जनकपुरधाम : अधिकांश उम्मेदवारले सोमबार उम्मेदवारी दर्ता गराउने

जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख पदमा अधिकांश उम्मेदवारले सोमबार मात्र उम्मेदवारी दर्ता गराउने भएका छन् । 

सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार लालकिशोर साह, कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका मनोज साह, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार मनोज चौधरी, अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो र वैद्यनाथ साहले पनि सोमबार नै मनोनयन दर्ता गराउने भएका छन् । 

यता, नेकपा एमालेले भने अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन । स्रोतका अनुसार भर्खर मात्र एमाले प्रवेश गरेका जानकीराम साह र शिवशंकर साह हीरामध्ये कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो समाचार तयार पार्दासम्म लाग्न सकेको छैन् । 

डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट अनिता साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि आइतबार नै उम्मेदवारी दर्ता गराइसकेकी छन् भने नेकपा एमालेले मेयर पदको टिकट नदिँदा बागी बनेर उमेश चौधरीले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

गठबन्धनका तर्फबाट जनकपुरधामको नगरप्रमुखमा जनता समाजवादी पार्टी नेपालका लालकिशोर साहले उम्मेदवारी दिने भएका छन् । उनले सोमबार दिउँसो २ बजे मात्रै उम्मेदवारी दर्ता गर्ने जानकारी दिए ।

‘पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ, भोलि दिउँसो २ बजे मात्रै उम्मेदवारी दिने कुरा छ,’ साहले भने ।



लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नगरप्रमुखका उम्मेदवार मनोज चौधरीले वडाध्यक्षहरूको टुंगो लगाउन बाँकी रहेकोले सोमबार दिउँसो करिब २ बजेसम्म उम्मेदवारी दर्ता गराउने जानकारी दिए । 

नेपाली कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका मनोज साहले पनि सोमबार बिहान ११ बजे मात्र आफूले मनोनयन दर्ता गर्ने जानकारी दिए । 



स्वतन्त्र उम्मेदवार बलराम महतोले पनि आफूले सोमबार बिहान ११ बजे मनोनयन दर्ता गर्ने जानकारी दिएका छन् । त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार बैद्यनाथ साहले सोमबार बिहान ११ बजे मनोनयन दर्ता गर्ने बताए । 

निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । अधिकांश पालिकामा विभिन्न राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो लगाउन नसक्दा उनीहरूले सोमबार मात्रै मनोनयन दर्ता गर्ने भएका छन् ।

धनुषा जिल्लामा राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलहरू दर्ता भएका छन् । 

यो पटक धनुषामा मतदानस्थल घटेका छन् भने मतदान केन्द्र बढेका छन् । यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषामा ३२७ मतदानस्थल र ५४८ मतदान केन्द्र थिए । यसपटक मतदानस्थल घटेर ३२३ पुगेको छ भने मतदान केन्द्र बढेर ५९६ पुगेको मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले जानकारी दिए । 

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ हजार ३२८ जना मतदाता रहेका छन् । जसमध्ये महिला २१ लाख ८ हजार ५४२, पुरुष २४ लाख ८ हजार ८४० र अन्य समूहका ६ जना छन् ।

  • प्रकाशित मिति : वैशाख ११, २०७९ आइतबार १६:१३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया