स्वतन्त्र उम्मेदवारी फिर्ता लिन कांग्रेस नेता-कार्यकर्तालाई गगन थापाको आग्रह

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन् ।

महामन्त्री थापाले निर्वाचनमा होमिएको बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् । 

नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमी कमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णयविपरीत उम्मेदवारी दिन नमिल्ने बताए । 

त्यसरी उम्मेदवारी दिँदा पार्टीका कर्मठ नेताहरूको हितमा नहुने उनले पटकपटक दोहोर्‍याए । महामन्त्री थापाले पार्टीभित्र गठबन्धन गरेर चुनावमा जाने कुरामा फरक मत रहे पनि अहिले पार्टीको निर्णयअनुसार मिलेर अघि बढनुको विकल्प नरहेको बताए । 

'यो विषय ओझेलमा राखिन्न । एउटा, एउटा विषयमा छलफल हुन्छ । तालमेलको विषयमा छलफल हुन्छ । सैद्धान्तिक विषयमा छलफल हुन्छ । प्रदेशलाई, गाउँलाई, जिल्लालाई निर्णय गर्न दिइएको कुरा उचित भएको कि भएन । पार्टीको विधानको बारेमा छलफल हुन्छ' उनले भने । 

महामन्त्री थापाले आफूले पनि चुनावी तालमेलको विषयमा फरक मत राखेको तर पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढेको बताउनु भयो । अन्यथा पार्टीमा फेरी फर्केर काम गर्न पाउने अवस्था रहन नसक्ने उहाँले स्मरण गराउनु भयो ।





  • प्रकाशित मिति : वैशाख १४, २०७९ बुधबार १५:२६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया