खानेपानी सुधारका लागि जापानले दुई अर्ब सात करोड अनुदान सहयोग उपलब्ध गराउने

जापानले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाललाई दुई अर्ब सात करोड अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आज हस्ताक्षर गरे । आयोजना कार्यान्वयनका लागि अर्को अनुदान सम्झौतामा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे । 

उक्त आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनःनिर्माण र विस्तार गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ । हाल विराटनगरका बासिन्दा दैनिक घरायसी उपयोगका लागि पानी लिनका लागि इनारमा भर पर्नुपरेको छ भने खानेपानी अभावका कारण सर्वसाधारण प्रभावित भएका छन् ।

समझदारीपत्रमा हस्ताक्षर गरेपछि राजदूत किकुटाले नेपाली नागरिकको जीवनस्तर उकास्न जापान सरकारले बहुआयामिक सहयोग गर्दै आएको तथा कोभिड–१९ महामारीका बेला त्यसलाई नियन्त्रण गर्न समयमै खोप सहयोग उपलब्ध गराएको बताए । 

त्यसैगरी जापानले कोभिड–१९ पश्चातको नेपालको आर्थिक स्थिरता र विकासका लागि हालै आर्थिक सहयोग गरेको उल्लेख गर्दै राजदूत किकुटाले आजको सहयोग मानव जीवनका लागि अत्यावश्यक स्वच्छ  खानेपानीका निम्ति भएको बताए । विराटनगर सहरको जीवनस्तर उकास्न यो सहयोग प्रभावकारी रूपमा उपयोग हुने विश्वास उनले व्यक्त गरे ।

साथै उनले जापानको दूतावासले नेपाल र जापानका जनताबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ गर्ने तथा राष्ट्र निर्माण प्रयासमा नेपाललाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताए । सचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा जापान सरकारबाट निरन्तर प्राप्त सहयोग एवं समर्थनका निम्ति नेपाल सरकारका तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गरे ।  





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १८:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया