रञ्जुला साउदको मृत्यु धामी-झाँक्रीको कुटपिटबाट !

कञ्चनपुर बेदकोट नगरापलिका–७ मसेपानीकी ४३ वर्षीया रञ्जुला साउँदको चैत २८ गते एक्कासि टाउको दुखेर छटपटाइन् । प्रधानमन्त्री स्वरोजगारमार्फत गाउँमै निर्माण भइरहेको बछेला पदमार्गमा काम गरेर रञ्जुला दैनिक छाक टारिरहेकी थिइन् । त्यो दिन काम गरेर साँझ घर पुग्दा टाउको दुखाइ अति भएपछि उनी छिमेकमै रहेकी झारफुक गर्ने कमला साउँदको घरमा पुगिन् । 

त्यहाँ अन्य दुईजना धामी, झाँक्री पहिल्यै थिए । भीमदत्त नगरपालिका–७ हल्दुखालका धर्मानन्द भट्ट र वडा नं १ बाराकुण्डाका नारायणदत्त भट्टले रञ्जुलालाई ‘थारुको भूत’ लागेको भन्दै झारफुक गर्नुपर्ने सुझाब दिए । ‘आमाको सामान्य टाउको दुखेको थियो, दिनमा काम गरेर फर्केपछि साँझ छिमेकी कमला आन्टीको घरमा झारफुक गर्न जानुभएको थियो,’ रञ्जुलाकी छोरी सरिताले भनिन्, ‘त्यो दिन सामान्य झारफुक गराएर फर्किनुभयो, टाउको दुखाइ राम्रो नभएपछि फेरि अर्को दिन जानुभयो, धामीहरुले हाम्रोबारे नराम्रो बोलेकाले हामीले नै झन् बिरामी गराएका हौँ भन्नुभयो ।’
 
त्यो दिनबाट उनीहरुले आमालाई बन्धक बनाएर राखेको सरिताले दाबी गरिन् । ‘दैनिक ७ पटक मन्त्र पढ्नुपर्छ भनेर उनीहरुले आमालाई त्यही राखे, ३० गतेबाट हामीहरुलाई भेट्न समेत दिएनन्,’ उनले भनिन्, ‘उनीहरुले भूत भगाउने भन्दै आमालाई फलामका रडहरुले हान्ने गरेका थिए ।’
 
धामी, झाँक्रीको कुटपिटबाट रञ्जुलाको वैशाख १ गतेनै मृत्यु भएको स्थानीयहरुको दाबी रहेको छ । ‘उहाँको वैशाख १ गते दिउँसो मृत्यु भएको रहेछ,’ स्थानीय सुरेन्द्र साउँदले भने, ‘त्यो घरमा हामीहरु कसैलाई जान दिएको थिएन्, उनका छोरीहरुलाई कसैलाई नभन्नू भनेका रहेछन्, शव गन्हाएपछि मात्रै छिमेकीहरुले थाहा पाएका हुन् ।’
 
बुवाले कलिलैमा छाडेर गएपछि आमाको माया र अभिभावकत्वमा हुर्किरहेका दुई छोरीको सहारा खोसिएको छ । जेठी छोरी सरिता १८ वर्षकी भइन् । कान्छी निरा १२ वर्षमा उक्लिन् । उनीहरुले अब आमा रञ्जुलाको साथ कहिल्यै नपाउने भएका छन् ।

कसरी बाहिर आयो घटना ?

शनिबार बिहान मृतकका आफन्त घटना भएको घरमा पुगे । त्यहाँ धामीझाक्रीको समूहले उनीहरुलाई प्रवेश गर्न दिएनन् । त्यसपछि उनीहरु वडा सदस्य धनसिंह पुजाराको घरमा पुगे । घटनाबारे उनलाई जानकारी गराए । त्यसपछि वडा सदस्यसहित उनीहरु घटनास्थल कमलाको घरमा पुगे । तर, धामी, झाक्रीको समूहले वडा सदस्यलगायतलाई पनि त्यहाँ जानबाट रोक लगायो । 

वडा सदस्यले त्यसपछि प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थल पुग्यो । घटनास्थल सिल गदै आवश्यक अनुसन्धान गर्यो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि घटना शंकास्पद रहेकाले दुईजना धामीझाँक्रीसहितका ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । 

पक्राउ पर्नेमा धामी झाँक्रीद्वय भीमदत्त नगरपालिका–७ का ६० वर्षीय धर्मान्नद भट्ट र वडा नम्बर १ का ७२ वर्षीय नारायणदत्त भट्ट, मृतककी जेठानी कमला साउदसहित  सातजना छन् । 



‘अनुसन्धानका लागि ७ जनालाई नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भने, ‘सामान्य सोधपुछ गरेका छौँ, उनीहरुले कुटपिट नगरेको भनेका छन्, राति थप सोधपुछ गर्छौं ।’ मृतकको शरीरको छाला निस्केको उनले बताए । ‘घटना शंकास्पद छ, कुटपिट गरेको हुन सक्ने सम्भावना छ,’ उनले भने । शव परीक्षणको रिपोर्ट आएपछि धेरै कुरा खुल्न उनले बताए । 



  • प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार २०:२६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया