logo-img

रतुवामाईमा निर्वाचन आचारसंहिताविपरीत कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै सडक ग्राभेल

मोरङको रतुवामाई नगरपालिकामा निर्वाचन आचारसंहिताविपरीत बजेटको दुरुपयोग गरेको पाइएको छ । सो नगरपालिका–५ मा बजेट दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्ने गरी सडक निर्माणको काम भइरहेकाे हो ।

बर्सेनि डुबान हुने लेटीस्थित बक्राहा नदी छेउको वस्तीमा नगरपालिकाको स्रोतसाधन दुरुपयोग गरी निर्वाचनको मुखैमा सडकमा धमाधम गिट्टी झार्ने काम भइरहेको स्थानीयले बताएका छन् । 

पाँच वर्षसम्म सो वस्तीमा कुनै योजना नल्याएको तर चुनावको समयमा बाढीले बर्सेनि क्षती पुर्‍याउने ठाउँमा मेयर रविन राईकै निर्देशनमा उपभोक्ता समिति गठन गरेर धमाधम गिट्टी झार्न थालिएको स्थानीयको आरोप छ ।  

उक्त वस्ती बक्राहा नदीमा आउने बाढीका कारण बर्सेनि डुबानमा पर्दै आएको छ । बाढीले ठूलो धनजनको क्षति हुँदै आएकाले सो ठाउँमा सडकभन्दा नदी नियन्त्रणका लागि तटबन्ध जरुरी रहेको स्थानीय फूलवत्ति मण्डलले बताइन् । ‘अहिले भोट माग्नकोको लागि आजैदेखि गिटी झार्दैछन् । बाढीले जहिले पनि यहाँ डुबान हुने भएकाले हामीलाई बाटोभन्दा पहिले तटबन्धनको जरुरी छ,’ उनले भनिन्, ‘जब हामीनै बाँच्दैनौ भने यो बाटोको के काम?’ 
 
स्थानीय कविता सरदारले कांग्रेसको पक्षमा मत माग्दै कच्ची सडकमा गिट्टी झारेको बताइन् । ‘पाँच वर्षसम्म न बाँधको न बाटोको केहीको चासो थिएन,’ उनले भनिन्, ‘अहिले भोटकै लागि यसो गरिरहेका छन् ।’  निर्वाचन आचारसंहिता विपरित नगरपालिकाको स्रोतसाधन कांग्रेस उम्मेदवारको पक्षमा हुनेगरी दुरुपयोग हुन थालेपछि विवाद सुरु भएको छ । 

यता रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनानाथ लम्सालले उम्मेदवारको पक्षमा हुनेगरी काम भएको गुनासो आएपछि निर्वाचन अवधिभर सो सडकको काम रोक्न लगाएको बताए । 

स्थानीयतहका जनप्रतिनिधिलाई निर्वाचन आचारसंहिताले कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न रोक लगाएको छ । आचारसंहितामा स्थानीयतहका जनप्रतिनिधि पनि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचारप्रसारमा संलग्न वा प्रचार गर्न नहुने उल्लेख छ । 



त्यस्तै राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठि, सम्मेलन अन्तरकृयाजस्ता कार्यक्रममा भाग लिन नहुनेसमेत उल्लेख छ । तर, रतुवामाई नगरपालिकाका मेयर राईले आचारसंहिता विपरित काम गरिरहेका हुन् । 

उनी अघिल्लो निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए ।  



  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार १२:१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया