logo-img

मुक्तिनाथमा बढ्न थाले पर्यटक

प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोनाको जोखिम कम भएसँगै पछिल्लो समय मुक्तिनाथमा दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । 

नयाँ वर्ष तथा चैते दशैँको अवसरमा स्वदेशी पर्यटकहरुले मुक्तिनाथ क्षेत्र भरिभराउ भएको छ । हरेक वर्ष चैते दशैँ, बडा दशैँ एवं औँशीको अवसरमा मुक्तिनाथ धाममा दर्शन गर्ने भक्तालुहरुको भीड लाग्ने गर्छ । यस वर्ष पनि मुक्तिनाथमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढिरहेको स्थानीय बताउँछन् । 

नेपालको मुस्ताङ जिल्लामा पर्ने मुक्तनाथधाम भारतको बद्रीनाथ र केदारनाथजत्तिकै महत्वपूर्ण भए पनि ‘नजिकको तीर्थ हेलाँ’झैँ भइरहको स्थानीय बताउँछन् । अरु सबै क्षेत्रमा गएर धार्मिक कार्यक्रम गरे पनि अन्तिममा मुक्तिनाथ धाममा गएर दर्शन गरेपछि मात्रै मुक्ति मिल्ने विश्वास रहेको छ । 

पितृ उद्धारका लागि भक्तजनहरुले सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गरेर मुक्तिनाथ मन्दिरको दर्शन गरे पितृहरुको उद्धार भई स्वर्गमा वास पाउने शास्त्रोक्त कथन छ । वैदिक सत्य सनातन हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको संगमस्थल मुक्तिनाथलाई भगवान विष्णुको पुण्यभूमि मानिन्छ ।

विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किंवदन्ती पनि प्रचलित छ । उक्त १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । 

मुक्तिनाथस्थलमा विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका कारण बौद्ध धर्मावलम्बीले यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । 



मन्दिरमा ब्राह्मण पुजारी तथा झुमाले पनि पूजा गर्छन् । हिन्दुले भगवान् विष्णुको शिलारूप शालिग्राम विराज भएको विश्वास गर्ने र बौद्ध धर्मावलम्बीले तान्त्रिक सिद्ध गुरु रिपोञ्छेसँग जोडेर यस स्थललाई हेर्ने गरेको पाइन्छ । त्यसैले पनि मुक्तिनाथ धाम पर्यटक र भक्तालुहरुका लागि पवित्र मानिन्छ । 

मुक्तिनाथ क्षेत्रलाई अझै विश्वस्तरमा प्रचारप्रसार गर्न सके यसको महत्व र महिमा झनै बढ्ने स्थानीयहरु बताउँछन् ।       



  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार २२:१६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया