बाबर चम्कदा अस्ट्रेलियाविरुद्धको वानडे सिरिज पाकिस्तानले जित्यो

अस्टेलियाविरुद्धको एकदिवसीय सिरिजमाथि घरेलु टोली पाकिस्तानले कब्जा जमाएको छ । गएराति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा ९ विकेटको सहज जित निकाल्दै पाकिस्तानले तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो । 

निर्णायक खेलमा २ सय ११ रनको लक्ष्य पाकिस्तानले ३७.५ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्‍यो । उसका  लागि कप्तान बाबर आजमले  शतकीय पारी खेले । उनी ११५ बलमा १२ चौका प्रहार गर्दै १०५ रनमा अविजित रहे । सिरिजमा बाबरको यो लगातार दोस्रो शतक हो । दोस्रो खेलमा उनले ११४ रनको पारी खेलेका थिए ।

सिरिज पाकिस्तानलाई जिताउन उनको भूमिका अहम् रह्यो । बाबरले तीन खेलमा कुल २७६ रन बनाए । त्यस्तै, तेस्रो खेलमा इमाम उल हकले १०० बलमा ६ चौका र एक छक्कासहित अविजित ८९ रनको योगदान दिए । ओपनर फखर जमान १७ रनमा आउट भए ।

अस्ट्रेलियाका नाथन एलिसले एक विकेट हात पारे । त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ४१.५ ओभरमा २१० रनमै समेटियो ।  

उसका एलेक्स केरीले ५६ रनको अर्धशकीय पारी खेले । ६१ बलको सामना गरेका उनले ६ चौका र एक छक्का प्रहार गरे । सेन एबटले ४९ , बेन म्याकडर्मेटले ३६, क्यामरोन ग्रीनले ३४ र मार्कस स्टोनिसले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकसमेत छुन सकेनन् ।

पाकिस्तानका हरिस रौफ र मोहम्मद वसिमले तीन/तीन, शाहीन साह अफ्रिदीले दुई तथा इफ्तिखार अहमद र जाहिद महम्मदले एक/एक विकेट हात पारे । पहिलो खेलमा ८८ रनले पराजित पाकिस्तानले दोस्रो खेलमा ६ विकेटको जित हात पारेको थियो । 





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार ७:२६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया