गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीले भने - पूँजी, ज्ञान, सीप देशको रुपान्तरणका निम्ति उपयोग गर्नूस
फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पूँजी, प्रविधि र व्यावसायिक ज्ञान, सीप र कौशल मुलुकको रूपान्तरणका निम्ति उपयोग गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघको १० औँ विश्व सम्मेलनको समापनको अवसर बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रुपान्तरण र दिगो विकासका लागि ठूलो पूँजी र प्रविधिको आवश्यकता रहेको उल्लेख गरे । 

नेपालको आवश्यकतामा गैरआवासीय नेपालीले पूरकको भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त उनले गरे । नेपालको संविधानले अर्थ, उद्योग, वाणिज्य नीति अन्तरगत गैरआवासीय नेपालीको ज्ञान र सीप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासका उपयोग गर्ने कुरालाई प्राथमिकता दिएको उनको भनाइ छ । 

उनले त्यसका लागि आवश्यक विभिन्न नीति र कानुनी सुधार गर्दै गैरआवासीय नेपालीलाई सहज रूपमा लगानी गर्न सक्ने तथा लगानीको प्रतिफल सुनिश्चित गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

'विदेशमा आर्जन गरेको पूँजी, प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप र कौशललाई मुलुकको रुपान्तरणका निम्ति लगानी गर्न म यस संस्थाका सबै गैरआवासीय नेपाली साथीलाई यसै मञ्चबाट आग्रह गर्न चाहन्छु । नेपालको संविधानले अर्थ, उद्योग, वाणिज्य नीति अन्तरगत गैर आवासीय नेपालीको ज्ञान र सीप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासका उपयोग गर्ने कुरालाई प्राथमिकता दिएको छ' उनले भने ।

प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीको सम्पत्ति र लगानीको संरक्षण गर्ने काममा सरकार सदैव सकारात्मक रहेको पनि बताए । उनले गैरआवासीय नेपाली संघले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गर्न र भावी पुस्तामा हस्तान्तरण गर्नसमेत सेतुको रूपमा काम गरेको बताए ।
 
'गैरआवासीय नेपाली संघले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गर्न र भावी पुस्तामा हस्तान्तरण गर्नसमेत सेतुको रुपमा काम गरेको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा पनि नेपाली नेपाली माटो र नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्न सक्ने आफ्ना क्रियाकलापलाई सशक्त रूपमा अघि बढाउने विश्वास लिएको छु' उनले भने । 



त्यस अवसरमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघले भूकम्पले ध्वस्त बनाएको बस्तीको पुनर्निर्माण र कोभिड संकटमा सघाउ पुर्याएको आभारसमेत व्यक्त गरेका थिए ।



  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार २०:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया