निजीक्षेत्रले भन्यो - चोभार सुख्खा बन्दरगाहलाई रेल मार्गसँग जोड्नु पर्छ

निजीक्षेत्रले चोभार सुख्खा बन्दरगाहलाई सडक मार्गमा मात्रै नभएर रेल मार्गसँग पनि जोड्नु पर्ने माग गरेको छ ।

मंगलबार चोभार सुख्खा बन्दरगाह उद्घाटन कार्यक्रममा बोल्दै निजीक्षेत्रका तीन ठूला छाता संगठनका अध्यक्षहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई चोभार सुख्खा बन्दरगाहमा रेल मार्गसँग जोड्न माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चोभार सुख्खा बन्दरगाह रेल मार्गसँग जोड्दा मात्रै बन्दरगाहको उपयोगिता बढ्ने बताए । उनले सरकारले निकट भविष्यमा बन्दरगाहलाई रेल मार्गसँग जोड्न पहल गर्नुपर्ने बताए । 

अध्यक्ष गोल्छाले चोभार सुख्खा बन्दरगाहलाई आयातको केन्द्र मात्रै नभएर निर्यातको लागि कोशेढुङ्गा सावित गर्न सक्नु पर्ने बताए । उनले काठमाडौं उपत्यकामा सुख्खा बन्दरगाह सञ्चालनमा आउँदा निजीक्षेत्र उत्साहित भएको बताए ।

‘यो बन्दरगाहलाई रेल मार्गसँग जोडन आवश्यक छ । रेल मार्ग जोड्न सक्यो भने आज जुन व्यापार घाटा भएको छ । व्यापार घाटा कम हुन सक्छ । रेल मार्ग जोड्यो भने यो बन्दरगाहको उपयोगिता बढ्छ जस्तो लाग्छ । बन्दरगाह सञ्चालनमा आएर निजीक्षेत्र उत्साहित छ’ उनले भने ।

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि बन्दरगाहलाई रेल मार्गसँग जोडे मात्रै बन्दरगाहको सान्दर्भिकता बढ्ने बताए । उनले सरकारले चोभार सुख्खा बन्दरगाहमा आयात र निर्यात गर्दा सहज बनाउने वातावरण सरकारले बनाउनु पर्ने बताए । 



‘सिधा रुपमा कलकत्ताबाट ट्रक तथा कन्टेनरहरू बिना कुनै झन्झट चोभार सुख्खा बन्दरगाहबाट जाँचपास गर्न पाउने अपेक्षा राखेका छौं । निर्यातको लागि यो बन्दरगाहमा जाँचपास गरेपछि सिधा कलकत्तामा जान सकोस् । भविष्यमा यो बन्दरगाहमा भन्सारका सबै कारोबार छ त्यो यहीबाट होस । यो बन्दरगाह फाष्ट ट्रयाकबाट र रेल मार्ग जोडियो भने तब बन्दरगाहको सान्दर्भिकता आउँछ’ उनले भने ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चोभार बन्दरगाहलाई चीनको नाकासँग जोड्नु पर्ने बताए । उनले चोभार सुख्खा बन्दरगाह आधुनिक अनलाइन प्रणालीमा सञ्चालन गर्न सके मुलुकको ५० प्रतिशत आयात निर्यात गर्न व्यवसायलाई व्यवस्थित गर्ने बताए ।



‘यो बन्दरगाहले दक्षिणको जस्तो चीनसँग पनि जोडेर आधुनिक प्रविधि युक्त बनाउनु पर्छ । यसमा सबै काम अनलाइन प्रणाली मार्फत रकम भुक्तानी गनै सक्ने बनाउन सके मात्रै मुलुकको ५० प्रतिशत आयात निर्यात गर्न व्यवसायलाई व्यवस्थित गर्ने छ । बन्दरगाहबाट काठमाडौँ उपत्यकामा उत्पादन हुने हस्तकला, गलैँचा तथा जडीबुटी जन्य कुराहरू प्रोसेसिङ प्रवर्द्धन गरेर यहीबाट निर्यात गर्न सक्छौं' उनले भने ।

अध्यक्ष मल्लले बन्दरगाहबाट काठमाडौंमा उत्पादन हुने वस्तु निर्यातको लागि महत्वपूर्ण योगदान हुने बताए । उनले बन्दरगाहमा वस्तु निर्यातको लागि एकद्वार प्रणालीबाट निर्यात गर्नको लागि एक्सपर्ट हाउस जस्तो बन्दरगाहभित्र व्यवस्था गर्नु पर्ने माग गरे ।

  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार १९:५८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया