पुलिसमाथि एपिएफ र च्यासलमाथि सरस्वतीको जित

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दुई विभागीय टोलीबीचको खेलमा एपिएफले बाजी मारेको छ । 

हल्चोकस्थित घरेलु मैदानमा १२औँ चरणको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ४–१ गोलले पराजित गर्दै ३ अंक जोड्यो । एपिएफको जितमा युवराज खड्काले दुई तथा राजेन्द्र रावल र हरि कार्कीले १/१ गोल गरे । खेलको २१औँ मिनेटमा एपिएफले राजेन्द्रको गोलबाट अग्रता लिएको थियो । खेलको २८औँ मिनेटमा एपिएफले अग्रतालाई दोब्बर बनायो । 

हरिले डिबक्सभित्रबाट हानेको बल सिधै गोल हुन पुगेको थियो । ४३औँ मिनेटमा हेडमार्फत युवराजले गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा तेज तामाङको उत्कृष्ट पासमा अजित भण्डारीले पुसिलसका लागि गोल गर्दै गोलअन्तर घटाएका थिए । 

दोस्रो हाफको ८५औँ मिनेटमा युवराजले गोल गर्दै एपिएफको जित सुनिश्चित गर्यो । एपिएफले पुलिसलाई अंक तालिकामा पनि उछिनेको छ । १२ खेलबाट ६ जित र दुई बराबरीसँगै २० अंक जोड्दै एपिएफ तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पुलिस समान खेलबाट १८ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा झरेको छ । 

यसैगरी, लिगअन्तर्गत आजै एन्फा मैदानमा भएको खेलमा सरस्वती युथ क्लबले च्यासल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ । खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा च्यासलले हार व्यहोर्नुपर्यो । सरस्वतीलाई जित दिलाउन मनिस थापा र फ्रान्सिसले १/१ गोल गरे । च्यासलका सजिन थापामगरले एक गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । 

खेलको १४औँ मिनेटमा सरस्वतीका किपर प्रदीप भण्डारीले क्लियर गरेको बल सजिनलाई लागेर गोल हुँदा च्यासलले सुरुआती अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा सरस्वतीले दुई गोल गर्न सफल भयो । 



खेलको ८६औँ मिनेटमा मनिसले गोल गरे । त्यसपछि खेलको इन्जुरी समयमा फ्रान्सिसले गोल गर्दै सरस्वतीलाई २–१ को महत्वपूर्ण जित दिलाए । हारसँगै च्यासलले १२ खेलबाट १५ अंक जोड्दै आठौँ स्थानमा छ भने १३ अंक जोडेको सरस्वती लिगको नवौँ स्थानमा छ । 



  • प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार १९:१७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया