ने जनताको दुःख सुख बुझ्ने सरकार हो । त्यहाँ सम्मान रुपमा समानुपातिक हिसावले महिला पुरुषको सम्मान सहभागिता प्रतिनिधित्व हुन सक्यो भने मात्रै आर्थिक,सामाजिक तथा राजनीतिक हिसाबले तलदेखि माथिसम्म महिलालाई माथि उठाउन सक्छौं’ उनले भनिन् ।



स्थायी कमिटी सदस्य थापाले स्थानीय तहको सरकारको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले नेतृत्वमा महिला पुगे मात्रै आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले महिलाको सहभागिता बढ्ने उल्लेख गरिन् ।

  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार १८:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया