जसको गाडीभरि लिपिस्टिकका दाग हुन्थे...
मुम्बई– पहिलो बलिउड सुपरस्टार राजेश खन्नाको आज ७६औँ जन्मजयन्ती हो । ६ वर्षअघि हृदयघातका कारण निधन भएका खन्नाले आफ्नो बेजोड अभिनयमार्फत भारतीय चलचित्र क्षेत्रलाई नै नयाँ उचाइतर्फ डोर्याएका बलिउड विश्लेषकहरु मान्दछन् । ह्यरस्टाइलदेखि गेरु रंगको सर्टसम्मका उनका स्टाइलमा भारतीय दर्शकको सिंगो पिँढी मग्न थियो । उनीबाट दर्शक यतिसम्म प्रभावित थिए कि, कति त उनकै लागि भनेर जीवनभर अविवाहित बसेका थिए ।खन्नाको जीवनमाथि लेखिएको किताब ‘द अनटोल्ड स्टोरी अफ इन्डियन फस्र्ट सुपरस्टार’का लेखक यासिर उस्मानले एकपटक भनेका थिए, ‘बंगालमा एक बुढी महिलालाई राजेश खन्ना तपाईंको लागि के हो भनेर सोध्दा उनले तपाईंले बुझ्नुहुन्न भनेकी थिइन् ।’ उस्मानका अनुसार ती महिलाले खन्नाको चलचित्र हेर्दा मात्रै पनि उनीसँग ‘डेट’ गरेजस्तो लाग्ने बताएकी थिइन् । खन्नाको अभिनय र व्यक्तित्वबाट दर्शकहरु अत्यन्तै मोहित हुन्थे । यतिसम्म कि, उनको गाडी गुडेको बाटोको धुलोलाई सिन्दुर मानेर युवतीहरु सिउँदोमा लगाउँथे । उनको गाडीमा युवतीहरुको लिपस्टिकका गुलाबी दाग देखिन्थे । ‘आरधना’ फिल्मबाट व्यापक चर्चा र बेग्लै परिचय बनाएका खन्नाको पहिलो फिल्म ‘आखरी खाट’ थियो । उनको पहिलो फिल्म नै सन् १९६७ मा ओस्कारको छनोटमा परेको थियो । १९६६ बाट बलिउडमा प्रवेश गरेका खन्नाको स्टारडम भने सन् १९६९ मा प्रदर्शन भएको फिल्म ‘आरधना’ले स्थापित गरेको थियो । त्यसपछि भने उनले लगातार ‘हाथी मेरे साथी’, ‘अनुरोध’, ‘अजनवी’, ‘दुश्मन’जस्ता कैयौँ सुपरहिट फिल्म दिए ।अर्कातिर, खन्नाले अभिनय गरेका कतिपय फिल्मले उनको स्टारडममै नोक्सान पुर्याएका पनि थिए । ८० को दशकमा खन्नाले गरेका केही एक्सन फिल्ममा उनको भूमिका सुहाउँदो थिएन । उस्मान भन्छन्, ‘खन्नाले भारतीय सिनेमामा आएको एक्सन ट्रेन्डलाई फलो गर्न खोजे । तर, उनको भूमिका रोमान्टिक हुँदा मात्र सुहाउँथ्यो । उनमा एक्सनको भूमिकामा खेल्ने खुबी थिएन ।’१८४२ डिसेम्बर २९ मा भारतको अमृतसरमा जन्मिएका खन्नाको २०१२ जुलाई १८ मा निधन भयो । उनले अभिनय गरेको फिल्म रियासत उनको निधनपछि प्रदर्शनमा आएको थियो । 



  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार ०:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया