logo-img

जनकपुरधाम : सत्ता गठबन्धनको पत्रकार सम्मेलनमा जसपाबाहेकका दलका नेता अनुपस्थित

जनकपुरधाममा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जसपाबाहेकका दलका नेता कार्यकर्ताको उपस्थिति देखिएन । 

गठबन्धनले जनकपुरधामको नगरप्रमुखमा जसपाको तर्फबाट लालकिशोर साहलाई र उपप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट किशोरी साहलाई उम्मेदवार बनाएको हो ।

यहाँ गठबन्धनभित्रका सबै दल एकजुट हुने बताइरहँदा बुधबारको पत्रकार सम्मेलनमा भने गठबन्धनभित्रकै दल कांग्रेसको तर्फबाट उपमेयर पदका उम्मेदवार किशोरी साहबाहेक अन्य कुनै नेता कार्यकर्ता उपस्थित थिएनन् । 

यसअघि उम्मेदवारी दर्ताका दिन पनि दुवै दलका उम्मेदवारले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका थिए । यस्ता गतिविधिले गठबन्धनमा बाह्य सहमति रहे पनि आन्तरिक रूपमा फुट रहेको स्पष्ट बुझिन्छ । 

जनकपुरधामको हकमा भने केन्द्रीय गठबन्धनले यहाँको नगरप्रमुख जसपालाई दिने सहमति गर्दा कांग्रसको नगरसमितिले त्यसको विरोधसमेत जनाएको थियो । गठबन्धनको निर्णय सच्याउन माग गर्दै नगरसभापति मनोज साहले २४ घण्टे अल्टिमेटम दिएका थिए । तर, पार्टीले निर्णय नसच्याएपछि उनले साधारण सदस्यसमेत नरहेनगरी पार्टीबाट राजीनामा दिँदै मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् ।

स्थानीय सरोज साहले यो गठबन्धन जनकपुरधामको हकमा अपवित्र रहेको आरोप लगाए । उनले केन्द्रीय गठबन्धनको निर्णय मान्नुपर्ने अवस्था कम्तिमा उम्मेदवारहरूको हकमा आवश्यक रहे पनि पार्टीहरूभित्रको आन्तरिक कलह र असन्तुष्टिका कारण यस्तो भएको हुनसक्ने दाबी गरे । 



आजको पत्रकार सम्मेलनमा जसपाबाहेक गठबन्धनभित्रका अन्य दलका उम्मेदवार किन उपस्थित भएनन् भन्ने प्रश्नमा कांग्रेसबाट उपमेयरका उम्मेदवार किशोरी साहले यो गठबन्धनको शुरुवात रहेको र अहिले यहाँ जिल्ला, क्षेत्र, नगर तथा वडामा गठबन्धनको बैठक नै बस्न नसकेकोले यस्तो भएको बताए ।



  • प्रकाशित मिति : वैशाख १४, २०७९ बुधबार १७:९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया