logo-img

विराटनगरमा कोइरालालाई गठबन्धन र आफ्नैबाट धोकाको डर, विरासत फर्काउन थापालाई चुनौती, कसको पल्ला भारी ?

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि अन्यत्रजस्तै विराटनगर महानगरमा चुनावी माहोल तातेको छ । उम्मेदवारहरु अहिले विराटनगर महानगरका घरदैलोमा पुगेका छन्, आआफ्ना अजेन्डा र प्रतिबद्धता राखिरहेका छन् ।

विराटनगरको मेयरका लागि १३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, उपमेयरका लागि १४ जनाको उम्मेदवारी परेको छ । १३ जना मेयरका उम्मेदवारमध्ये त्यहाँ चासोका साथ हेरिएका छन्, दुई प्रमुख दलका उम्मेदवार र एक स्वतन्त्र उम्मेदवार । नेकपा एमालेका महानगर कमिटी अध्यक्ष सागर थापा र नेपाली कांग्रेस मोरङमा उपसभापति नागेश कोइरालाबीच त्यहाँ रोचक प्रतिस्पर्धा हुने अनुमान छ । कोइराला सत्तारुढ गठबन्धनका मेयर उम्मेदवार हुन् । गठबन्धनकै दल जनता समाजवादी पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका छन्, उमेश यादवले ।

नेकपा एमालेले शिल्पा कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ, गठबन्धनले जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उपमेयर उम्मेदवार बनाएको छ ।

सत्तारुढ गठबन्धनले उपेन्द्र यादवका छोरालाई उपमेयरको टिकट दिएपछि उपमेयरमा नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । मेयरमा यादव र उपमेयरमा न्यौपानेको उम्मेदवारी गठबन्धनका लागि चुनौती बनेको छ ।

यसअघि २०७४ सालमा विराटनगरको मेयरमा निर्वाचित भएका भीम पराजुलीले कांग्रेसबाट फेरि उम्मेदवार बन्न चाहन्थे । उनलाई कृष्णप्रसाद सिटौला र कांग्रेस सभापति शेरबहादुर देउवाको पनि साथ थियो । तर, कोइरालालाई मेयरको उम्मेदवार बनाउने आफ्नो चाहनाबाट पछाडि हटेनन्, कांग्रेस नेता शेखर कोइराला । गठबन्धन र नेपाली कांग्रेसको बैठकमा उनको अडानले त काम गर्यो, विराटनगरमा भने यसले कांग्रेसभित्र नै असन्तुष्टि फैलिएको छ । कतिसम्म भने नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले आफूमाथि अन्याय भएका सार्वजनिक रुपमा समेत भन्न थालेका छन् ।

एकातिर टिकट दिइएको विषयमा असन्तुष्टि जनाएका पराजुली व्यक्तिगत रुपमा नेकपा एमाले सागर थापासँग निकै नजिक मानिन्छन् । यसले गर्दा विराटनगरका कांग्रेसीहरुबीच प्रश्न उठेको छ– कतै नागेशमाथि पार्टीभित्रैबाट पनि अन्तर्घात त हुने होइन ? पराजुलीको यो विषय मात्र होइन, गठबन्धनमा रेहर उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई उपमेयरको टिकट दिएकोमा विराटनगरमा कांग्रेसका महिला नेताहरु रुष्ट बनेका छन् । मेयर र उपमेयरमध्ये एक पदमा महिलालाई उठाउनु पर्ने संवैधानिक प्रावधानको समेत बेवास्ता गरिएको भन्दै उनीहरुले असन्तुष्टि बढाएका छन् । यो असन्तुष्टिकै कारण हुनुपर्छ, त्यहाँ विराटनगरमा राम्रो प्रभाव राख्ने बसुन्धरादेवी झाले पनि स्वतन्त्र रुपमा उपमेयरमा उम्मेदवारी दिएकी छिन् ।



यहीबीच कांग्रेससँग त्यहाँ नेकपा एकीकृत समाजवादीका नेताहरु पनि रुष्ट छन् । कांग्रेसले आफूहरुको अवमूल्यन गरेको भन्ने आरोप उनीहरुले लगाउन थालेका छन् । त्यसैले विराटनगर महानगरमा यसपटक यी सबै गुनासाहरु समाधान गर्दै नागेशले आफ्ना पक्षमा मत बटुल्न चुनौतीका रुपमा देखिएको छ । 

नेकपा एमालेका उम्मेदवार सागर थापालाई पनि विराटनगरको मेयरको मैदान सहज भने देखिँदैन । नेकपा एमालेका नेताहरु आफूहरु एक ढिक्का भएको त बताइरहेका छन्, तर केही समयअघि मात्र भएको पार्टी विभाजनको असर त्यहाँ नेकपा उम्मेदवार सागर थापालाई पर्ने निश्चित छ ।



गठबन्धन र कांग्रेसभित्रको किचलोलाई चिर्नु पर्ने नागेश कोइराला र पार्टीको फुटलाई सम्बोधन गर्नु पर्ने सागर थापाको भीडन्त त्यसैले पनि यसपटक विराटनगरमा रोचक देखिने निश्चित छ ।

यो भीडन्तका लागि पहिले दुई प्रतिस्पर्धी सागर थापा र नागेश कोइरालालाई चिनौँ ।

एमाले उम्मेदवार सागर थापा विराटनगरमा लोकप्रिय नेताको छवि बनाएका व्यक्ति हुन् । उनको सकारात्मक पक्ष भनेको विराटनगरवासीबीच उनको घुलमिल भएको हुनु हो । करिब १२ वर्ष विराटनगरमा पार्टीको नेतृत्व गरेका थापा नियमित टोलवस्तीहरुमा पुग्दै आएका छन् । यसपटक मेयरको उम्मेदवारका लागि नेकपा एमालेका लालबाबु पण्डित, जीवन घिमिरेलगायतले पनि चासो देखाएका थिए । तर, विराटनगरमा नै भने उनले आफ्नो भूमिकाको महत्त्व प्रष्ट्याइसकेका थिए । खासै विवादमा नमुछिएका थापा २०३३ सालमा जन्मिएका हुन् । 

जामुनगाछीमा स्थायी घर भएका थापाले २०४६ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका थिए । उनी विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको दुई पटक स्ववियु सभापति भए । २०५७ सालमा पहिलो पटक स्ववियु सभापति भएका थापा २०६२ सम्म सभापतिमा रहेका थिए । त्यसपछि उनी नेकपा एमालेको महानगर कमिटी इन्चार्ज भए र १२ वर्ष यता विराटनगर महानगरका लागि पार्टीलाई नेतृत्व गर्दै आएका छन् ।

थापा त्यहाँ स्थानीयसँग घुलमिल भए पनि नेकपा एमालेलाई विराटनगरमा मेयर जित्नका लागि चुनौतिपूर्ण रहेको छ । यसको दृष्टान्तका रुपमा २०७४ सालको स्थानीय तह निर्वाचनमा विनोद ढकालको पराजयलाई लिन सकिन्छ । थापाभन्दा धेरै गुणा चर्चामा रहेका ढकाल कांग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए ।

गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार नागेश कोइराला चाहिँ अहिले मोरङ कांग्रेसका उपसभापति हुन् । कोइराला परिवारको राजनीतिक लिगेसीलाई बोकेर अगाडि बढेका कोइराला यसअघि नेपाल तरुण दल मोरङको कोषध्यक्ष भएका थिए ।

त्यसपछि उनी मोरङ कांग्रेसको सचिव भए । १४ औं महाविधेशनबाट कोइराला उपसभापतिमा निर्वाचित भएका हुन् ।

 

२०७४ को स्थानीय निर्वाचनलाई हेर्दा

२०७४ सालको निर्वाचनमा नेकपा एमाले र तत्कालीन विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) ले चुनावी तालमेल गरेका थिए । हाल गच्छदारको पार्टी कांग्रेसमा समाहित भइसकेको छ । 

त्यस्तै उक्त निर्वाचनमा माओवादी केन्द्र र तत्कालिन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले गठबन्धन गरेका थिए । सो निर्वाचनमा कांग्रेस एक्लै लडेको थियो । २०७४ को निर्वाचनमा विराटनगरमा एक्लै लडेको कांग्रेसले मेयर र उपमेयरसहित अधिकांश वडा जितेको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए ।

सो निर्वाचनमा माओवादी केन्द्र र तत्कालिन संघीय समाजवादी फोरमले चुनावी तालमेल गरेका थिए । मेयरमा माओवादी–संघीय समाजवादी फोरमका साझा उम्मेदवार संघीय समाजवादी फोरमका उमेश यादव १४ हजार ९ सय ५८ मतसहित तेस्रो भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रल्हाद साहले ५ हजार ५ सय २४ मत ल्याएका थिए ।

उपमेयरमा पनि नेपाली कांग्रेसकै इन्दीरा कार्की २० हजार १ सय ४६ मत ल्याएर निर्वाचित भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्दी माओवादी केन्द्र र संघीय समाजवादी फोरमकी साझा उम्मेदवार माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत पाएकी थिइन् । एमालेसँग तालमेल गरेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) की सूची चौधरीले १०५३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा श्रेष्ठले ४१०२ मत प्राप्त गरेका थिए । 

१९ वडा रहेको विराटनगरमा नेपाली कांग्रेसले वडा नम्बर १, ३, ४, ७, ८, ९ र  १६ वडा जितेको थियो । त्यस्तै संघीय समाजवादी फोरमले वडा नम्बर १२, १३, १४, १५, १७ र १८ नम्बर बाजी मारेको  थियो । 

उक्त निर्वाचनमा संघीय समाजवादी पार्टीबाट १५ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित भएका असलम आलम हाल नेपाली कांग्रेस प्रवेश गरेर कांग्रेसबाटै सोही पदमा उम्मेदवार बनेका छन् । एमालेले २, ५ र ११ नम्बर वडा जित्दा माओवादी केन्द्रले एउटा ६ नम्बर वडा मात्र जितेर अस्तित्व बचाएको थियो । वडा नम्बर १० र १९ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । 

२०७४ को निर्वाचनमा विराटनगर महानगरको मतदाता संख्या एक लाख १३ हजार ७ सय ६१ थियो । यसपटकको निर्वाचनमा विराटनगरमा १९ हजार ३८१ मतदाता थपिएर एक लाख ३३ हजार १ सय ४२ मतदाता पुगेका छन् ।

गच्छदारको पार्टी समाहित भएको, अन्य पार्टी विभाजित र टुटफुटका कारण पनि कांग्रेस विराटनगरमा थप बलियो बनेको देखिन्छ । 

एमालेले माओवादी केन्द्रसहित अन्य पार्टीका धेरै नेता कार्यकर्ता भित्र्याएर विभाजनबाट भएको क्षतिभन्दा बढी पूर्ति गरेको दाबी गरेको छ । 

२०७४ को निर्वाचन परिणाम अनुसार हेर्दा एमाले भन्दा गठबन्धन तुलनात्मकरुपमा बलियो देखिएको छ । तर, यो निर्वाचनमा नयाँ मतदाताले कसलाई बढी रोज्लान्, त्यसले निर्वाचन परिणाममा प्रभाव पार्ने निश्चित छ ।

 

यस्तो छ विराटनगरको निर्वाचन इतिहास 

विराटनगरमा हालसम्म २ पटक कम्युनिस्ट र २ पटक कांग्रेसले मेयर जितेका छन् ।

२०४३ सालमा वामपन्थी उम्मेदवारले मेयरमा जित हासिल गरेका थिए । 

२०४८ सालमा भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार अशोक कोइरालाले बाजी मारेका थिए । २०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल मेयरमा निर्वाचित भए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा २०६२ सालमा भएको स्थानीय निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रल्हाद साह मेयर निर्वाचित भएका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसका भीम पराजुलीले जित हासिल गरेका थिए ।

  • प्रकाशित मिति : वैशाख १९, २०७९ साेमबार १५:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया