logo-img

प्रचण्डको स्वीकारोक्ति - नेतृत्व निर्माणमा परम्पराबाट बाहिर निस्कन सकिएन, समीक्षाको विषय बन्यो
चेतावनी–‘दूधले नुहाएको छौं भन्ने नठान्नुहोला’
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी र नेतृत्व निर्माणमा अझै पनि आफू परम्परागत मान्यताबाट बाहिर नआएको स्वीकार गरेका छन् । नेपाल उद्योग महासंघ (प्रस्तावित) केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय कमिटी बैठकमा पनि आफूले सोही कुरा राखेको बताए । 

माओवादी केन्द्रको बैठक दुई दिनअघि मात्र राजधानीमा बसेको थियो । बैठकले केन्द्रीय कमिटीको संख्या ९७ जनाको प्रस्ताव भए पनि ५० जनाको मात्र नाम अनुमोदन गरिएको थियो । महासंघको पूर्ण बैठकमा स्वागत मन्तव्यका क्रममा केही नेताहरूले सोही विषय उठाएका थिए ।

प्रचण्डले उनीहरुको समेत प्रश्नको जवाफ दिँदै भने, ‘तपाईंहरुको कुराले मलाई छोएको छ । म के सुनाउन चाहन्छु भने हिजो मात्रै केन्द्रीय कमिटीको बैठकमा मैले नै के राखेको थिएँ भने, हाम्रो पार्टी र नेतृत्व निर्माणको प्रक्रियामा हाम्रो अझैपनि परम्परागत मान्यताबाट बाहिर आएका छैनौं ।’

व्यवसायीहरुको बैठकमा सम्बोधन गर्न पुगेका प्रचण्डले व्यवसायी नभई आर्थिक नीतिको विकास नहुने पनि बताए । ‘विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरु, व्यवसायीहरु, इन्जिनियर, डक्टर, टेक्निसियनहरुको पनि केन्द्रीय कमिटीमा प्रतिनिधित्त्व हुनुपर्छ भन्ने मान्यता अहिले विश्वभरी बढेको छ,’ प्रचण्डले अघि भने, ‘तर, हाम्रो पार्टीले यसलाई जति अग्रगामी ढंगले लागू गर्नुपर्ने हो सकिएको छैन । आउने दिनमा यसलाई हामीले अग्रणी भएर भूमिका खेल्नुपर्छ भनेको छु । मैले व्यवसायीहरुको पनि समुचित प्रतिनिधित्व गरियो भने मात्र पार्टीले आर्थिक नीतिको विकास गर्न सजिलो पर्छ ।’

परम्परागत राजनीति र सिद्धान्तका कुरा गर्नेहरुले मात्रै अबको सामाजिक रुपान्तरणको नेतृत्व गर्न नसकिने स्वीकार गर्दै प्रचण्डले प्रतिवद्धता दिलाएका छन, ‘म तपाईंहरु सबैको भनाईलाई आत्मसाथ गर्दै केन्द्रमा प्रतिनिधित्व गराउने संस्थागत कोसिस मेरो रहनेछ । मे विश्वास म दिलाउन चाहन्छु ।’

‘नेतृत्व निर्माण समीक्षाको विषय’



अध्यक्ष प्रचण्डले यो विषय ‘समीक्षाको विषय’ भएको पनि स्वीकार गरे । 

पार्टीभित्र केन्द्रीय कमिटी छान्दा समावेशी नभएको भन्दै असन्तुष्ट नेताहरुको संख्या बढेको छ । आफ्नो छोरी र ज्वाईंलाई केन्द्रीय कमिटीमा प्रस्ताव गरेपछि उनको आलोचना बैठकबाटै हुन थालेको थियो । पछि ५० जनाको मनोनयन यही असन्तुष्टि सम्बोधन गर्नका लागि प्रचण्डले थाती राखेका छन । 



उनले सोही कुराको स्वीकार गर्दै आजको कार्यक्रममा भनेका छन, ‘यो हाम्रो त्रुटी नै हो यो हाम्रो समिक्षाको विषय नै हो । हामीले समीक्षा सुरु गर्यौं । अब त्यो क्षेत्रबाट पनि संस्थागत प्रतिनिधित्व मैले गरिसकेँ ।

चेतावनी - दूधले नुहाएको छौं भन्ने नठान्नुहोला 

प्रचण्डले निर्माण व्यवसायी महासंघका नेताहरुलाई चेतावनीसमेत दिन भ्याए । उनले ‘तपाईंहरुले पनि पार्टीलाई दुःख तपाईंहरुले पनि कम्ता दिएको छैन’ भन्दै गर्दा हलमा हाँसोको फोहोरा छुटेको थियो ।

उनले अघि भने, ‘यति भनिसकेपछि तपाईंहरुले पनि फेरि आपसमा एकीकृत हुने सबै प्रतिस्पर्धाबाट आफूलाई गुटबन्दी र अराजकतालाई परास्त गर्नका लागि संस्थागत रुपमा लडेर आउनुपर्छं । तपाईंहरुको जिम्मेवारी छैन पार्टीको मात्र छ भन्ने नठान्नुहोला । यसबीचमा जति पार्टीलाई दुःख तपाईंहरुले पनि कम्ता दिएको छैन ।’

निर्माण व्यवसायी महासंघका नेताहरुलाने पनि गल्ति गरेको भन्दै प्रचण्डले अघि भनेका छन्, ‘पार्टीले मात्र गल्ती गर्यो हामी सबै दूधले नुहाएका छौं पनि नठान्नुहोला । हामी सबै उस्तै छौं र यस्तो भएको हो । आउने दिनमा चाँही सबैले आफ्नो ठाउँबाट सकारात्मक भूमिका गरौं । विधान संशोधन गरेर प्रतििनधित्व गराउने ठाउँमा यहाँबाट पनि प्रतिनिधित्व गराइन्छ ।’

  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १३:२०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया